काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गरेका छन् ।
बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनमै छानबिन समिति गठनको माग गरिन् । अप्ठयारो समयका लागि भन्दै बचतकर्ताले आफू र बच्चाका नाममा जम्मा गरेको ठूलो रकम हिनामिना भएको भन्दै उनले छानबिन समिति गठनको माग गरिन् ।
‘सहकारीमा बचत गरेको पैसा हिनामिना गर्नेलाई कारबाही गरी पीडितको पैसा फिर्ता हुनुुपर्छ । सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिनुभएको छ,’ उनले भनिन्, ‘सूर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीपछि गठन गरेको विज्ञको प्रतिवेदनमा पनि सो कुरा उल्लेख छ । सो विवरणमा बचतकर्ताको करोडौं रकम हिनामिना भएको देखिएको छ ।’
सांसद न्यौपानले गरिबहरूले पेट काटेर पैसा बचत गरेका पैसा फिर्ता हुनुपर्नेमा माग गरिन् ।
यस्तै सांसद मानवीर राईले सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ३ निवासी तुलामान राई यही चैत ६ गते हुँगा नदीमा पुल बनाउने क्रममा ढुङ्गा किचेर मृत्यु भएको भन्दै निजको परिवारजनलाई क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराए ।
उनले गत फागुन २७ गते हराएका केशव राईको शव दुधकोशी नदीको किनारामा भेटिएको हुँदा मृत्युबारे अध्ययन गर्नेपर्ने र शान्ति सुरक्षालाई सरकारले विशेष ध्यान दिनुपर्ने माग गरे । सांसद राईका अनुसार लामो सयमदेखि सोताङ इलाका कार्यालयमा प्रशासकीय अधिकृत नहुँदा नागरिकता लिनेलगायतको काम हुन सकेको भन्दै ध्यानकार्षण गराए ।
सांसद नारायणी शर्माले दाङको राजपुर गाउँपालिकामा तीन परिवार र गढवा गाउँपालिकाको मुलमान आचार्यको घर जलेर नष्ट भएको भन्दै क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराए । उनले दुवै गाउँपालिकामा जनता घरमा जस्तापाताको छाना लगाउने आशामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रेम सुवालले नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको भन्दै सेवालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद अमरबहादुर थापाले दैलेखमा पट्रोलियम पदार्थ उत्खननका सामग्री भन्सारमा रोकिँदा उत्खनन रोखिएबारे जानकारी गराए । रासस