काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) मा निर्माणाधीन केवलकार परियोजना हाललाई रोकिएको छ। 'नो केवलकार' अभियानका आन्दोलनकारीहरूको मागअनुसार सरकारी वार्ता टोलीले लचकता देखाउँदै निर्माण कार्य स्थगन गर्ने सहमति जनाएको हो। यस विषयमा विस्तृत छलफल गर्न आगामी माघ २७ गते वार्ता तय गरिएको छ।
सहमति भएसँगै आन्दोलनरत पक्षले अरुण सभाखोला पूर्वका जिल्लाहरूमा गरिरहेको बन्द कार्यक्रम फिर्ता लिएको छ। सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराई र 'नो केवलकार' पक्षका वार्ता सहजीकरण समितिकी सरस्वती सिंहले हस्ताक्षर गरेका छन्। सहमतिपत्रअनुसार केवलकार स्टेसनको माथिल्लो भागमा निर्माण कार्य रोक्ने र स्टेसन सम्बन्धी विस्तृत छलफल वार्तामा गर्ने उल्लेख छ।
यी हुन् सहमतिका बुँदा
- पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने
- आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारीरुपमा स्वास्थ्य उपचार गर्ने
- १२ माघमा फुङ्लिङ नगरपालिका ११ को बलुडाँडामा भएको गोली प्रहारका घटनाको छानबिन गर्ने
- आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विनासर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने
- आन्दोलनरत पक्षले पनि अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने
- मुक्कुम्लुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायत विषयका सम्बन्धमा विस्तृत छलफल २७ माघको ११ बजे बस्ने