काठमाडौं । लगातार ६ कारोबार दिन बढेको नेप्से परिसूचक बुधवार (आज) १ दशमलव ०६ प्रतिशत घटेको छ । यस दिन नेप्से २ हजार ५३६ दशमलव ११ विन्दुमा कायम भएको हो । ६ कारोबारमा दिनमा नेप्से परिसूचक १३ दशमलव ६२ प्रतिशत बढेको छ ।
बढेको बजारमा अल्पकालीन कारोबारीहरूले प्रोफिट बुक गरेसँगै बुधवार बजार करेक्सन भएको हो । यद्यपि कारोबार रकम भने करीब ३ वर्षयताकै उच्च रू. १६ अर्बभन्दा बढीको भएको छ । यसअघि २०७८ भदौ ३ गते रू. २० अर्ब ४० करोडभन्दा धेरैको कारोबार भएको थियो ।
बुधवार सेन्सेटिभ इन्डेक्स १ दशलमव ३६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ९० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव २९ प्रतिशत घटेको छ ।
यस दिन ३११ धितोपत्रको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर १ लाख ८८ हजार ८६५ पटकमा रू. १६ अर्ब २० करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बोटलर्स नेपाल तराई र एशियन हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । बोटलर्स नेपाल तराईको शेयर मूल्य रू. १६ हजार ४१२ पुगेको छ । त्यस्तै, एशियन हाइड्रोपावरको शेयर मूल्य रू. ६८९ दशमलव ९० पुगेको हो ।
बुधवार सबैभन्दा बढी चिरख्वा हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशलमव ७९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७१० कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा सुपर माई हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ६ दशलमव ०८ प्रतिशत घटेर रू. ७४१ मा झरेको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले अोगटेको छ । यस कम्पनीको रू. ३६ करोड ७ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.६६३ दशमलव ८० कायम भएको छ ।शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट छ । कम्पनीको रू. ३४ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव १६ प्रतिशत बढेको छ भने व्यापार समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ०९ प्रतिशत घटेको छ ।