काठमाडौं । विशाल बजार कम्पनी सर्वाधिक बजार पूँजीकरण भएको कम्पनी बनेको छ । बिहीवार यस कम्पनीको कुल पूँजीकरण (कुल शेयरको मूल्य) रू. २ खर्ब १८ अर्ब ३४ करोड ४५ लाख पुगेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.५ हजार ४४५ पुगेको छ ।
सरकारसँग भएको कम्पनीको संस्थापक शेयर बजारमा सूचीकरण भएको छ । ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता सेयर सूचीकृत भएसँगै कम्पनीको आकार सबैभन्दा ठूलो भएको हो ।
संस्थापक शेयर सूचीकृत भएपछि कम्पनीको शेयर मूल्य बुधवार र बिहीवार सकारात्मक सर्किट लेबलमा वृद्धि भएको छ ।
पूँजीकरणका आधारमा सबैभन्दा ठूलो भएपछि अब यस कम्पनीको मूल्यले व्यापार समूहलाई पूर्ण रुपमा प्रभाव पार्नेछ भने समग्र बजारलाई पनि तलमाथि बनाउन सक्ने क्षमता राख्दछ ।
नेप्सेमा विशाल बजार कम्पनीको कुल ४ करोड १ लाख कित्ता शेयर सूचीकृत भएको छ । कुल सूचीकृत शेयरमध्ये सर्वसाधारण हिस्सा १ दशलमव ०४ प्रतिशत अर्थात ४ लाख १८ हजार ९६७ कित्ता र संस्थापक समूहको हिस्सा ९८ दशमलव ९६ प्रतिशत अर्थात ३ करोड ९६ लाख ८१ हजार ३३ कित्ता शेयर सूचीकृत रहेको छ ।
यस भन्दा अगाडि ठुलो पूँजीकरण भएको कम्पनी नेपाल टेलिकमको पूँजीकरण रू.१ खर्ब ७६ अर्ब ७६ करोड छ ।