आठ दशकअघि गुल्मीबाट नेपाल प्रवेश पाएको कफीको व्यावसायिक यात्रा शुरू भएको करीब तीन दशक मात्रै भएको छ । नेपालमा कफीको इतिहास त्यतिधेरै लामो छैन । तर, पछिल्ला केही वर्षयता नेपालमा कफी पिउने चलन संस्कृतिकै रूपमा उदाउँदो छ । आमजनमानसको कफीप्रतिको बुझाइको दायरा फराकिलोे हुँदै जाँदा पछिल्लो समय देशका प्रमुख शहरहरूमा प्रशस्त मात्रामा कफी सपहरू खुलेका छन् । भर्खर भर्खर विकास हुँदै गरेका शहरहरूमा पनि कफी सप खुल्ने क्रम जारी छ । कफी बनाउन सिकाउने वरिस्ता तालिम केन्द्रहरू समेत फस्टाउँदै गएका छन् । हाल देशका विभिन्न स्थानमा ७ ओटा वरिस्ता स्कुल सञ्चालनमा छन् । जहाँ सयौं विद्यार्थीहरूले कफी बनाउने तालिम लिने गरेका छन् ।
वरिस्ता तालिम लिनका लागि युवा पुस्ताको आकर्षण पनि लोभलाग्दो किसिमको नै भएको व्यवसायीहरू बताउँछन् । कफी पिउने संस्कृति बढ्दै जाँदा यसका विभिन्न आयामहरूमा आकर्षण बढेको बताइएको छ । जसले नेपालमा कफी पिउने संस्कार र संस्कृति वृद्धि गर्नमा इँटा थप्ने काम गरिरहेको बताउँछन् कफी कोअपरेटिभ युनियन लिमिटेडका सञ्चालक टेकराज गिरी ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार हाल काठमाडौं उपत्यकामा मात्रै करीब ५ हजारभन्दा बढी कफी सप खुलिसकेका छन् । जसमा क्यापाचिनो, अमेरिकानो, डबल ग्राण्ड मक, क्याफे मोक्का लगायत करीब ७० भन्दा धेरै कफीका प्रकार पाइन्छन् । सबै उमेर समूहका उपभोक्तामा कफीप्रतिको मोह बढ्दै गएको गिरी बताउँछन् ।
कफीप्रति मानिसको मोह बढ्दै गएकाले यसलाई अझ व्यापक रूपमा विस्तार गर्न सकेमा अर्थतन्त्रकै एउटा बलियो हिस्सा बन्न सक्ने सम्भावना रहेको गिरीको बुझाइ छ ।
बोर्डको तथ्यांकअनुसार अहिले नेपालको मध्यपहाडी भागको गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बाग्लुङलगायतका ४० जिल्लाहरूमा कफीखेतीले व्यापकता लिँदै गएको छ । यी मध्ये कतिपय जिल्लाका किसानहरू कोदो, मकै, फापरबाट भन्दा कफी खेतीबाट हुन थालेको आम्दानीले बढी उत्साहित छन् । देशको समग्र अर्थतन्त्रमा कफी संस्कृतिलाई एउटा बलियो खम्बाको रूपमा उभ्याउन यसलाई अझ बढी व्यावसायिक बनाउनुपर्ने खाँचो छ ।
भन्सार विभागको तथ्यांक हेर्ने हो भने नेपालबाट बाह्य मुलुकमा निर्यात हुने मुख्य वस्तुहरूको सूचीमा कफी पनि पर्दछ । आर्थिक वर्ष २०७९/८० मा १३ करोड ४ लाख रुपैयाँको करीब ७८ मेट्रिक टन कफी निर्यात भएको थियो । सोही वर्ष नेपालमा ३२ करोड ५८ लाख ६६ हजार रुपैयाँको ४५० मेट्रिक टन कफी आयात भएको छ ।
त्यसैगरी आव २०८०/८१ मा १४ करोड ९१ लाख रुपैयाँको करीब ८९ मेट्रिक टन कफी निर्यात गरेको नेपालले सोही वर्ष ४१ करोड ९८ लाख ३५ हजार रुपैयाँको ४४३ मेट्रिक टन कफी आयात गरेको छ । उक्त तथ्यांक हेर्दा नेपालले निर्यात गर्नेभन्दा पनि आयात गर्ने कफीको परिमाण धेरै भएको देखिन्छ । यसर्थ हामीलाई पुग्नेगरी कफीको उत्पादन अझै भएको छैन भन्ने बुझिन्छ ।
