काठमाडौं। नबिल बैंकले तीन वर्षअघि शुरू गरेको ‘नबिल स्कूल अफ सोसियल आन्ट्रप्रेनरशिप (नबिल एसएसई) कार्यक्रम’बाट १ हजार २०० जनाले रोजगारी पाएका छन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलता विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्यसहित नोभेम्बर २६, २०२१ मा नबिल एसएसई शुरू गरिएकोे बताइएको छ । हालसम्म नबिल एसएसई कार्यक्रमबाट ८२० जनाभन्दा बढी व्यक्तिले उद्यमशीलतासम्बन्धी प्रशिक्षण प्राप्त गरेको र ११७ नयाँ उद्यमको समेत स्थापना भएको जानकारी बैंकले दिएको छ ।
कार्यक्रम शुरू भएको तीन वर्ष पूरा भएको अवसरमा बैंकले मङ्सिर ११ गते वार्षिक उत्सव समेत मनाउन लागेको बताइएको छ । बैंकले नबिल एसएसई कार्यक्रमअन्तर्गत नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रमबाट देशमै उद्यम गरी रोजगारी सृजना गर्न सफल भएको प्रति बैंकले गर्व गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले तीन वर्षको छोटो अवधिमै सयौं संख्यामा युवालाई रोजगारी दिन सफल भएकोमा खुशी व्यक्त गरे । दैनिक हजारौंको संख्यामा युवा रोजगारीका लागि विदेशिने गरेको अवस्थामा यस कार्यक्रमले केही युवालाई देशमै रोजगारी सृजना गर्न सफल भएकाले यसबाट उद्यमशीलता प्रवर्द्धनसँगै देशको अर्थतन्त्रमा पनि महत्त्वपूर्ण योगदान पुग्ने विश्वास ढुंगानाले व्यक्त गरे ।
स्थापनाकालदेखि अहिलेसम्म आइपुग्दा नबिल एसएसईले देशभरका १२ शैक्षिक संस्थासँग सहकार्य गर्दै आएको जानकारी बैंकले दिएको छ । त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियू)सँगको सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रमले सामाजिक उद्यमशीलतामा रूचि राख्नेका लागि उत्कृष्ट अनुभव प्रदान गर्दै आएको बैंकको भनाइ छ । यस कार्यक्रमका सहभागीले ६ महीनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालीम प्राप्त गर्ने बताइएको छ, जसमा एक वर्षसम्मको मेन्टरसिप पनि उपलब्ध गराइन्छ । यस कार्यक्रमले हालसम्म ५६ सामाजिक उद्यमीलाई तालीम दिइसकेको बताइएको छ, जसमा पहिलो तीन समूहबाट ४५ उद्यम स्थापना गर्न बैंक सफल बनेको छ । हालै शुरू भएको चौथो ब्याचमा २० जना नयाँ उद्यमीले आफ्नो उद्यमशीलता यात्रा प्रारम्भ गरेका बैंकले प्रष्ट पारेको छ ।
नबिल एसएसई सर्टिफिकेट कोर्सले तीन महीनाको अवधिमा प्रशिक्षार्थीलाई सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान तथा शीप प्रदान गर्दै आएको छ । यो कोर्सले दिगो सामाजिक परिवर्तनका लागि महत्त्वपूर्ण आधार तयार गर्न सफल भएको विश्वास बैंकको छ ।
नबिल एसएसईले साना उद्यमीलाई सशक्त बनाउने प्रयासलाई प्राथमिकता दिएको बताइएको छ । नबिल एसएसईले चौथो वर्षमा प्रवेश गर्दा, यसले सामाजिक उद्यमशीलता थप विस्तार गर्दै नेपालका समुदायको जीवनस्तर उत्थानमा निरन्तर योगदान दिने लक्ष्य लिएको बताइएको छ । यो कार्यक्रम सात प्रदेशमा र त्रिभुवन विश्वविद्यालयसहित १२ कलेजमा सञ्चालन भइरहेको जानकारी बैंकले दिएको छ ।