काठमाडौं । आफ्नो आँखैअगाडि सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा हुरहुरी आगो लागेको देखेकी काँडाघारी, खहरेकी ८६ वर्षीया मनोधरी मैनालीलाई त्यसयता घरमा बस्न डर लाग्छ । अरू दिन छतमा बसेर विमानस्थलमा जहाज उडेको हेरेर रमाउने मैनाली साउन ९ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै जहाज दुर्घटना भएको देखेपछि त्यतातिर आँखै लगाउन मन नलाग्ने बताउँछिन् । ‘आफू त धेरै नबाचुँला तर विमानस्थलनजिक भएकाले छोरा/नातिको हरेक दिन डरमर्दो हुने भयो,’ मैनालीले भनिन्, ‘एयरपोर्टभन्दा टाढा घर बनाउनुपर्ने रहेछ ।’
उक्त दुर्घटनामा जहाजमा सवार १९ जनामध्ये १८ जनाले ज्यान गुमाएका थिए । क्याप्टेन भने जहाजबाट उछिट्टिएकाले घाइतेमात्र भए । दुर्घटनाग्रस्त विमान पार्किङ गरिराखेको कन्टेनरमा नठोक्किएको भए बस्तीमा पुगेर घरमै ठोक्किन सक्ने सम्भावना रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।
यस्तै सम्भावना देखेका काँडाघारीस्थित मेडिकल चोकका गोविन्द पाण्डे आफ्नी नातिनीलाई विमानस्थल नजिकको विद्यालयमा पठाउन डराइरहेका छन् । ‘घटनापछि नातिनीलाई स्कूल नै परिवर्तन गराउने सोचमा पुगेको छु,’ उनले आर्थिक अभियानसँग भने, ‘मैले आफ्नो चिन्ता प्रिन्सिपललाई पनि सुनाएको छु र स्कूल एयरपोर्टभन्दा टाढा सार्न सुझाव दिएको छु ।’
कागेश्वरी मनोहरा नगरपालिका, वडा नम्बर ९, खहरेका व्यवसायी अजय श्रेष्ठको पेट्रोल पम्प त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलनजिकै छ । ‘यो घटनाले त्रस्त बनाएको छ,’ उनले आर्थिक अभियानसँग भने, ‘१२ वर्षदेखि गर्दै आएको व्यवसाय तत्काल अन्यत्र सार्न सकिने अवस्था पनि छैन ।’
पछिल्लो १२ वर्षमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्र र नजिकै गरी जहाज दुर्घटनाका तीनओटा ठूला घटना भए । २०६९ असोजमा सीता एयरको जहाज विमानस्थलनजिकै दुर्घटना भयो । त्यसमा १९ जनाको निधन भएको थियो । विमानस्थलभित्रै २०७४ फागुनमा यूएस बंगलाको जहाज दुर्घटनामा ५१ जनाको ज्यान गयो । र, २०८१ साउनमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधन भएको छ ।
अन्तरराष्ट्रिय मान्यताअनुसार विमानस्थल बस्तीदेखि टाढा हुनुपर्छ । विकसित देशमा आसपास बढ्दो बस्तीका कारण विमानस्थल नै स्थानान्तरण गरेका उदाहरण पनि छन् ।
हङकङले विमानस्थल आसपास अग्ला घरहरू बनेर विमान उडान/अवतरणमा अप्ठ्यारो भएपछि सन् १९९८ मा अन्तररािष्ट्रय विमानस्थल नै सार्यो । पहिले काइटाक भन्ने स्थानमा रहको अन्तरराष्ट्रिय विमानस्थल पछि समुद्रले घेरिएको टापु चेप ल्याक कोमा सारेको हो । जापानमा कन्साई अन्तरराष्ट्रिय विमानस्थल समुद्रभित्र बनाइएको छ ।
‘मानव बस्तीनजिक विमानस्थल रहँदा बस्तीमा जहाज ठोकिन सक्ने भयका अतिरिक्त ध्वनि प्रदूषण हुने भएकाले विकसित देशमा विमानस्थलहरू बस्तीभन्दा टाढा बनाउने चलन छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्तासमेत रहेका उपमहानिर्देशक हंसराज पाण्डेयले भने, ‘अन्तरराष्ट्रिय स्तरमा जहाज उडान/अवतरणका क्रममा आउने आवाजले वस्तीका मानिसलाई तर्साउनु हुँदैन भन्ने पहिलो शर्त हो, जसले गर्दा विमानस्थल बस्तीभन्दा टाढा हुनुपर्छ भन्ने मान्यता छ । दोस्रोमा विमानस्थलको आफ्नै मापदण्ड हुन्छ ।’
