भित्र दलको बैठक चलिरहेको छ । अर्को कोठामा कार्यकर्ता बन्न चाहनेहरूका लागि धमाधम अन्तरवार्ता पनि चलिरहेको छ ।
‘तिम्लाई हाम्रो पार्टीको कार्यकर्ता बन्ने रहर किन जाग्योे ?’ अध्यक्षज्यूले सदस्यता लिन आएका एक युवकलाई सोधे ।
‘यो महान् पार्टीको बारेमा धेरै सुनेको थिएँ, त्यसैले सोचेँ सर...।’
‘सर होइन, अध्यक्ष महोदय भन्नुस्,’ अध्यक्षज्यूले सच्याए ।
‘हजुर अध्यक्ष महोदय... धेरै नै सोचेर यो निर्णय गरेँ कि देशमा तपाईंको पार्टी सबैभन्दा राम्रो छ । तपाईंको पार्टीमा देशप्रेम खाँदी खाँदीकन भरिएको छ । अनि अनुशासन पनि गजबकै छ । तपाईं जुनसुकै व्यक्तिलाई जस्तोसुकै जिम्मेवारी दिनोस्, उसले त्यहीँ राम्रो काम गर्न थाल्छ, चाहे उसमा त्यो पदका लागि योग्यता होस् वा नहोस् । ट्याप्प मान्छे टिप्ने र कुर्सीमा फ्याट्ट फिट गर्नेे यस्तो वैज्ञानिक विधि मैले अन्त देखिनँ । अरू पार्टीमा यो चमत्कार देखिँदैन, त्यसैले मैले सोचेँ कि म पनि कतै...।’
‘तिमी धेरै सोच्छौ कि क्या हो ?’
‘हो, खुब सोच्ने गर्छु हजुर ।’
‘दिमागले सोच्छौ कि किड्नीले ? आफै सोच्ने गर्छौ कि कसैले सोचेर बौद्धिक सल्लाह दिन्छ ?’ अध्यक्षले चश्मा नाकमा मिलाउँदै सोधे ।
‘हजुर अध्यक्ष महोदय, म आफै सोच्छु, मतलब विचार गर्छु । मलाई विचार गर्न खुब मन पर्छ । विचार गर्दा विभिन्न कुरा दिमागमा आउँछन् । धेरै विचार त राष्ट्रियस्तरका पनि हुन्छन्, त्यसैले राजनीतिमा आउन चाहन्छु ।’
‘राष्ट्रिय सोच आउँछ ? यो कहिलेकाहीँ मात्र आउँछ कि धाराप्रवाह आइनै रहन्छ ।’
‘यस्तै हो...माछाले कहिले पानी पिउँछ भनेर थाहा नहुने जस्तै विद्वान्हरूले पनि कहिले सोचिरहेका हुन्छन् भन्ने पनि थाहा हुँदैन । त्यसरी नै मेरो पनि सोच निरन्तर चलिरहन्छ । अझ जतिबेला तपाईं नेताहरूको भाषण सुन्छु, विचारको लहर चलिहाल्छ, भावनाको तरंगमा डुबिहाल्छु ।’
‘सोच्ने कारखाना नै खोलेजस्तो छ त । हाम्रो पार्टीबारे चैं कहिलेदेखि सोच्दैछौ त ?’
‘अहिले दुई–तीन महीनादेखि सोच्दै छु । विपक्षमा हुँदा सोच्छु, सरकारमा जाँदा झन् बढी सोच्छु कि तपाईंको पार्टी... ।’
‘एकपटक सोच्न थालेपछि कति समयसम्म सोच्दै बसिरहन्छौ ?’
‘यो सोच त जहाज छुटेपछि ननस्टप उडिरहेको जस्तै नै हो, सुपरफास्ट सोच चलिरहन्छ ।’
‘ननस्टप ! सुपरफास्ट ! ...ल सोचेर बताऊ त । कसरी सोच्छौ ?’
‘अध्यक्ष महोदय, के हो भने... अहिले म अलि अलमलमा छु...। हिजो सरकारमा हुँदाको कुरा साँचो हो कि अहिले सरकारबाट बाहिरिएपछिको कुरा साँचो हो । हिजो आन्दोलनका बेलाको जोश साँचो हो कि अहिले सत्ता जोगाउन गरेको होश साँचो हो । विकास, विकास भनिरहने खेल साँचो हो कि विपक्षीलाई कुर्सीबाट लडाउन गरेको झेल साँचो हो । अलि कन्फ्युज्ड छु । अहिलेलाई भने जे तपाईंलाई लाग्छ, त्यसैलाई सही मान्नुस् ।’
‘ल ठीकै छ । अनि तिमी नेपालीमा सोच्छौ कि अंग्रेजीमा ?’
