प्याज निर्यातमा भारतको प्रतिबन्ध : नेपाली व्यापारीले मनपरी मूल्य तोक्न थाले

Share News

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाए पछि बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । व्यापारीले आफूखुशी मूल्य तोक्न थाल्दा प्याजको खुद्रा मूल्य १०० रुपैयाँ पुगेको छ ।

भारतले प्रतिबन्ध लगाएपछि भदौ २९ गतेदेखि नै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज आयात बन्द भएको छ ।

भारतले निर्यातमा प्रतिबन्ध लगाउनु केही दिनअघिदेखि नै नेपालमा प्याजको मूल्य बढ्दै गएको थियो । कालीमाटी फलफूल तथा तरकारी बजारको दैनिक मूल्यसूचीअनुसार गत १५ दिनमा प्याजको मूल्य करीब ८९ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

भदौ १६ गते थोकमूल्य प्रतिकिलो ४२ रुपैयाँ पर्ने प्याज त्यसयता मूल्य बढेर प्रतिकिलो ७५ रुपैयाँ पुगिसकेको छ ।

भारतले निर्यात बन्द गरेपछि नेपालमा प्याज अभाव सृजना हुनुका साथै मूल्य झनै बढ्ने देखिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ भारतमा समेत मूल्य बढेका कारण केही दिन पहिलेदेखि नै व्यापारीहरूले नेपालमा पनि मूल्य बढाएको बताउँछन् । पुरानै मौज्दातको सामान विक्री गर्दा मनोमानी मूल्य लिन नहुने उनको तर्क छ ।

‘भारतबाट प्याज आयात हुन नसकेपछि नेपालको आन्तरिक उत्पादनले बजार माग धान्न सक्दैन । आयात प्रतिबन्धका कारण उपभोक्ताहरूलाई नै समस्या पर्ने हो,’
श्रेष्ठले भने ।

केही व्यापारीहरूले एकाएक प्याजको मूल्य बढाएर बेच्न थालेका छन् । मंगलवार बिहान प्रतिकिलो ७० देखि ७५ रुपैयाँसम्ममा विक्री भइरहेको प्याज दिउँसो प्रतिकिलो १ सय रुपैयाँमा विक्री भएको छ ।

भारतले प्याज निर्यात बन्द गर्नुको वास्तविक कारण नखुले पनि अहिले त्यहाँ प्याजको सिजन नभएकाले मौज्दात सकिएको छ ।

आफ्नो आन्तरिक बजारमा अभाव हुन नदिन भारतले निर्यातमा प्रतिबन्ध लगाएको हुन सक्ने भन्सार विभागका महानिर्देशक सुमन दाहाल बताउँछन् ।

वाणिज्य विभागले गरेको बजार अनुगमनका क्रममा व्यापारीहरूले मनोमानी मूल्य लिने गरेको पाइएको विभागका महानिर्देशक नेत्र सुवेदीले जानकारी दिए । ‘बढी मूल्य लिएका व्यापारीहरूलाई बुधवार विभागमै बोलाएर छानविनपछि कालोबजारीको कसुरमा कारबाही गर्छौं,’ उनले भने ।

आलुको पनि बढ्यो मूल्य
गतवर्ष यही अवधिको तुलनामा यस वर्ष भारतीय रातो आलुको मूल्यमा करीब १ सय १९ प्रतिशत वृद्धि भएको छ । उक्त अवधिमा भारतीय रातो आलुको थोक मूल्य प्रतिकिलो २७ रुपैयाँ थियो भने हाल ५९ रुपैयाँ भएको छ । गतवर्षको तुलनामा नेपाली रातो आलुको मूल्यमा ८४ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५१ बाट ९४ रुपैयाँ पुगेको छ ।

त्यसैगरी मुडेको आलुको मूल्य पनि ६८ प्रतिशतले वृद्धि भएर प्रतिकिलो ४७ देखि ८९ रुपैयाँ पुगेको कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीले देखाएको छ ।

बजारका सूचना अधिकारी श्रेष्ठका अनुसार आलुको हाल आलुको सिजन नभएकाले भारतमा मूल्य बढ्दा नेपालमा पनि बढेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।