बस्ती हुँदाबित्तिकै मानवनिर्मित संरचना बढ्ने हुन्छन् । त्यस्ता संरचना विमानस्थलबाट कति टाढा हुने भन्ने विषय ‘अब्स्ट्याकल लिमिटेशन सरफेस (ओएलएस)’ को मान्यताअनुसार हुने उनले बताए । ओएलएस विमानस्थल वरिपरिको काल्पनिक हवाई क्षेत्रको सतह हो, जसले सहज रूपमा जहाज अवतरण गर्न बाधा गर्ने तत्त्वको उचाइ र ठाउँ बताउँछ । यो निर्धारण भएपछि जहाज चलाउँदा सुरक्षा र सञ्चालन प्रभावकारिता बढ्छ ।
‘हिजोको हिसाबले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ठीक थियो तर अहिले बस्ती बढ्दै जाँदा विमानस्थल बस्तीको बीचमा रहन पुग्यो,’ पाण्डेयले भने, ‘अब ओएलएसको मापदण्ड पालना गराउन चुनौती छ ।’
ओएलएसअनुसार उचाइको मापदण्ड पालना गर्नैपर्छ । यसमा कुनै सम्झौता नहुने प्राधिकरणको भनाइ छ । तर, सतहमा बन्ने घर/भवनको कुरामा ४ तलासम्मको घरले विमान अवतरणमा असर नगरे पनि त्योभन्दा बढी उचाइ हुँदा समस्या हुने पाण्डेयले बताए ।
‘हाम्रो नियम तथा अन्तरराष्ट्रिय मान्यताले विमानस्थल वरपरको ४ किलोमीटर क्षेत्र संवेदनशील मान्छ र यस क्षेत्रभित्र हुने दुर्घटना सम्बद्ध विमानस्थलकै उद्धार क्षेत्रभित्र पर्छ,’ पाण्डेयले भने, ‘यो ४ किलोमीटरभित्र जहाँ पनि दुर्घटना हुन सक्छ भन्ने आकलन हुन्छ । र, त्यसभित्र पनि उडान र अवतरणका मार्ग बढी जोखिमपूर्ण मानिन्छ ।’
प्राधिकरणका अनुसार जहाजको उडान र अवतरणको समय अत्यन्त जोखिमपूर्ण मानिन्छ । साउन ९ गते सौर्य एयरलाइन्सको विमान उड्नेबित्तिकै दुर्घटनामा परेको थियो । यूएस बंगलाको जहाज अवतरणको क्रममा दुर्घटनामा परेको थियो ।
‘यो ४ किलोमीटर र उडान/अवतरणका मार्गमा हुने दुर्घटना र तत्काल उद्धारका लागि विमानस्थल कार्यालयले पहिला नै योजना बनाइसकेको हुन्छ । यो क्षेत्रभित्र दुर्घटना हुनासाथ उद्धार कार्यको जिम्मा विमानस्थलले लिन्छ,’ पाण्डेयले भने ‘त्योभन्दा बाहिरको जिम्मा राज्यका अन्य सम्बद्ध निकायले लिनुपर्ने नीति रहेको छ ।’
नागरिक उड्डयन नियमावली, २०५८ मा विमानस्थल क्षेत्रको ३ किलोमीटर वरपर कसैले पनि खुला रूपमा वधशाला स्थापना गर्न नहुने र वातावरणलाई दूषित पार्ने किसिमले खुला रूपमा फोहोरमैला थुपार्न र फ्याँक्न नपाइने व्यवस्था छ । विमानस्थल नजिक वधशालाहरू हुँदा चरा उड्ने र चरा विमानमा ठोक्किई दुर्घटना हुन सक्ने सम्भावना रहन्छ ।
यो ४ किलोमीटर क्षेत्रमा जहाजहरू घुमेर अनुकूल बिन्दुबाट उडान/अवतरण गर्छन् । २०७९ माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना पनि घुमेर जाँदा भएको पाण्डेयको भनाइ छ ।
त्यसैले त्रिभुवन विमानस्थलमा उडान/अतवरण गर्दा लिने बाटो पर्ने भएकोले बौद्ध, इमाडोललगायत क्षेत्र अति संवेदनशील मानिन्छन् । तर, यहाँ तीव्र गतिमा वस्ती विकास भइसकेको छ । सरकारले जोखिमपूर्ण ठाउँ खाली गराउने हो वा एयरपोर्ट नै सुरक्षित स्थानमा सार्ने हो भन्ने विषयमा निर्णय गर्न आवश्यक रहेको काँडाघारीका पाण्डे बताउँछन् । प्राधिकरणका प्रवक्ता पाण्डेयका अनुसार सौर्यको जहाज पनि सीधा उडान भएको भए बौद्धको बस्तीमा बजारिने थियो । तर, उक्त जहाजले कोटेश्वरतर्फबाट उडान गर्ने क्रममा विमानस्थलभित्रै कन्टेनरमा ठोक्किँदा बस्तीमा पुग्न पाएन,’ उनले भने, ‘गोठाटार क्षेत्र ठूलो दुर्घटनाबाट जोगियो ।’