नेपालको सबैभन्दा ठूलो उत्पादनमूलक उद्योगमध्येको एक तथा बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडको वार्षिक साधारणसभामा यसका अध्यक्ष देव बाजपेयीले नेपालमा प्रतिगामी करका कारण लगानीकर्ताको आत्मविश्वास डगमगाएको बताएका छन् । बहुराष्ट्रिय कम्पनीको यस भनाइलाई सरकारले अत्यन्त गम्भीरताका साथ लिनुपर्ने देखिन्छ किनभने यसले नेपालमा किन उत्पादनमूलक उद्योग विस्तार हुन सकेनन् भन्ने कुराको जवाफ दिएको छ । कम्पनीको वार्षिक प्रतिवेदनमा रहेको बाजपेयीको वक्तव्यअनुसार उनले प्रतिगामी करप्रणाली भनेर आयातित तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा बढी भन्सार महशुल लाग्ने प्रणाली (इन्भर्टेड ड्युटी स्ट्रक्चर) लाई भनेको देखिन्छ । उनले प्रतिगामी कर प्रणालीविरुद्ध बलियो नीति आओस् र स्थानीय व्यवसायीका लागि मैत्री भन्सार दर कायम होस् भन्ने सुझाव दिएका छन् । तयारी वस्तुभन्दा कच्चा पदार्थमा बढी भन्सार लाग्ने प्रणालीका अतिरिक्त नेपालको आयातमुखी नीति, पूँजी बजार र विज्ञापन प्रतिबन्धात्मक नियम, व्यापारका अवरोधहरू, गैरलगानीमुखी नियम र बौद्धिक सम्पत्तिसम्बन्धी नीतिहरूमा पनि सुधार चाहिएको उनको भनाइ छ । यो युनिलिभरको मात्र भनाइ होइन, म्यानुफ्याक्चरिङ क्षेत्रमा लगानी गरेका अन्य विदेशी लगानीकर्ताले पनि उठाइरहेको आवाज हो ।
नेपालले पटकपटक लगानी सम्मेलन गरे पनि विदेशी लगानीकर्ताका यस्तै खालको चासोलाई सम्बोधन गर्न नसक्दा नै प्रतिबद्धताको अनुपातमा ज्यादै कम लगानी भित्रने गरेको हो भन्न सकिन्छ । एउटा उत्पादनमूलक उद्योग आउँदा त्यसले थुप्रै रोजगारी सृजना गर्नेमात्र होइन, यसले गर्दा सहायक उद्योगहरू पनि खुल्छन् । उदाहरणका लागि प्याकेजिङ उद्योगलाई लिन सकिन्छ । त्यस्तै औद्योगिक कच्चा पदार्थ उपलब्ध गराउने कम्पनी पनि खुल्न सक्छन् । जस्तै कपडा कारखाना खुलेमा कपासखेती मौलाउँछ र यसबाट किसान लाभान्वित हुन्छन् । यसलाई ब्याकवार्ड लिंकेज भन्ने गरिन्छ । त्यसैगरी कुनै उद्योगको धेरै उत्पादनहरू अन्य उद्योगले प्रयोग गर्छ भने त्यसलाई फरवार्ड लिंकेज भनिन्छ । त्यसैले म्यानुफ्याक्चरिङ उद्योगलाई प्रवर्द्धन गर्ने हो भने फरवार्ड र ब्याकवार्ड लिंकेज भई आर्थिक गतिविधि बढ्ने र रोजगारी सृजना हुने हुन्छ । यसरी, म्यानुफ्याक्चरिङ उद्योगले व्यापक राजगारी सृजना गर्छ । एउटा उत्पादनमूलक उद्योग मुलुकबाट बाहिरियो भने त्यसले सहायक वस्तु उत्पादन गर्ने उद्योगसमेत बन्द हुन जान्छ । नेपालबाट कोल्गेट कम्पनी बहिरिँदा पनि यस्तै भएको थियो । त्यसैले हरेक मुलुकले म्यानुफ्याक्चरिङ उद्योगलाई धेरै प्राथमिकतामा राखेको हुन्छ । तर, नेपालका राजनीतिज्ञ र प्रशासकहरूमा भने यस्तो गम्भीरता भएको देखिँदैन । युनिलिभरलगायतले प्रतिगामी करको बारेमा कुरा उठाएको धेरै वर्ष भइसक्यो तर यसलाई सम्बोधन नगर्नु यसको उदाहरण हो । नेपालमा तयारी वस्तुमा भन्दा कतिपय कच्चा वा अर्धप्रशोधित वस्तुमा बढी कर लाग्ने गरेको छ । यसको विरोध सबैजसो उत्पादन कम्पनीले गरिरहेका छन् । कच्चा वस्तु आयात गरी सामान उत्पादन गर्न चुनौतीपूर्ण छ र जोखिमपूर्ण पनि । यही कारण व्यावसायिक घरानाहरू उत्पादनमूलक उद्योग खोल्नुभन्दा सामान आयात गरी व्यापार गर्न बढी सक्रिय देखिएका हुन् । नेपालमा आयात बढ्नुको कारण पनि यही हो ।
नेपालको अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको योगदान घट्दो क्रममा छ । कुनै बेला १२ प्रतिशत अंश रहेको यो क्षेत्रको योगदान अहिले घटेर ५ प्रतिशतको आसपासमा आइसकेको छ भने सेवाक्षेत्रको योगदान निकै बढेको छ । विश्व अर्थतन्त्रको रूपान्तरण हेर्दा कृषिबाट उत्पादनमूलक उद्योग हुँदै सेवाक्षेत्रमा पसेको पाइन्छ भने नेपालमा उद्योग क्षेत्र नफस्टाउँदै सेवाक्षेत्र फस्टाएको देखिन्छ । यसो हुनुमा प्रतिगामी करप्रणाली र सरकारको पश्चगामी सोच नै कारण हो भन्न सकिन्छ । विगतमा जेजति सुधार भएका थिए त्यसमा पनि सरकार टिक्न सकेको देखिन्न । सरकारले किन विदेशी लगानी आएन ? युनिलिभरजस्ता कम्पनीले किन पुनर्लगानी गरेनन् ? आन्तरिक लगानी उत्पादनमूलक क्षेत्रमा किन भएन भनेर चासै दिएको छैन । समस्याको खोजी नै गरेको छैन र सरोकारवालाको सुझावलाई पनि कार्यान्वयनमा लैजान आवश्यक ठानेको छैन । त्यसैको परिणति यति धेरै मुनाफा कमाएर नेपालमै सर्वाधिक प्रतिशेयर लाभांश बाँडेको कम्पनीले नगद लाभांश मात्र वितरण गरिरहेको छ र पुनर्लगानी धेरै बढाएको छैन । एउटा विशिष्ट व्यावसायिक मानक स्थापना गरेको कम्पनीबाट गुनासो आउनु पक्कै पनि राम्रो होइन । अन्य देशमा प्रधानमन्त्रीले यस्ता कम्पनीका प्रमुखलाई उच्च स्थान दिन्छन् तर नेपालमा भने ठ्याक्कै उल्टो छ । यस्तो प्रतिगामी प्रणाली र सोचले कसरी अर्थतन्त्रमा रूपान्तरण ल्याउन सकिन्छ ?