काठमाडौं । न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२५ अन्तर्गत सातओटै प्रदेशका एक–एक जना महिला उद्यमीलाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ अवार्ड प्रदान गरिएको छ ।
अवार्ड प्राप्त गर्ने सबैले जनही ५१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् । अवार्ड स्वरूप प्रदान गरिने सम्पूर्ण रकम नेपाल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले व्यक्तिगत रूपमा योगदान गरेकी हुन् ।
न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको कार्यक्रममा कोशी प्रदेशबाट इलामस्थित ग्रिनसिटी इलाम ललिपप उद्योगकी दीपा गुरुङलाई उक्त अवार्ड प्रदान गरिएको छ । उनले २०७० सालदेखि नै ललिपप, पुष्टकारी र बम्बैसन लगायत खाद्यवस्तु उत्पादन गर्दै आएकी छन् । उनको उद्योगमा ३ पुरुष र ३७ महिला गरी ४० जनाले रोजगारी पाएका छन् ।
यस्तै, मधेश प्रदेशबाट उक्त अवार्ड प्राप्त गर्नेमा पर्सा जिल्लाको वीरगन्जस्थित मध्य नेपाल प्रेसकी कविता खड्का रहेकी छन् । एमबीएसम्मको अध्ययन पूरा गरेकी उनले २०७५ देखि नै विभिन्न सरकारी कार्यालय, अस्पताल, विद्यालय, स्थानीय निकायमा चाहिने सम्पूर्ण कागजको छपाइसम्बन्धी काम गर्दै आएकी छन् । उनको उद्योगमा हाल १६ जना पुरुष र १९ महिला गरी ३५ जनाले रोजगारी पाएका छन् ।
बाग्मती प्रदेशबाट नुवाकोटको विदुर नगरपालिकास्थित अमात्य स्टोर्सकी गीता अमात्यले उक्त अवार्ड प्राप्त गरेकी छन् । स्नातक (बीकम) सम्मको अध्ययन पूरा गरेकी उनले २०६५ सालदेखि अमात्य स्टोर सञ्चालनमा ल्याइ विभिन्न दैनिक उपभोग्य खाद्यवस्तु उत्पादन गर्दै आएकी छन् । हाल उनको उद्योगमा ५ जना पुरुष र तीन जना महिलाले रोजगारी पाएका छन् ।
यसैगरी, गण्डकीबाट पोखरा महानगरपालिकास्थित रक्षा चपाइँ स्टोरकी रजनी शर्मा चपाइँलाई उक्त अवार्ड प्रदान गरिएको छ । उनले २०६९ सालदेखि ढाकाको तयारी पोशाक उत्पादन गर्दै आएकी छन् । हाल उनको उद्योगमा १८ जना महिलाले रोजगारी पाएका छन् ।
लुम्बिनीबाट दाङको घोराही उपमहानगरस्थित प्रेम नि.श अल्लो धागो तथा तयारी पोशाक उद्योगकी प्रेम कुमारी पुनले उक्त अवार्ड पाएकी छन् । उनले २०६९ सालदेखि अल्लोको प्रयोगबाट सल, कोट, झोला, जुत्ता, वालेटलगायत तयारी वस्तु उत्पादन गर्दै आएकी छन् । यतिबेला उनको उद्योगमा ५ जना पुरुष र २० जना महिलासहित २५ जनाले रोजगारी पाएका छन् ।
कर्णाली प्रदेशबाट सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली एग्रो इन्डस्ट्रीकी कलसा देवी चौलागाईंले उक्त अवार्ड प्राप्त गरेकी छन् । २०७५ सालमा उद्योग स्थापना गरेर काम शुरु गरेकी उनले विभिन्न खाद्यवस्तुको कुटानी, पिसानी, प्याकेजिङलगायत खाद्यान्न प्रसोधन तथा लेबलिङ गर्दै आएकी छन् । हाल उनको उद्योगमा ३ जना पुरुष र ३ जना महिलाले रोजगारी पाएका छन् ।
त्यसैगरी सूदूरपश्चिम प्रदेशबाट अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकास्थित रुइन चप्पल उद्योगकी इन्दिरा रेग्मीले पनि इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयरको अवार्ड प्राप्त गरेकी छन् । स्नातक सम्मको अध्ययन पूरा गरेकी उनले २०७७ सालदेखि नै चप्पल उत्पादन गरी अछामसहित दैलेख, कालीकोट र बाँके जिल्लाको नेपालगन्जसम्म आपूर्ति गर्दै आएकी छन् । हाल उनको उद्योगमा १५ जनाले रोजगारी पाएका छन्, जसमध्ये ९ जना महिला छन् ।