ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाकामा रहेको आफ्नो सरकारी निवास छोडेको भन्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार संप्रेषण गरेका छन् । मिडिया रिपोर्टका अनुसार प्रधानमन्त्री र उनकी बहिनी प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गएका छन् ।
उनले देशबासीका नाममा सम्बोधन गर्दै रेकर्ड गराउन चाचाहेकी थिइन् तर त्यसो गर्ने मौका समेत नपाएको खवरहरूमा उल्लेख छ । मिडियाहरूले आफ्नो बंगाल ब्यूरोलाई उल्लेख गर्दै हसिनाले राजिनामा दिइसकेको तथा हेलिकप्टर मार्फत भारत प्रस्थान गरिसकेको भन्ने अपुष्ट खबर समेत संप्रेषण गरेका छन् ।
यता, बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने जानकारी पाएको केही समयपछि नै प्रधानमन्त्रीले सुरक्षालाई मध्यनजर गर्दै सरकारी निवासबाट बाहिरिएकी हुन् । सेनाका प्रवक्ता रशेदुल आलमका अनुसार जनरल वाकरले दिउँसो ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यस घटनालाई कतिपय सञ्चार माध्यमले सेनाले शासन हात लिने तयारी गरिरहेको समेत भनेका छन् ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले शुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको छ । आन्दोलनमा प्रहरीको धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।
आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरिसकेको छ । गत महिना शुरू भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट समाचार संस्था एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको जनाइएको छ । आइतबार एकै दिनमा धेरै जनाको ज्यान जानेगरी झडपहरू भएपछि बङ्गलादेशको सुरक्षाकर्मीले सोमबार विहानैदेखि राजधानी ढाकामा गस्ती शुरू गरेको छ ।