संसदीय सुनुवाइ समितिमा प्रस्तावित (प्र) राजदूतहरूको सवालजवाफ सुनेपछि भन्नैपर्ने भयो– वाह ! नेपालका हुनेवाला राजदूतहरू । आर्थिक कूटनीति गर्न नसकेको भन्ने आरोप त झुटो पो रहेछ । यिनले त विश्वका ठूला ठूला समस्या समाधान गर्ने क्षमता पो राख्दा रहेछन् ।
उदाहरणका लागि, इजरायलका लागि प्र राजदूतले इजरायल–हमास युद्ध अन्त्य गर्न उनीहरूलाई गीता र वेदान्त पढाउने खालको योजना सुनाए । उनीहरूले युद्ध नै रोक्न सक्छन् भने जाबो आर्थिक कूटनीति त उनीहरूका लागि बायाँ हातको खेल त होला नि !
अर्का प्र राजदूतले झन् अमेरिकाको राष्ट्रपति नेपाल ल्याउने दाबी पेश गरेपछि त मेरो खुसीको सीमै रहेन । राष्ट्रपति नै ल्याउन सक्नेले जाबो चार–पाँच लाख पर्यटक त खेदेरै पनि ल्याइहाल्छन् नि । अब नेपालको पर्यटन व्यवसाय त झन् फस्टाउने कुरालाई अब कसैले रोक्न सक्तैन र लगानी आकर्षण त चिया खाएजस्तै सजिलो हुनेछ ।
अमेरिकाको राष्ट्रपति ललितपुरमा म:म: खान आएपछि, संसारभरका नागरिक नेपालका पर्यटन स्थलहरूमा स्वत: आउँदैनन् त ? बिल गेट्स्ले डली चायवालाको चिया पिएपछि कत्रो प्रचार भयो डलीको । नेपालीले धरी सबै खर्च बेहोरेर, थप २५ लाख तिरेर नेपाल ल्याए । डली चायवालाजस्तै नेपाल पनि सुपरहिट हुने पक्का । क्यानडाका लागि प्र राजदूतले पनि पर्यटक दोब्बर बढाउने भनेका छन् ।
यति ठूला योजना बुन्न सक्नेहरू राजदूत बन्ने भएपछि नेपाललाई विदेशी लगानीको बाढी ल्याउन त झन् के गाह्रो पर्ला र ? तर, यो कुरा सुनेर एकजना होटल व्यवसायी भने निकै चिन्तित पो देखिए । ‘पर्यटकको बाढी आउन थालेपछि कसरी सम्हाल्ने होला ? १५–२० लाख त जसोतसो धानिएला । तर बाढी नै आएपछि त के पो गर्ने होला ?’ उनको चिन्ता मलाई त सही नै लाग्यो ।
स्वीट्जरल्यान्डका लागि प्र राजदूतले त स्वीस बैंकको खातामा भएको नेपालीको पैसा पत्ता लगाएर फिर्ता ल्याउने भनेछन् । यत्रो पैसा आएपछि देशमा अब विदेशी लगानी पो किन चाहिएला र ?
त्यस्तै अर्का प्र राजदूतले भुटानी शरणार्थीलाई भुटान फिर्ता गर्ने गज्जबको वाचा गरेछन् । अर्का प्रस्तावित राजदूतले नेपाली खेलाडीलाई बार्सिलोना र रियल म्याड्रिड क्लबसँग सहकार्य गरेर खेलाउने योजना बनाएका रहेछन् । उनले त सार्क ब्युँताउनेदेखि क्रिकेट फैलाउनेसम्मको योजना बनाएका रहेछन् ।
प्र राजदूतहरूका योजनाहरू सुन्दा लाग्यो कि नेपालको परराष्ट्र नीति त अब विश्वकै शीर्ष तहमा पुग्ने भयो । नेपालले कूटनीतिको पाठ पढाउन विश्वभरका कूटनीतिकर्मीहरूलाई नेपालमा आकर्षित गर्नेछ भनेर गर्वले मेरो छाती ढक्क फुल्यो । आखिर, नेपाल सानो मुलुक भएर के भो र ? अब संसारभरका शक्तिशाली राष्ट्रहरू यहाँ कूटनीतिको शिक्षा लिन आउने सम्भावना भएपछि अरू के चाहियो ? उस्तै परे अब अक्सफोर्ड र हावर्डले कूटनीतिको पढाइका लागि नेपालमै खण्डपीठ खोल्नेछन् । यत्ति भएपछि नेपाललाई विश्वगुरु हुनबाट अब कसैले रोक्न सक्तैन ।
अझ मज्जाको कुरा सुन्नुहोस् है । एउटा हुनेवाला राजदूतले त केसम्म भने भने, ‘नेपाली मौलिक संस्कृति प्रवर्द्धन गर्न, नेपाली खानालाई विश्वमा प्रवर्द्धन गर्न पनि म राजदूत बनेर विदेश जानेछु ।’ त्यो सुन्दा यस्तो लाग्यो कि, हाम्रै देशमा यस्ता महान् आत्माहरू रहेछन् त । राजदूतहरू कूटनीति मात्र होइन, उनीहरूको पेटनीति पनि गज्जब बलियो रहेछ ।
