इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले मंगलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना २०२४-२९ को शुरूआत गरेका छन् । जसको उद्देश्य ६ प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि हासिल गर्नु र वार्षिक निर्यातलाई ६० अर्ब अमेरिकी डलर पुर्याउनु रहेको जनाइएको छ ।
पाँच-वर्षीय यो योजनालाई "उडान पाकिस्तान" नाम दिइएको छ । पाकिस्तानका जटिल आर्थिक समस्याहरू समाधान गर्न लक्षित संरचनात्मक रूपरेखामा आधारित यो योजनामा निर्यात, समानता र सशक्तिकरण, वातावरण, खाद्य र पानी सुरक्षा, ऊर्जा, र पूर्वाधार समावेश गरिएका छन्।
योजना सार्वजनिक समारोहमा बोल्दै प्रधानमन्त्रीले देशका आर्थिक समस्याहरू समाधान गर्ने योजना अन्तर्गत सामूहिक दृष्टिकोणको आवश्यकता रहेकोमा जोड दिएका थिए । शरीफले आफ्नो सरकार उद्योग, वाणिज्य, सूचना प्रविधि, व्यापार र लगानीमा ध्यान केन्द्रित गर्ने र "मेड इन पाकिस्तान" उत्पादनहरूको लागि विश्वभर नयाँ बजार खोज्ने बताए। निर्यात-केन्द्रित वृद्धि पाकिस्तानको आर्थिक पुनरुत्थानको आधार हुने उनले उल्लेख गरे।
प्रधानमन्त्रीले आर्थिक वृद्धिका लागि प्रमुख रणनीतिहरू प्रस्तुत गरेका छन् जसमा उत्पादन लागत घटाउने, लगानीलाई प्रोत्साहन गर्ने र आयात प्रतिबन्ध हटाएर प्रतिस्पर्धा र दक्षता बढाउने उल्लेख छन् ।
शरीफले आफ्नो सरकार उच्च-गुणस्तरको विकास र सुरक्षा एकसाथ बनाउन प्रतिबद्ध रहेको दोहोर्याउँदै प्रमुख पहलकदमीहरू साथै साना स्तरका कल्याणकारी परियोजनाहरू, जस्तै चीन-पाकिस्तान आर्थिक करिडोर अगाडि बढाउने बताएका थिए । सिन्हुआ