संसारका मुद्राहरूको अवमूल्यन हुनुको पछाडि अर्थ व्यवस्थामा भइरहेका घटनाहरू जिम्मेवार छन् । विगत ५ वर्षदेखि चलिरहेको मन्दीको मुख्य कारण देशैपिच्छे पृथक् रहे तापनि समग्रमा भन्दा संसारको आम्दानीको तुलनामा ऋणको माध्यमद्वारा गरिएको खर्च अधिक हुनु हो ।
विगत केही महीनायता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन भइरहेको छ । यसबाट नेपाली रुपैयाँको क्रयशक्ति दिन प्रतिदिन घट्दै गएको छ । आयातित वस्तुको मूल्य अकाशिँदो छ । फलस्वरूप नेपालको मुद्रास्फीति दरमा वृद्धि भई २ अङ्कमा पुगेको छ । नेपाली रुपैयाँको अवमूल्यन जुन गतिले भइरहेको छ यसको रोकथाम आन्तरिक उपायबाट हुन सक्दैन । बाह्य तत्व नै यो अवमूल्यनको कारक हो । अमेरिकाको फेडरल रिजर्भले गत जुन महीनामा अवलम्बन गरेको नीतिमा परिवर्तन नआएसम्म संसारका मुद्राहरूको अवमूल्यन भइरहने देखिन्छ । हालै विदेशी विनिमय दरमा स्थिरता आउने सङ्केत देखा परे तापनि यसले पूर्णता पाउन भने समय लाग्ने देखिन्छ । विगत केही वर्षयता संसारको अर्थ व्यवस्थामा भएको उतारचढावले दुई आधारभूत प्रश्न सृजना गरेको छ, जसको उत्तरले अमेरिकी डलरको तुलनामा बाँकी मुद्राको अवमूल्यनका कारणहरू किटान गर्न सक्छ । अमेरिकी डलरको तुलनामा बाँकी मुद्राको अवमूल्यन हुनुको कारण र जिम्मेवार तŒवहरूको उत्तर मेरो विचारमा दुईओटा प्रचलित मुद्राहरूको सङ्गम हुन सक्छ ।
पहिलो, संसारका मुद्राहरूको अवमूल्यन हुनुको पछाडि अर्थ व्यवस्थामा भइरहेका घटनाहरू जिम्मेवार छन् । विगत ५ वर्षदेखि चलिरहेको मन्दीको मुख्य कारण देशैपिच्छे पृथक् रहे तापनि समग्रमा भन्दा संसारको आम्दानीको तुलनामा ऋणको माध्यमद्वारा गरिएको खर्च अधिक हुनु हो । मन्दीको प्रकृति ब्यालेन्स सिट प्रकारको रहेको छ । मन्दीका कारण संसारका आर्थिक व्यवस्थाहरूले गति लिन सकिरहेका छैनन् । संसारको कुल आम्दानी (कुल गार्हस्थ्य उत्पादन) ७१ ट्रिलियन अमेरिकी डलर रहेको छ भने कुल खर्च (जुन कुल सरकारी र निजीक्षेत्रमा रहेको ऋणले प्रतिनिधित्व गर्छ) २ सय २२ ट्रिलियन अमेरिकी डलर रहेको छ । यो तथ्याङ्कले संसारका अधिकांश मुलुक ऋणग्रस्त छन् भन्ने कुरा प्रमाणित गर्छ । आज यूरोपका अधिकांश मुलुकको आर्थिक अवस्था कमजोर भइरहेको छ जुन यसै तथ्यको परिणाम हो भन्न सकिन्छ । उदीयमान अर्थव्यवस्था भएका मुलुकहरू पनि अधिक ऋणको शिकार बन्न थालिसकेका छन् ।
सन् २००८ को मन्दी निराकरणका लागि सरकार र सम्बन्धित राष्ट्रहरूका केन्द्रीय बैङ्कहरूले आर्थिक अवस्था कमजोर रहेका वित्तीय सङ्घसंस्थालाई बेल आउट कार्यक्रमद्वारा सजी–सजावट गरे । यो कार्यक्रमले मन्दीको रोकथाम हुन सक्यो । तर, संसारबाट मन्दीको पूर्ण निराकरण भने भएको छैन । यसैको असरले संसारका मुलुकहरू एक पछि अर्को आर्थिक कुचक्रको असरबाट पीडित भइरहेका छन् ।
