काठमाडौं । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत दिएको सहुलियतका कारण चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा बैंकहरूको नाफामा सुधार देखिएको छ । आर्थिक गतिविधि सुस्त भए पनि राष्ट्र बैंकले दिएको नीतिगत सहुलियतका कारण कर्जा जोखिम व्यवस्था (प्रोभिजन) घट्दा खुद नाफा बढेको हो ।
वाणिज्य बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूले चालू आवको पहिलो त्रैमास (साउन–असोज) मा १६ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको यसै अवधिमा उनीहरूको खुद नाफा १३ अर्ब ४७ करोड रुपैयाँ थियो । पोहोरको तुलनामा यस वर्षको नाफा २० दशमलव १७ प्रतिशतले बढी हो ।
गत आव २०८०/८१ को पहिलो त्रैमासमा बैंकहरूको नाफा ५ दशमलव ९४ प्रतिशतले मात्र बढेको थियो । त्यसपछि क्रमश: बढेर चौथो त्रैमासमा खुद नाफा वृद्धिदर करीब २५ प्रतिशत पुग्यो ।
आवको पहिलो त्रैमासमा बैंकहरूको असुली कमजोर हुने भए पनि यस वर्ष प्रोभिजनमा दिएको सहुलियतको प्रभाव नाफामा देखिएको बैंकर पर्शुराम कुँवर क्षेत्री बताउँछन् । ‘पहिलो त्रैमासमै बैंकहरूको नाफा वृद्धि राम्रो देखिएको छ,’ उनले भने, ‘यसको मुख्य कारण भनेको प्रोभिजन घटाउनु नै हो ।’
कोभिड–१९ महामारी, रूस–युक्रेन तनावलगायतले विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकले विगत वर्षको कसिलो मौद्रिक कार्यदिशा लचिलो बनाएको थियो । यसमार्फत शेयरधितो कर्जाको सीमा वृद्धि, चालू पूँजी कर्जा मागदर्शन कार्यान्वयनको समय थप, कर्जा पुन: संरचना, कालोसूचीको प्रावधानमा लचिलो व्यवस्था र कर्जा जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने अनुपात घटाएको थियो । यी सबले गर्दा बैंकहरूको खुद नाफामा सकारात्मक प्रभाव देखिएको छ ।
मौद्रिक नीति घोषणापछि राष्ट्र बैंकले साउन दोस्रो साता निर्देशन जारी गर्दै कर्जा जोखिम व्यवस्था खुकुलो बनाएको थियो । बैंकहरूले असल कर्जामा १ दशमलव २० प्रतिशत जोखिम व्यवस्था गर्नुपर्ने व्यवस्था रहेकोमा घटाएर १ दशमलव १० प्रतिशत कायम गरिएको छ ।
यसैगरी भाका नाघेको कर्जा नियमित भएको ६ महीनापछि मात्र असल वर्गमा स्तरोन्नति गर्न पाउने व्यवस्थामा संशोधन गरी यस्तो कर्जालाई सूक्ष्म निगरानी वर्गमा राख्न पाउने सुविधा दिएको छ । बैंकहरूले सूक्ष्म निगरानी वर्गमा भएका कर्जाको हकमा ५ प्रतिशत मात्र जोखिम व्यवस्था गर्नुपर्छ ।
गत आवको असोजसम्ममा वाणिज्य बैंकहरूले कर्जा जोखिमबापत १७ अर्ब ५९ करोड रुपैयाँ छुट्ट्याएकोमा यस वर्ष असोजसम्ममा ११ अर्ब १६ करोड मात्र छुट्ट्याएका छन् । बैंकहरूले ५ अर्ब रुपैयाँभन्दा बढी रकम प्रोभिजनबाट फिर्ता ल्याएको देखिन्छ । सबैभन्दा बढी नबिल बैंकले २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेण्ट मेगा, प्राइम कमर्सियल, एनएमबि, एभरेष्ट, कुमारी र प्रभु गरी आठ ओटा बैंकहरूले अर्ब रुपैयाँभन्दा माथि नाफा कमाएका छन् ।
यस्तै राष्ट्र बैंकले निर्माण व्यवसायीको कर्जा तिर्ने अवधि र चालू पूँजी कर्जाको सीमा लागू हुने समय थप गर्नुका साथै शेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लाग्ने सीमा पनि हटाएको छ । यस अवधिमा बैंकहरूको खुद ब्याज आम्दानी करीब ७ प्रतिशतले घटेको देखिन्छ । चालू आवमा सबैभन्दा बढी नबिल बैंकले २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेण्ट मेगा, प्राइम कमर्सियल, एनएमबि, एभरेष्ट, कुमारी र प्रभु गरी आठओटा बैंकहरूले १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । पहिलो त्रैमासमा एन.आई.सी. एशियासहित सातओटा बैंकको नाफा घटेको छ । यसमध्ये सबैभन्दा बढी एन.आई.सी. एशिया बैंकको नाफा ८९ दशमलव ६ प्रतिशतले घटेको देखिएको छ ।