त्यसकारण कफीलाई अर्थतन्त्रको हिस्सामा बलियो रूपमा उपस्थित गराउन यो उत्पादन पर्याप्त नभएकाले उत्पादनमा विशेष जोड दिनुपर्ने बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दीपक खनाल बताउँछन् । बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ३ हजार ६५८ हेक्टर जमिनमा ३९५ मेट्रिक टन कफी उत्पादन भएको थियो । त्यस वर्ष करीब २९ हजार ४ सय किसान यस पेशामा संलग्न भएका थिए ।
‘यूरोप र अमेरिकी बजारमा नेपाली कफीको विशेष माग छ । किनभने संसारकै उच्च कोटीको मानिने जमाइकाको कफीसँग नेपाली कफीलाई उनीहरूले तुलना गर्ने गरेका छन,’ गिरीले भने । बोर्डका अनुसार यूरोप र अमेरिकाबाट मात्रै बर्षेनि करीब ८ हजार मेट्रिक टनभन्दा बढी नेपाली कफीको माग हुने गरेपनि त्यो माग पूर्ति गर्न नेपाल चुकिरहेको छ ।
यदि नेपालले आफूलाई पुग्दो कफी उत्पादन गरी विदेशमा निर्यात गर्न सकेमा त्यसबाट कृषिमा बढ्दै गएको वैदेशिक व्यापार घाटा समेत कम गर्न टेवा पुग्न सक्ने व्यवसायीहरू बताउँछन् ।
भन्सार विभागका अनुसार गत आवमा नेपालको कृषितर्फको वैदेशिक व्यापार घाटा १ खर्ब ६३ अर्ब ५३ करोड रुपैयाँ छ । नेपालमा निकै सम्भावना भएको क्षेत्र कफीको उत्पादन र बजारीकरणमा जोड दिन सकेमा यसले कृषितर्फको व्यापार घाटासमेत घटाउन सहयोग गर्ने देखिन्छ ।
यद्यपि, नेपालको अर्थतन्त्रमा कफीले कति प्रतिशत हिस्सा ओगट्छ भन्ने कुरा हालसम्म अध्ययनकै विषय रहेको निमित्त कार्यकारी निर्देशक खनालको भनाइ छ । उनका अनुसार सम्भावना ठूलो भए पनि यसको विकास र विस्तारका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ । कफीको उत्पादन वृद्धि गर्दै निर्यात बढाउन प्रमुख चुनौती भनेकै कफीको क्षेत्रमा अनुसन्धानको कमी र गुणस्तरीय बीउको अभाव हो ।
अहिलेसम्म नेपालका लागि कस्तो बीउ सबैभन्दा बढी उपयुक्त हुन्छ भन्ने कुराको पर्याप्त अध्ययन हुन सकेको छैन । गुणस्तरीय बीउको अभावमा अधिकांश किसानले चाहे अनुरूप कफी उत्पादन गर्न नसकेको गुनासो किसानहरूको छ ।
अहिले सरकारकै सहयोगमा विभिन्न पालिकाहरूले किसानलाई कफीका बेर्ना वितरण गर्ने कार्यक्रम सञ्चालनमा आएको छ । तर, उक्त बेर्ना उच्च गुणस्तर र हावा, पानी र माटो सुहाउँदो नहुँदा किसानले सोचे अनुरूप कफी उत्पादन गर्न सकेका छैनन् ।
गिरीका अनुसार नेपालका सबै भूभागमा अरबिका जातको कफी खेती हुन्छ । समुद्री सतहबाट ८०० देखि १५०० मिटरसम्मको उचाइमा फल्ने भएकाले नेपाली कफी विदेशीहरूले धेरै रुचाउँछन् । सगरमाथाको देशको कफी भनेरै नेपाली कफीको विदेशमा प्रचार हुने गर्दछ । नेपाली कफी केही मात्रामा अर्गानिक प्रमाणित पनि भएको छ । नेपाली हावापानीकै कारण अर्गानिक हो भन्ने स्वीकारिन्छ । ग्रेडिङमा नेपाली कफीले ८० प्रतिशत मापदण्ड पूरा गरेका कारण कतिपय कफी उच्च गुणस्तरको मानिएको छ ।