‘सोच्ने काम त अंग्रेजीमै गर्छु, तर बोल्न आउँदैन । त्यसैले फाइनल ड्राफ्ट राष्ट्रभाषामै निकाल्छु ।’
‘सोच्नेबाहेक अरू के के काम गर्छौ ? जागीर–सागीर वा व्यवसाय केही छ कि ?’
‘अहिले देशमा जागीर–सागीर त कहाँ पाइन्छ र हजुर, त्यसैले यसो एउटा सानो चिया पसल चलाउँछु अनि बिहान बेलुका यसो मान्छे विदेश पठाउने वा घरजग्गा किन्ने–बेच्ने पेशामा पनि ओभर टाइमपास गर्छु ।’
‘ठीकै छ त । हाम्रो कार्यकर्ता बन्न त योग्यता पर्याप्त पुग्छ । अरू केही समस्या छ कि ?’
‘त्यस्तो खासै समस्या त छैन... सोच्दै थिएँ कि चिया बेच्दै छु भने पार्टीको विचार बेच्न किन शुरू नगरूँ भनेर । त्यसैले तपाईंको पार्टी ज्वाइन गर्ने सोच पलायो । तपाईंको पार्टी व्यवसाय, पेशा र परम्पराको सम्मान गर्ने पार्टी हो क्यारे ।’
‘फेरि सोच्न थाल्यौ । हर पल सोचि नै रहन्छौ कि क्या हो ?’
‘हो... चिया बनाउँदा त दिमाग लगाउनै पर्दैन । चिया उम्लँदै गर्दा विचार पनि उम्लिहाल्छन् ।’
‘पार्टीको कार्यकर्ता भयौ भने चिया बेच्न छाड्छौ त ? चिया उम्लेजस्तो विरोधीका अगाडि उम्लन सक्छौ ?’
‘हजुर, मैले निर्णय गरिसकेको छु । अरू केही बेच्न पाइएन भने मात्र चिया बेच्छु ।’
‘पछि सोच्छौ कि अहिले नै निर्णय गरिहाल्छौ ?’
‘हजुर, सोच्दैछु... एकपटक पार्टीमा सेवा गर्ने मौका दिनुहोस् ।’
‘हेर भाइ, जीम सिम जाऊ, शरीरलाई बलियो बनाऊ । तर सोच्ने धन्दामा चैं नलाग है त ।’
‘हजुर, मेरो दिमाग तेज चल्छ । पार्टीको काममा काम लाग्न सक्छ नि ।’
‘त्योे तिम्रो सोच होला । तर हाम्रो पार्टीलाई दिमाग त चाहिएकै छैन नि । पार्टीलाई खोपडी चाहिन्छ, ठोस खालको, अनि माथि सिङ उम्रेका । पार्टीमा हामी नेताले त सोच्दैनौं, भिड हेरेर र अवस्था गमेर बोल्छौं, काम गर्छौं । हामीलाई त सोच्ने मानिस होइन, विपक्षीलाई घोच्ने मानिस चाहिएको छ । हामीलाई त अनुमानमा चल्ने हनुमान चाहिएको छ, तिम्रोजस्तो सोच्ने मान्छेको काम छैन ।’
‘अनि यो दिमाग चैं के गरूँ, कहाँ प्रयोग गरूँ त हजुर ?’
‘तिमी मन्दिरतिर जाँदा जुत्ता बाहिरै खोल्छौ, होइन ?’
‘हो, मन्दिर त नांगो खुट्टै जान्छु... हिजोआज जुत्ता धेरै नै चोरी हुन्छन् नि होइन र ?’
‘पार्टीमा आउन चाहने हो भने दिमाग घरमै राखेर आऊ । मन्दिरमा जुत्ता वर्जित भएजस्तै पार्टीमा दिमाग वर्जित छ । यहाँ त खाली याने नांगो–दिमाग लिएर आउने हो । यो कुरा समयमै बुझ बाबु । हाम्रो पार्टीलाई तिम्रो शरीर चाहिन्छ, दिमाग होइन ।’
‘के तपाईंहरू मान्छेको शरीर मात्र भर्ती गर्नुहुन्छ ?’
‘हो... त्यो पनि त्यत्ति समयसम्मका लागि, जबसम्म रोबोटहरू पर्याप्त मात्रामा बन्दैनन् । दिमाग प्रतिबन्धित छ, त्यसैले हाम्रो पार्टी बलियो छ । पार्टीमा दिमागको के काम ?’
‘हजुर, मैले हजुरको कुरा अलि बुझिनँ... भोलि फेरि सोचेर आउँछु है ।’
‘फेरि सोच्ने रे ? ल यहाँबाट गइहाल । अब तिम्रो केही हुनेवाला छैन ।’