अर्का एकजना प्र राजदूतले धानको उत्पादन बढाउन अमेरिकाबाट ‘धन्यवादी बीउ’ ल्याउने योजना सुनाए । ‘के हो यो ?’ मैले अक्क न बक्क हुँदै सोधेँ । उनले भने, ‘यो त त्यस्तो बीउ हो, जुन आफूले बिउँदा सीधै सरकारलाई धन्यवाद दिन्छ ।’ यो कुरा सुनेपछि मलाई लाग्यो, नेपालमा अब खेतीपाती पनि कूटनीतिक हुनेछ । धानखेती गर्ने किसानले अमेरिकाबाट बीउ ल्याएर पैसा कमाउने योजना अब अगाडि बढ्नेछ । अब यस्तो बीउ आयो भने नेपालको कृषि विकासमा ठूलो प्रगति हुनेछ भन्ने पक्का भयो । पहिले मोनसान्टो भन्ने अमेरिकी बीउ कम्पनी नेपाल आउन खोजेको थियो । के भएर हो कुन्नि पछि त्यो प्रयास छोडेको थियो । अब अर्कै रूपमा अमेरिकी बीउ नेपाल आउने सम्भावना ह्वात्तै बढ्यो ।
यति धेरै कुरा सुनेपछि मलाई लाग्यो, नेपालका प्र राजदूतहरू त अब्बल श्रेणीका प्राध्यापक पनि रहेछन् । त्यही भएर त केहीले त प्रश्न सोध्ने सांसदहरूलाई उल्टै हप्काएछन् । आफ्ना भाषणहरूमा उनीहरूले सारा संसारको समस्याको समाधान निकाल्ने खालको गर्जन गरे । उनीहरूको कुरा सुनेपछि लाग्यो, अब हाम्रा राजदूतहरूले न केवल युद्ध रोक्नेछन्, बरु उनीहरूले जलवायु परिवर्तनको समस्यालाई पनि नेपालकै घर घरबाटै समाधान गर्नेछन् ।
यो सुनुवाइ समितिमा बसेका सांसदहरू पनि निकै उत्साहित देखिए । उनीहरूले प्र राजदूतहरूको योजना गम्भीर भएर सुने । उनीहरूको भाव हेर्दा अबको केही वर्षमा नेपालले युरोप, अमेरिका र मध्यपूर्वमा ‘राजनीतिक पुनर्जागरण’ ल्याउनेछ र नेपालमा मात्र होइन, अब विदेशी राष्ट्रहरूमा पनि ‘नेपाली कूटनीतिक मोडल’ लागू हुनेछ भनेजस्तो देखिन्थ्यो ।
राजदूतहरूको यस्तो बकपत्रले कस्तो संकेत दियो भने नेपालका युवाहरूले कूटनीतिक पठनपाठन नगरी युट्युब हेरेर नै राजदूत बन्न सक्छन् । यस्तो आत्मविश्वास देखेर लाग्यो, नेपालको कूटनीतिक भविष्य युट्युबमय मात्र होइन, उज्ज्वलमय पनि छ । मलाई त यो पीर परिराछ कि ती सांसदले यत्रा ठूला विज्ञका कुरा कति बुझे होलान् । त्यही भएर आँखा चिम्लिएर तिनको नाममा पक्का ठप्पा लगाउने नै छन् ।
भन्नेले त वृद्धावस्थाको अवकाशकाल रमाइलो पार्न राजदूतहरू नियुक्त हुन गाको आरोप लगाउँछन् । तर त्यो कुरा त हुनेवाला राजदूतहरूले युवा जोशका साथ खण्डन गरिहाले । उनीहरूका प्रस्तुतिमा तथ्य, तथ्यांक, योजना आदिमा गम्भीर कूटनीतिका गरुँगा अवधारणा केही थिएनन् । हल्का, सरल र हास्य–रसले नै उनीहरूले काम तमाम गरिदिए । उनीहरू यति ठोस आत्मविश्वासका साथ अघि बढेका छन् कि उनीहरूलाई अब ठोस योजना बनाउन आवश्यक नै परेन । आखिरमा नियुक्ति त राजनीतिक नै हुने हो, त्यसमा कूटनीतिकोे काम पनि त छैन ।
यसरी हुनेवाला राजदूतहरूको सुनुवाइ र उनीहरूको उत्तरले के पनि प्रमाणित भयो भने हास्य–व्यंग्यले नेपालको नाटक वा चलचित्र, स्ट्याण्डअप कमेडीमा मात्र होइन, परराष्ट्र नीतिमा समेत विशेष स्थान ओगटिसकेको छ । आखिर, भाषण गर्ने कला नै सफल कूटनीतिज्ञको पहिलो योग्यता हो र नेपालका हुनेवाला राजदूतहरूले त्यसलाई राम्रोसँग आत्मसात् गरिसकेका देखिन्छन् । यसमा तपाईंको केही भन्नु छ र ?