प्रभु इन्स्योरेन्सको खुद नाफा ११८ प्रतिशत बढ्यो

Share News

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ११८ दशमलव १३ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो आवमा कम्पनीले रू. २२ करोड ५० लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ४९ करोड ८ लाख पुगेको छ । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको कुल आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ५७ प्रतिशत बढेको छ । अघिल्लो आवमा कम्पनीको आम्दानी रू. ८९ करोड ८० लाख रहेकोमा गत आवमा बढेर रू. १ अर्ब ४१ करोडभन्दा बढी पुगेको छ । 

त्यस्तै अघिल्लो आवमा कम्पनीले रू. १ अर्ब ५६ करोड कुल बीमाशुल्क आर्जन गरेकोमा गत आवमा बढेर रू. १ अर्ब ७१ करोडभन्दा बढी पुगेको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा १५ रुपैयाँ ६१ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा बढेर ३४ रुपैयाँ ५ पैसा पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४४ करोड छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले स्पेशल रिजर्भमा रू. १ अर्ब २९ करोड, महाविपत्ति कोषमा रू. १० करोड ८४ लाख र रिटेन्ड अर्निङमा रू. २५ करोड ६५ लाख सञ्चिति गरेको छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।