काठमाडौं । सन् २०२४ को ११ महीनामा १० लाख ५७ हजार २६२ पर्यटक नेपालमा आउँदा १ लाख १० हजार ८०४ स्थलमार्गबाट नेपाल प्रवेश गरेको अभिलेख छ । सन् २०२४ को शुरूदेखि नै पर्यटक आगमन बढेका बेला स्थलमार्गबाट आउने पर्यटक पनि बढेका हुन् । सन् २०२४ को नोभेम्बरमा मात्रै १ लाख १४ हजार ५०१ पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार स्थलमार्गबाट आउने पर्यटक सबैभन्दा धेरै मार्च र नोभेम्बरमा आएको देखिएको छ । सन् २०२४ को मार्चमा मात्रै स्थलमार्ग हुँदै १९ हजार ११९ पर्यटक नेपाल आएका थिए । त्यसपछि नोभेम्बरमा बढी छन् । उक्त महीना १७ हजार ६५१ पर्यटक स्थलमार्ग हुँदै आएको देखिन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरी, फेब्रुअरी, मार्चसम्म स्थलमार्गबाट आउने पर्यटकको संख्यामा क्रमशः सुधार देखिन्छ । अप्रिलदेखि अगस्टसम्म भने स्थलमार्गबाट आउनेको संख्या क्रमशः कम हुने गरेको देखिन्छ । सेप्टेम्बरदेखि भने स्थलमार्ग हुँदै आउनेको संख्या क्रमशः बढेको देखिएको छ ।
ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले स्थलमार्गबाट आउने धेरै पर्यटक भारतीय हुने गरेको बताए । खासगरी भैरहवा, सुनौली नाका, विराटनगरबाट धेरै आउने गर्छन् । ‘स्थलमार्गबाट आउने धेरै पर्यटक खासगरी भारतीय र भारतमा आउने विदेशी पर्यटक स्थलमार्ग हुँदै नेपालमा आउने गर्छन्,’ पाण्डेले भने, ‘विदेशी पर्यटक हिमाल हेर्न आउने माउन्टेन पर्यटक सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, मार्च, अप्रिल, मेमा आउने गर्छन् ।’
कुन महिनामा कति भित्रिए ?