चितवन। रत्ननगर नगरपालिका–१ स्थित सौराहा चोकमा गाँजाका बोटको रेसाबाट बनेका सामग्रीको पसल सञ्चालनमा आएको छ । स्थानीय तथा सौराहामा आउने पर्यटकलाई लक्षित गर्दै पसल सञ्चालनमा ल्याइएको हो ।
पसलमा गाँजाका बोटको रेसाबाट बनाइएका दैनिक जीवनमा प्रयोग हुने २०० प्रकारका सामग्री विक्रीका लागि राखिएको सञ्चालक रायमाझीले जानकारी दिए । स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पुर्याउने उद्देश्य रहेको उनको भनाइ छ । २० लाख रुपैयाँ लगानी रहेको पसलमा गाँजाका बोटको रेसाबाट बनेका कपडा, जुत्ता, झोला, साबुन, मोजा, टोपी, तेल तथा सजावटका सामग्री विक्रीका लागि राखिएको बताइएको छ ।
नेपाल फर्म व्यवसायी संघका अध्यक्ष तथा नेपाल गाँजा वैधानिक महाअभियानका संस्थापक सदस्य ऋगेन्द्र गिरीले गाँजाको गलत प्रयोग रोकेर आयआर्जनको माध्यमको रूपमा विकास गर्न सकिने भएकाले यसतर्फ सरकारको ध्यान जानु आवश्यक रहेको बताए ।