अमेरिकी अर्थ व्यवस्थाले विस्तारै अग्रगति लिइरहेको छ । अर्थ व्यवस्था अग्रगतिको बाटोमा तीव्र वेगले हिँडेका कारण अमेरिकी लगानीकर्तामा सकारात्मक सोचाइ आउनुका साथै लगानीमा पनि तीव्रता आएको छ । यसबाट फाइदा लिन अमेरिकाको आर्थिक नीतिमा परिवर्तन हुन थालेको छ । फेडरल रिजर्भले जुन २०१३ मा ट्रेजरी बण्डको असीमित खरीदमा कमी ल्याउने कुराको उद्घोष गर्यो । यस कदमले अन्य मुलुकको आर्थिक जगमा धमिरो लगाएको छ । यसको असर उदीयमान अर्थ व्यवस्थामा पर्न थाल्यो । लगानीकर्ताहरूले उदीयमान अर्थ व्यवस्थाबाट लगानी धमाधम फिर्ता गर्न थाले । लगानीकर्ताहरूले विकसित मुलुकहरूमा नै लगानी गर्ने सहज वातावरण पाएकाले उदीयमान अर्थ व्यवस्थाका बण्ड तथा सुरक्षणमा हुने लगानीले प्राथमिकता पाउन सकेन । ब्राजिल, इण्डोनेशिया, थाइल्याण्ड, भारत आदि मुलुकको मुद्रा अमेरिकी डलरसँग अवमूल्यन हुन थाल्यो । भारतीय अर्थ व्यवस्था यसबाट अझ बढी प्रभावित भयो । भारतीय मुद्राको व्यापक अवमूल्यन हुन थाल्यो । जनवरीदेखि हालसम्ममा २० प्रतिशतले भारतीय मुद्राको अवमूल्यन भएको छ । अन्य मुलुकको तुलनामा नेपालको परिस्थिति विशिष्ट छ । नेपालमा अन्तरराष्ट्रिय लगानी न्यून रहेकाले अमेरिकी अर्थ व्यवस्थामा नीति परिवर्तन भएकाले भन्दा पनि भारतीय मुद्रामा भएको अवमूल्यनका कारण नेपाली मुद्रा अवमूल्यन भएको हो ।
एशियाको तेस्रो ठूलो भारतीय अर्थ व्यवस्था अरू उदीयमान अर्थ व्यवस्थाको तुलनामा बढी घाइते हुन पुगेको छ । विगत २ वर्षयता भारतको आर्थिक वृद्धिदर ४–५ प्रतशतमा ओर्लिएको छ जुन सन् २००३–२००८ को आर्थिक वृद्धिदरको तुलनामा आधा मात्र हो । यो भविष्यमा अझै ओरालो लाग्न सक्ने अनुमान अर्थशास्त्रीहरूले गरेका छन् । मुद्रास्फीति २ अङ्कका दरले वृद्धि भइरहेको छ । भारतको अर्थ व्यवस्था जति दह्रो र भरपर्दो हुन्छ त्यति यसको मुद्राको विनिमय दर स्थिर रहन सक्छ । भारतीय मुद्रामा हाल अपचलन भइरहेको छ, जसको एउटा कारण गत जुन महीनामा फेडरल रिजर्भले अपनाएको नीतिको परिणाम हो भने अर्को भारतीय अर्थ व्यवस्थाले जुन गति लिइरहेको थियो, त्यसमा झड्का लाग्नु हो ।
