काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई आफ्ना प्लेटफर्म सूचीकृत गराउन अनुरोध गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमवार (आज) सूचना जारी गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न भनेको हो ।
‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने वा सञ्चालनमा रहेका व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने तथा ऐ निर्देशिकाको दफा ६ मा उल्लिखित व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु (पोइन्ट अफ कन्ट्याक्ट)को व्यवस्था गर्नुपर्ने उल्लेख छ । तसर्थ, नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने वा गरेका व्यक्ति, कम्पनी वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्न तथा नेपालभित्र सम्पर्क विन्दुको व्यवस्थासहित निर्देशिकाको प्रावधानहरूको पालनाको सुनिश्चितता गर्नुहुन यसै सूचनामार्फत् सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका बमोजिमको व्यवस्था पालना नभएमा सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाइने सूचनामा भनिएको छ ।
नेपालमा टिकटक, भाइबरलगायतका सामाजिक सञ्जाल प्लेटफर्म सूचीकृत छन् ।