काठमाडौं । प्रणय दिवस (भ्यालेन्टाइन डे) पर्ने फेब्रुअरी १४ (फागुन २) आउनुअघि १ साताभरि ४ दशमलव ६७ करोड रुपैयाँको गुलाफ फूलको कारोबार हुने पुष्प व्यवसायीहरूको प्रतिनिधि संस्था फ्लोरिकल्चर एशोसिएशन, नेपालले अनुमान गरेको छ ।
एशोसिएशनले प्रेम दिवसको सप्ताह अवधि (फेब्रुअरी ७ देखि १४ सम्म) मा नेपालमा उक्त रकम बराबरको ४ लाख २५ हजार स्टीम गुलाफको व्यावसायिक कारोबार हुने अनुमान गरेको हो ।
काठमाडौं उपत्यकाभित्र मात्रै करीब २ लाख ५५ हजार र बाँकी १ लाख ७० हजार स्टीम गुलाफ काठमाडौं उपत्यकाबाहिरका जिल्लामा खपत हुने अनुमान गरिएको एशोसिएशनले जानकारी दिएको छ । प्रेम दिवसको अवसरमा बजारमा माग हुने गुलाफको करीब २५ प्रतिशतमात्र आन्तरिक उत्पादनबाट परिपूर्ति हुने अनुमान गरिएको एशोसिएशनका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए ।
उनका अनुसार बजार मागको करीब ७५ प्रतिशत गुलाफ नपुग हुनेछ । आन्तरिक उत्पादनले मात्रै माग धान्न नसक्ने हुँदा माग पूरा गर्न ठूलो मात्रामा भारतबाट गुलाफ आयात गर्नुपर्ने बाध्यता रहेको उनले बताए । यद्यपि भन्सार विभागको तथ्यांकअनुसार भारतबाट ठूलो मात्रामा गुलाफ आयात भएको देखिँदैन । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पुससम्म २० लाख ७३ हजार रुपैयाँको मात्रै गुलाफ आयात भएको देखिन्छ ।
- फेब्रुअरी ७ देखि १४ सम्म ४ लाख २५ हजार स्टीम गुलाफको व्यावसायिक कारोबार हुने
- करीब २५ प्रतिशत आन्तरिक उत्पादनले धान्ने, बाँकी ७५ प्रतिशत भारतबाट आयात गर्नुपर्ने
- प्रतिस्टीम गुलाफको मूल्य ९० देखि १२० रुपैयाँ हुने अनुमान
अघिल्लो आव २०८०/८१ मा त झन् वर्षभरिमा १ लाख ६ हजार रुपैयाँको मात्रै गुलाफ आयात भएको विभागको तथ्यांकले देखाएको छ । यस हिसाबले नेपालमा अवैध र चोरी पैठारीको माध्यमबाट गुलाफ आयात हुने गरेको आशंका रहेको एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताए ।
‘हामीले सरकारलाई गुनासो गरेका कारण गतवर्षदेखि नाकाहरूमा केही कडाइ गर्दा चालू आवमा भन्सारको तथ्यांकमा केही बढी परिमाणमा भित्रिएको देखिएको हो । होइन भने अवैध बाटोबाट बढी आयात हुने गरेको छ,’ उनले भने, ‘अझै पनि अवैध आयात र तस्करी रोक्न सरकारले भूमिका निर्वाह गर्न सकेको छैन ।’
एशोसिएशनका अनुसार यस वर्ष फूलको गुणस्तर अनुसार प्रतिस्टीम उपभोक्ता मूल्य ९० देखि १२० रुपैयाँ हाराहारीमा हुनेछ । गतवर्ष प्रतिस्टीम गुलाफको मूल्य ८० देखि १२० रुपैयाँ थियो । नेपालमा चाडपर्वबाहेकको सामान्य दिनमा प्रतिदिन सरदर ८ देखि १० हजार स्टीम गुलाब फूलको माग हुने गरेको एशोसिएशनको भनाइ छ । केही वर्षअघि कोरोना महामारीका कारण पुष्प उत्पादनमा निकै ह्रास आए पनि हाल व्यवसायीले लगानी वृद्धि गरेको कारण आन्तरिक गुलाफ फूलको उत्पादन केही वृद्धि भएको एशोसिएशनको भनाइ छ ।
पुष्प व्यवसायीका अनुसार फेब्रुअरीमा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा जाडो याम नै रहने र गुलाफ फूलको उत्पादन चिसो मौसममा कम हुने भएका कारण आयात गर्नुपरेको हो ।
नेपालमा गुलाफ फूलको व्यावसायिक खेती हुने जिल्लाहरूमा मुख्य गरी काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका साथै चितवन, काभ्रेपलाञ्चोक र रूपन्देही छन् । अन्य जिल्लामा पनि गुलाफ फूलको व्यावसायिक खेती विस्तार हुने क्रममा रहेको छ । नेपालमा मौसमअनुकूल मात्रै गुलाफ उत्पादन हुन्छ । जाडो मौसमका कारण अहिले स्थानीय उत्पादन कम हुन्छ ।
नेपालले भारत, नेदरल्यान्ड, चीन, जापान जर्मनी, केन्या, थाइल्यान्ड, भियतनाम, अमेरिका, इजिप्ट, इथियोपिया, बेल्जियम, चिली, डेनमार्क, बेलायत, श्रीलंका, ताइवान, इन्डोनेशिया, मेक्सिको आदि देशबाट पुष्प तथा पुष्पजन्य वस्तु आयात गर्छ ।
हाल नेपालका करीब ५२ जिल्लाका करीब २६० हेक्टर जमीनमा पुष्प खेती भइरहेको छ । यसमा करीब ८ अर्ब ८३ करोड रुपैयाँ लगानी भएको एशोसिएशनको भनाइ छ । त्यसैगरी, पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी अनुमानित ५१ हजार ५०० बढी जनशक्तिले रोजगारी पाएको छ ।