दोस्रो, नेपाली रुपैयाँ (नेरू) र भारतीय रुपया (भारू)बीचको विनिमय दर स्थिर रहेको छ । नेरूको विनिमयदर पेग प्रणालीमा हुने व्यवस्था छ । यसले बजारको आधारमा नेरूको विनिमय दर निर्धारण गर्न रोक लगाएको छ । यसले के पुष्टि गर्छ भने अमेरिकी डलरसँग भारूको विनिमय दर जुन बजार प्रणालीद्वारा निर्धारण हुन्छ त्यही विनिमय दर नेपालले स्वीकार्नुपर्छ । त्यसैले नेपालले नेरूमाथिको अस्थिरता र मुद्रास्फीतिको गति नियन्त्रण गर्न सक्दैन । विनिमय दरमा स्थिरता ल्याउन र मुद्रास्फीतिको नियन्त्रण गर्न भारतले जुन नीति अपनाउँछ त्यही नीति नेपालमा पनि अनुसरण हुन्छ ।
अब हामी नेरू पेग प्रणालीमा आबद्ध नहुँदाको अवस्थाको परिकल्पना गरौं । यो अवस्थामा नेरूको विनिमय दर बजार प्रणालीले निर्धारण गर्छ । के यो प्रथा भए नेरूको विनिमय दर स्थिर हुन सक्छ ? र नेरू दह्रो हुन सक्छ ? यस परिस्थितिमा यो अवधारणाको कल्पनासम्म पनि गर्न सकिँदैन । नेपालको आर्थिक जग अत्यन्त कमजोर छ । अधिकांश उपभोग आयातमा निर्भर छ । अधिक आयातले व्यापारघाटा बढिरहेको छ । जुन देशको व्यापारघाटा दिनानुदिन बढिरहेको हुन्छ त्यस देशको मुद्रा स्थिर र बलियो हुन सक्दैन । बरु नेरूको विनिमय दर भारूसँग स्थिर राख्दा नेरूले स्थिरता पाउन सक्छ । उदाहरणका लागि द्वन्द्वकालीन लामो अवधिमा पनि नेरूको विनिमय दर स्थिर थियो । यसलाई पेग प्रणालीको वरदान हो भनेर भन्न सकिन्छ । हाल नेरू भारूबीचको विनिमय दर भारू १ बराबर नेरू १ दशमलव ६० छ, जुन दुईदशकभन्दा अगाडि निर्धारण गरिएको थियो । सन् १९६० मा नेपालको व्यापार भारतसँग ९० प्रतिशतभन्दा बढी निर्भर थियो । त्यस बखत व्यापार विविधीकरण हुन सकेको थिएन । सन् १९७० र १९८० को दशकमा नेपालको व्यापारमा विविधीकरण शुरू भयो । फलस्वरूप भारतसँगको व्यापारको अंशमा कमी आयो । यसले भारतसँगको व्यापारको अंश केवल ३०–३५ प्रतिशतमा ओराल्यो । सन् १९९० को दशकपश्चात् नेपालको व्यापार भारतसँग निर्भर हुन थाल्यो । अर्थात् नेपालको व्यापारको ६०–६५ प्रतिशत अंश भारतमा निर्भर रहन पुगेको छ । व्यापारको मात्रा बढेका कारण भारतसँगको व्यापारघाटा पनि बढिरहेको छ । भारतसँग वस्तु व्यापार बढिरहेको भए तापनि नेपालको आम्दानीमा विविधीकरण हुन पुगेको छ । नेपालमा विप्रेषणको मात्रा बढेर ४–५ खर्ब रुपैयाँ पुगेको छ । कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत अंश विप्रेषणले ओगटेको छ । नेरूको भारूसँग विनिमय दर निर्धारण गर्ने समयमा गहन मात्रामा नेपालमा विप्रेषण भित्रिन सकेको थिएन । तर, आज विप्रेषणको आगमनमा ठूलै परिवर्तन भएको उल्लिखित आँकडाले देखाइरहेको छ । त्यसैले परिवर्तित समयमा विद्यमान पेग प्रणालीमै रहेर नेरू र भारूबीचको विनिमय दरमा पुनर्मूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।
लेखक त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।