काठमाडौं । एक दशकभन्दा बढी समयदेखि शेयरधनीहरूलाई निरन्तर लाभांश वितरण गर्दै आएको सानिमा बैंक लिमिटेडको लाभांश दर घट्दो क्रममा देखिएको छ । यस वर्ष कम्पनीले ११ वर्षपछिकै कम लाभांश वितरण गर्न लागेको हो । यस अघि आर्थिक वर्ष ६७/६८ मा ६ दशमलव ५ प्रतिशत र ०६८/६९ मा ५ दशमलव ५ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो । त्यसपछिका वर्ष कम्पनीले १० प्रतिशतभन्दा बढीनै लाभांश वितरण गर्दै आएको थियो । गत वर्ष कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयाजनका लागि ५ दशमलव ७ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा ७१ करोड ४८ लाख २२ हजार रुपैयाँ बराबर कर समेत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । यस अघिको ११ वर्षको तथ्यांकलाई हेर्दा कम्पनीले अधिकतम २१ दशमलव शून्य ५ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ । आर्थिक वर्ष ०७१/७२ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयाजनका लागि १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट पनि १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव शून्य ५ प्रतिशत गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
कम्पनीको लाभांश दर कम हुदैं गएको प्रति शेयरधनीहरू चिन्तित हुन थालेका छन् । लगानीकर्ता डम्बरु बल्लब घिमिरेले पछिल्ला वर्षहरूमा यस कम्पनीको लाभांश दर घट्दो क्रममा रहेकामा चिन्ति बनेको बताउँछन् । शुरूवाती समयदेखि यस कम्पनीको शेयर सदस्यका रुपमा रहेका घिमिरेले विगतका वर्षहरूमा आम लगानीकर्तालाई कम्पनीले खुसी बनाएको स्मरण गर्दै भोलीका दिनमा पक्कै पहिलाकै खुसी फर्काउनेमा आशावादी देखिएका छन् ।
गत वर्ष कतिपय वाणिज्य बैंकहरूले लाभांशनै वितरण नगरेको अवस्थामा यस कम्पनीले १४ प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको पललाई पनि घिमिरेले सम्भिएका छन् । यस कम्पनीको धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य ३४२ रुपैयाँ ३० पैसा छ । दशै अघि असोज २३ गते २२ गते यस वर्षको लाभांश प्रस्ताव गरेको कम्पनीले वार्षिक साधारण सभाको मिति तय गर्न बाँकी छ ।