काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध फुकाउन क्याविनेटलाई सिफारिश गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
पूववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक २७ देखि लगाएको बन्देज हटाउने विषयमा केही समयदेखि छलफल अगाडि बढाइरहेको सरकारले साढे ९ महीनापछि उक्त प्रतिबन्ध फकुवा गर्न लागेको हो ।
यसका लागि बुधवार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय लिएको र मन्त्रीस्तरमा भएको उक्त निर्णयलाई बिहीवार बस्ने क्याबिनेट बैठकमा पेस गर्ने तयारी भएको मन्त्री निकट स्रोतले बतायो ।
‘टिकट प्लेटफर्ममाथिको रोक हटाउन स्वीकृति दिने निर्णयमा सञ्चारमन्त्रीले हस्ताक्षर गरेर क्याबिनेटमा डिसिजनका लागि पठाउनु भएको छ,’ स्रोतले भन्यो, ‘आगामी क्याबिनेटले पारित गर्नेछ ।’
बिहीवार क्याबिनेट बैठक भएकाले यसबारे आजै निर्णय आउने सम्भावना बलियो रहेको र प्रतिबन्ध हटेलगत्तै देशभर सहज रुपमा सो एप चल्ने स्रोतको दाबी छ । मन्त्रिपरिषद्को निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ ।