गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा गत शुक्रवार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप ३ दिन हिरासतमा रहने भएका छन् ।
गत शुक्रवार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई आइतवार जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राखेर सहकारी ठगी र संगठित अपराध अभियोगमा अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतका न्यायाधीश नवराज दाहालको इजलाशले लामिछानेलाई गत शुक्रवारदेखि नै गणना हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । ‘पक्राउ परेको दिन (शुक्रवार) देखि नै गणना हुने गरी म्याद थप भएको हो,’ उनले आर्थिक अभियानसँग भने । अधिकारीका अनुसार अब ३ दिन लामिछाने हिरासतमा रहनुपर्नेछ । अनुसन्धान नसकिए प्रहरी पुन: म्याद थपका लागि अदालत जान सक्नेछ ।
शुक्रवार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा लगी प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएकोमा आइतवार अदालतसमक्ष प्रस्तुत गरिएको थियो । इजलाशमा सरकारी वकिलका तर्फबाट कमला काफ्लेले र लामिछानेका तर्फबाट अधिवक्ताहरू सुशील पन्त, डा. नारायण घिमिरेलगायतले बहस गरेका थिए । लामिछानेलाई अदालतमा उपस्थित गराइँदा बाहिर उनका समर्थकले नाराबाजी गरेका थिए । सम्भाव्य सुरक्षा अवस्थालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक र आसपासको क्षेत्र तोकेर निषेधाज्ञासमेत जारी गरेको थियो ।
- पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकको प्रदर्शन जारी
- भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मे, निषेधाज्ञादेखि अश्रुग्याससम्म प्रयोग
- अन्यायपूर्ण तरीकाबाट सरकारले फसाउन खोजेको लामिछानेको जिकीर
- संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गरेको सरकारको स्पष्टोक्ति
रास्वपा समर्थकबाट निषेधाज्ञा तोड्ने प्रयास भइरहँदा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरी भीडलाई त्यहाँबाट हटाएको थियो । सहकारीपीडितका साथै लामिछानेका समर्थक दुवै पक्षका छुट्टैछुट्टै प्रदर्शनका कार्यक्रम तय भएसँगै प्रशासनले बिहानैदेखि पोखराको सुरक्षा व्यवस्था कडा गरेको थियो । जिल्ला अदालत परिसर आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सभापति लामिछाने समर्थकको र्याली पोखराको पृथ्वीचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए ।
अदालत परिसरमा पूर्वउप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले आफूलाई अन्यायपूर्ण तरीकाबाट सरकारले फसाउन खोजेको दोहोर्याए । आफूले कानून र न्यायालयमा विश्वास र सम्मान गर्ने भन्दै उनले सरकार नियोजित र प्रतिशोधपूर्ण ढंगबाट फसाउन उद्यत रहेको दाबी गर्दै केपी ओलीको सरकार नै निर्दोष फसाउन र आफ्नो कमजोरी लुकाउन गठन भएको बताए । लामिछानेले केपी ओलीमुक्त देश बनाउन आवश्यक रहेको बताए ।
‘म सबै जनतालाई आग्रह गर्छु । एकपटक र यो अन्तिमपटक जुट्नुहोस्, बाहिर निस्कनुहोस्, केपी ओलीमुक्त देश बनाउन ढिला भयो भने धेरै कुरा बिग्रिन्छ,’ लामिछानेले थपे, ‘यो सरकार अधिनायकवादी छ, यो सरकार नढलेसम्म सबैले झूटो मुद्दा भोग्नुपर्छ ।’ पोखरा र देशभरका जनता यिनीहरूको सत्ता अन्त्यका लागि जुट्नुपर्ने उनले बताए । यता सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले भने सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन बल्ल कार्यान्वयन शुरू भएको बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले संसदीय समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकार गरेको बताए । उनले अगाडि भने, ‘त्यो प्रतिवेदनले औंल्याएका व्यक्तिमाथि अनुसन्धान गर्ने क्रम शुरू भएको मात्र हो । जोजो व्यक्ति तोकिएको छ, सबैमाथि (छानबिन) हुन्छ ।’