काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत शेयरमा लगानी असोजको तुलनामा कात्तिकमा घटाएको छ । असोज मसान्तमा फण्डको सूचीकृत शेयरमा लगानी रू.५९ करोड ९२ लाख रहेकोमा कात्तिक मसान्तमा घटाएर रू. ३३ करोड ७४ लाखमा झारेको हो ।
फण्डको खुद नाफा नाफा पनि असोजको तुलनामा कात्तिकमा ६ दशमलव ४४ प्रतिशत घटेको छ । असोज मसान्तमा फण्डले रू. २३ करोड ४२ लाख नाफा कमाएकोमा कात्तिक मसान्तमा रू. २१ करोड ९१ लाखमा सिमित भएको छ । कात्तिक महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । असोज मसान्तमा फण्डको कुल खर्च रू. ७६ लाख ८४ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. १ करोड ५ लाख भन्दा बढी पुगेको छ ।
त्यस्तै फण्डको कुल आम्दानी असोज मसान्तमा रू. २४ करोड १९ लाख रहेकोमा कात्तिक मसान्तमा रू.२२ करोड ९६ लाखमा सिमित भएको छ । नाफासँगै प्रतिइकाई खुद सम्पत्ति मूल्य न्याभ पनि असोजको तुलनामा कात्तिकमा घटेको छ । यस फण्डको न्याभ असोज मसान्तमा ११ रुपैयाँ ८५ पैसा रहेकोमा कात्तिक मसान्तमा ११ रुपैयाँ ७४ पैसामा झरेको छ ।