चितवन । सौराहामा यही माघ २९ गतेदेखि सौराहा फुड फेष्टिवल हुने भएको छ । सुस्ताएको पर्यटनलाई उकास्ने उद्देश्यसहित रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान), सौराहाको आयोजनामा सौराहा फुड फेष्टिवलको १९औं संस्करण हुन लागेको हो । आयोजकले मंगलवार सौराहामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ । प्रणय दिवसको अवसर पारेर हरेक वर्ष सौराहामा फुड फेष्टिवल हुँदै आएको छ ।
पत्रकार सम्मेलनमा
रेबानका अध्यक्ष ध्रुव गिरीले चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित फेष्टिवलको आयोजना गरिएको जानकारी दिए । सौराहास्थित पर्यटक बसपार्क जाने बाटोको उत्तरतर्फको खाली ठाउँमा फेष्टिवल गर्न लागिएको छ । फेष्टिवलको नारा ‘प्राकृतिक सौन्दर्य, चितवन सौराहाको विशेषता’ रहेको छ ।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासंस्कृति/वेशभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रूपमा सौराहालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेष्टिवल आयोजना गरिएको अध्यक्ष गिरीले बताए ।
फेष्टिवलका कारण सौराहामा पर्यटक आगमन बढ्ने व्यवसायीको अपेक्षा छ । फागुन ३ गतेसम्म चल्ने फेष्टिवलमा बहुल जातजातिको झाँकीका साथै सिन्धुलीको मगर बाजाको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर/वेटे्रसबीच प्रतियोगिता, तान डोरी प्रतियोगिता, प्रथम रेबान कप महिला फुटबल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता हुने फेष्टिवलका संयोजक शम्भुप्रसाद मालीले जानकारी दिए ।
९० लाख खर्च हुने अनुमान गरिएको फेष्टिवल अवधिभर सौराहा क्षेत्रभित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ ।
फेष्टिवल अवलोकनका लागि सौराहामा दैनिक ५ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्रने रेबान सौराहाका महासचिव नवीन नेपालले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेष्टिवलको सहआयोजकमा रेबान महिला समूह, क्षेत्रीय होटल संघ सौराहा र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था छन् । कार्यक्रममा सौराहा पर्यटन विकास समिति रत्ननगरका अध्यक्ष भेषराज दुवाडी, क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी, फेष्टिवलका आर्थिक उपसमितिका संयोजक सुवासचन्द्र गौतम लगायतले मन्तव्य राखेका थिए । फेष्टिवल अवधिभर सौराहाका व्यवसायीले आवास र खानामा १० प्रतिशत छूट सुविधा समेत सार्वजनिक गरेका छन् ।