सामाजिक उद्यमशीलता प्रवर्द्धनमा नबिल बैंक  जनकपुरमा सर्टिफिकेट कोर्स शुरू

Share News

जनकपुर। नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ शुरू गरेको छ । शनिवार आयोजित एक कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल लगायतको उपस्थितिमा कोर्सको शुरुआत गरिएको हो । बैंकका अनुसार उक्त कोर्सका लागि पहिलो समूहमा खुला आवेदनमार्फत २५ जना छनोट भइसकेका छन् ।

कोर्सको शुरुआत गर्दै मुख्यमन्त्री सिंहले बैंकले सामाजिक उद्यमशीलता बढाउने उद्देश्यले शुरू गरेको उक्त प्रयासको प्रशंसा गरे । नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदीले नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुरू गरेको सामाजिक उद्यमशीलतासम्बन्धी कार्यक्रम सराहनीय भएको बताए । नबिल बैंकका अध्यक्ष पौडेलले सर्टिफिकेट कोर्सको पहिलो समूहका सहभागीलाई सम्बोधन गर्दै बैंक नाफामा मात्रै नभई दिगो नतीजा ल्याउने क्षेत्रमा समेत केन्द्रित रहेको उल्लेख गरे । साथै स्टार्टअप शुरूआत गर्न चाहने र शुरुआत गरिसकेकालाई लक्षित गरी बैंकले नबिल एसएसई कार्यक्रम शुरू गरेको उनको भनाइ थियो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बैंकले आयोजना गरेको उक्त कार्यक्रममा सघाउन आफूहरू तयार रहेको बताए । मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक सोनुकुमार साहले नेपालबाट दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा यस प्रकारको कार्यक्रमले युवालाई देशमै केही गर्न सकिन्छ भन्ने आशा जगाउने प्रतिक्रिया दिए ।

नबिल बैंकले समाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका तथा उद्यमशील क्षेत्रमा संलग्न नव–उद्यमीलाई आवश्यक ज्ञान र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले उक्त कोर्स सञ्चालन गर्दैै आएको छ । कोर्सको पहिलो समूहमा जनकपुर, मिथिला विहारी नगरपालिका र पिरारी चोकका १२ महिला र १३ पुरुष सहभागी छन्, जसमध्ये तीनजनाले मिथिला कला, आर्ट ग्यालरी र सिक्की कला जस्ता क्षेत्रमा योगदान पुर्याएका छन् । साथै पाँचजना थोक बजार, अचार, विद्युतीय सेवा, गद्दा उत्पादन र अनलाइन व्यवसायमा केन्द्रित छन् भने दुईजनाले खुद्रा व्यापार, एकजनाले जैविक ताजा फलखेतीमार्फत उद्यम शुरू गरिसकेका छन् ।

तीनमहीने सर्टिफिकेट कोर्सअन्तर्गत १४ दिन ‘एक्सन–बेस्ड’ तालीम प्रदान गरिने बैंकले बताएको छ । उक्त तालीममा सहभागीले आफ्नो उत्पादनको प्रवर्द्धन, बजारीकरणलगायत विषयमा प्रशिक्षण लिनेछन् । कोर्समा क्षेत्रीय तथा राष्ट्रिय स्तरमा अनुभवप्राप्त उद्यमी तथा प्रशिक्षकसँग अनुभव आदानप्रदान र स्थलगत भ्रमण पनि समावेश गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।