ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डको पहलमा ठमेल र दरबारमार्ग क्षेत्रमा वैशाख १ गतेदेखि चौबीसै घण्टा व्यवसाय खुला रहने भएका छन् । ठमेल नेपालको मुख्य पर्यटकीय क्षेत्र हो जहाँ नेपाल आउने करीब करीब सबैजसो पर्यटक पुग्छन् । त्यसैले यो क्षेत्र चौबीसै घण्टा खुला रहँदा त्यसले पर्यटन र रोजगारीमा सकारात्मक असर पार्ने देखिन्छ । यद्यपि यसलाई व्यावहारिक रूपमा सफल पार्न भने अन्य पक्षमा समेत ध्यान दिनुपर्ने हुन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान ३ देखि ५ प्रतिशतसम्म रहेको अनुमान छ । विप्रेषणपछि वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख माध्यम पनि पर्यटन नै हो । कोरोनाकालमा शिथिल भएको पर्यटन क्षेत्र अहिले बिस्तारै पुरानो लयमा फर्किंदै छ । तर, कोरोनाअघिको भन्दा अहिले पर्यटन पूर्वाधार निकै बढेकाले जति पर्यटक बढेका छन् त्यसको अनुपातमा व्यवसाय भने चम्किन सकेको छैन । यद्यपि अहिलेको संख्याले निकै सकारात्मक भने बनाएको छ ।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पुरातात्त्िवक सम्पदाको रटानले मात्रै पर्यटनको सम्भावना दोहन हुन सक्दैन । पर्यटनमा नयाँ नयाँ प्रडक्ट आवश्यक छ । त्यसका लागि लगानी र प्रचारप्रसार बढाउन आवश्यक हुन्छ । अझ नेपाल आउने पर्यटक नै पर्यटन प्रवर्द्धनका बलिया आधार भएकाले तिनलाई सन्तुष्ट बनाएर पठाउनु अनिवार्य नै हुन्छ । छोटो समयका लागि नेपाल आउने पर्यटकले यहाँ बसुन्जेल पूरा समय आनन्दमा बिताउन चाहन्छ । सबै पर्यटकमा समान सोच र समान रुचि हुँदैन । त्यसैले उनीहरूको विविधतामय सोचअनुसार सेवा उपलब्ध गराउनु पर्यटन व्यवसायीको कर्तव्य हुन आउँछ । नेपालको डीजे क्लब विश्वकै उत्कृष्ट ४९ औंमा पर्नुले पनि रात्रिकालीन व्यवसायका लागि ठमेल उपयुक्त रहेको मानिन्छ । यस्ता क्लबले रातभर जस्तै कार्यक्रम गरे पनि प्रहरीलाई अतिरिक्त पैसा दिनुपरेको थियो भनिन्छ । अब गृह मन्त्रालयकै सहमतिमा ठमेललाई २४सै घण्टा खुला गरेपछि निर्धक्कसँग व्यवसाय गर्न पाउँछन् । २४ घण्टा व्यवसाय चल्ने भएपछि त्यहाँ बढी कामदारले काम पाउने सम्भावना हुन्छ । तर, नेपालमा कतिपय स्थलमा श्रम शोषण पनि भइरहेकाले त्यसो नहोस् भन्नेमा नियामक निकायको ध्यान जानुपर्छ ।
विगतमा यस क्षेत्रमा दिउँसो सवारीसाधन निषेध गरिए पनि स्थानीयको विरोधका कारण असफल भएको थियो । यद्यपि यो अत्यावश्यक कदम हो । त्यस्तै अवस्था यो रात्रिकालीन व्यवसायमा पनि नआउला भन्न सकिँदैन ।
दरबारमार्ग चौबीसै घण्टा खुला गर्दा त्यहाँको रेस्टुराँ आदिमात्र नभएर पसलहरू पनि रातभर खुला रहनुपर्छ । पर्यटक मात्र होइन, नेपालीहरूलाई समेत रातिको समयमा कुनै किनमेल गर्नुपर्दा पसल नै नपाउने अवस्था छ । दिनभर घुमफिर गरेर बेलुका किनमेल गर्न पाउने भएपछि काठमाडौंको दिनचर्या नै फेरिन सक्छ । संसाँझै सुत्ने शहरको उपनाम पाएको काठमाडौंका पकेट क्षेत्र रातभर जाग्राम रहन सक्यो भने थुप्रै व्यवसायहरू थपिन्छन् । फरक प्रकृतिको व्यवसायले अर्थतन्त्रलाई थप गति दिने निश्चित छ ।
त्यसो त रात्रिकालीन व्यवसाय सञ्चालन होस् भन्ने हो भने यसको अन्य पक्षमा पनि ध्यान दिनुपर्छ । पहिलो त सुरक्षाकै विषय आउँछ । अहिले काठमाडौंको धेरै क्षेत्रमा सीसीटिभी क्यामरा जडान गरिएको छ तर त्यो अझै अपुग छ । त्यस्तै साँझ पर्नेबित्तिकै सार्वजनिक सवारीसाधन नपाउने र पाए पनि बढी भाडा तिर्नुपर्ने बाध्यता छ । रातमा ट्याक्सी चढ्नुपर्यो भने डेढी भाडा बढी लाग्छ । रातको सेवा भन्नेबित्तिकै जति पनि असुल्न पाइन्छ भन्ने मान्यताले काम गरियो भने त्यो व्यवसाय नभएर ठगी जस्तो हुन्छ । त्यसैले सार्वजनिक यातायात र सुरक्षामा विशेष ध्यान दिनुपर्छ ।
अर्को अहिले भगवानबहाल क्षेत्रमा चाहिँ यो नियम लागू नहुने बताइएको छ । स्थानीय बासिन्दाको विरोधका कारण यसो भएको हो । ठमेल जति नै पर्यटकीय क्षेत्र भने पनि कयौं घरधनी त्यहीँ सुत्छन् । त्यसो हुँदा उनीहरूले यसको विरोध गर्ने सम्भावना छ । विगतमा यस क्षेत्रमा दिउँसो सवारीसाधन निषेध गरिए पनि स्थानीयको विरोधका कारण असफल भएको थियो । यद्यपि यो अत्यावश्यक कदम हो । त्यस्तै अवस्था यो रात्रिकालीन व्यवसायमा पनि नआउला भन्न सकिँदैन ।