केही डेढ अक्कलीहरू नेपालका राजनीतिक दलहरूलाई प्रधानमन्त्री निर्वाचन गर्ने सहमति गर भनी सुझाव दिन थालेका छन् । तर, निर्वाचन किन र कसका लागि चाहिन्छ ? बेकारमा यो बेमौसमको बाजा किन बजाउन थालेका हुन् ? बुझ्न कठिन छ । हिजो पञ्चायततन्त्रमा पो अलिअलि निर्वाचन हुन्थ्यो । बहुदलतन्त्रमा आएपछि त्यो चुनाव गर्ने वाहियात, खर्चिलो र पञ्चायतीतन्त्रको नीतिलाई नमान्ने प्रयास गरिएकै हो । त्यसैले शेरबहादुर देउवाले निर्वाचित संसद्लाई विघटन गरेर चुनावप्रति विश्वास भएजस्तो देखाउन राजालाई बुझाएका थिए ।
चुनाव गर्नु त पञ्चायत ब्युँताउनुजस्तै हो भन्ने कुरा किन नबुझेका हुन् यी (ब)हुलवादी दलहरूले ? समस्या प्रधानमन्त्री खोज्ने नै रहेछ, त्यो देशभित्र पाइएन भने विदेशतिर गए हुन्छ नि । नजिक जाने हो भने दक्षिणतिर हेरे भइगो । यी सबै कुरा थुप्रै जीउ, ज्यान आहुति दिएर आएको एमाओवादीले भने बुझेको छ ।
उसले नेपालजस्तो देशमा चुनाव–सुनाव चाहिँदैन भन्ने राम्ररी नै बुझेको देखिन्छ । त्यसैले उसले चुनाव गर्ने वा गराउने कुरा गर्नुको सट्टा प्रधानमन्त्रीको नाम तोकेरै दिन विपक्षी दलहरूलाई चुनौती नै दिएको छ । तर, जो कोहीको नाम प्रममा तोक्दैमा एमाओवादीले स्वीकार गर्नेवाला भने छैन । किनकि प्रम कुन आकारप्रकारको कुन जातको, कुन धर्मको, कुन योग्यताको भन्ने तोक्ने ठेक्का उसले मात्र पाएको छ । राष्ट्र र राष्ट्रपतिलाई नै चुनौती दिन सक्ने वर्तमान सरकार र एमाओवादीले कुनै दलले तोकेको एउटा
प्रमको उम्मेदवारलाई आफ्नो अदृश्य मालिकको मौन स्वीकृति नलिइकन किन मान्ने ? (तीतोमीठोबाट) वर्ष ८, अंक ८८, शुक्रवार २९ मङ्सिर, २०६९