काठमाडौं । गत महीना बाढीपहिरोका कारण चीनतर्फ सडक अवरुद्ध हुँदा ठप्प बनेको रसुवागढी नाका पुन: सञ्चालनमा आउने रसुवा भन्सारका एक अधिकारीले बताएका छन् । भन्सार अधिकारीका अनुसार चीनतर्फ सडक मर्मतको काम तीव्र गतिमा गरिएका कारण सोमवार (आज) देखि सामान दुवानीको काम अघि बढाउने संकेत चिनियाँ पक्षले गरेको हो । चीनतर्फको सडकमा ठूलो क्षति भएका कारण करीब ३ सातादेखि चीनबाट सामान आउन सकेको छैन ।
रसुवागढी भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्रप्रसाद प्याकुरेलका अनुसार भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालय रसुवाले चिनियाँ अधिकारीहरूसँग निरन्तर गरेको कुराकानीअनुसार अक्टोबर २८ बाट सामान ढुवानी हुने भएको छ । ‘चिनियाँ अधिकारीहरूले सडक आंशिक रूपमा खुलाएर भए पनि सामान पठाउने भनेका छन्, त्यसैले हामी विश्वस्त छौं,’ प्याकुरेलले आर्थिक अभियानसँग भने ।
चीनतर्फ बाढीपहिरोले सडकमा पुर्याएको क्षतिका कारण खासगरी दशैंतिहार लक्षित सयौं कन्टेनर गाडी आउन सकेका थिएनन् । भन्सार अधिकृत प्याकुरेलका अनुसार ती लोड भएका गाडीदेखि बुकिङ भएका नयाँ विद्युतीय गाडीसमेत चीनबाट ल्याउन चिनियाँ पक्षसँग निरन्तर कुराकानी भइरहेको छ ।
‘लोड भएका सामान, रोकिएका विद्युतीय गाडी (ईभी) छुटाउन उनीहरू तयार देखिएका छन्,’ उनले भने, ‘सडक दु्रत गतिमा चिनियाँ पक्षले बनाइरहेकाले हामीलाई विश्वास छ, पूर्ण क्षमतामै सामान छिट्टै आउनेछ ।’
उता तातोपानी नाका अझै निर्बाध रूपमा सञ्चालनमा आउन सकेको छैन । भोटेकोशी नदी र लिपिङ खोलाको पुल बगाएपछि चीनबाट आउने छिटो कुहिने सामान तुइनबाट ल्याउने गरिएको भन्सार अधिकारीहरूले बताएका छन् । तिहारअघि सञ्चालनमा आउने सम्भावना निकै कम रहेको भन्सार अधिकारीहरूले बताएका छन् । यता नेपाल हिमालय सीमापार वाणिज्य संघका सभापति रामहरि कार्कीले तातोपानी नाकामा ३०० देखि ४०० र केरुङ नाकामा झन्डै ७०० कन्टेनर रोकिएकाले छिटो ल्याउनुपर्ने बताउँछन् । ‘झन्डै २०० ओटा कन्टेनरमा रहेका फलफूल कुहिएको छ, दशैंका लागि ल्याइएका सामान पनि प्रयोजनविहीन भएको छ,’ उनले भने, ‘नाका छिटो खुलाएर लोड भएका ती समानहरू ल्याइनुपर्छ ।’
उनका अनुसार हाल सडक संरचनामा पुगेको क्षतिका कारण रोकिएका कन्टेनरहरू पार नहुन्जेलसम्म सडकमार्ग हुँदै सामान नल्याउन व्यवसायीलाई अनुरोध गरेको पनि बताए । सीमावर्ती क्षेत्रमा हाल बनाइएका सडक र अस्थायी पुलबाट आवतजावत सहज नभएको खण्डमा व्यवसायीले चीनबाट ल्याउने सामान समुद्री मार्गबाट भारत हुँदै ल्याउनुपर्ने अवस्था उत्पन्न भए पनि व्यापारी त्यसो गर्न तयार छैनन् । ‘त्यसरी सामान ल्याउने हो भने समय र लागत उल्लेख्य रूपमा बढ्छ,’ एक आयातकर्ताले भने । उनका अनुसार बन्दरगाहमा खासै जोड दिइएको छैन । दुवै नाका छिट्टै निर्बाध रूपमा खुल्नेमा व्यवसायीहरू आशावादी छन् ।