कुनै बेला राजा वीरेन्द्र नेपाललाई शान्तिक्षेत्र बनाउने भनेर खुब लाग्या थे । बल्ल अहिले आएर पो नेपाल शान्तिक्षेत्रमा परिणत भएकोे छ । अहिले यहाँ सबै ठाउँमा शान्ति नै शान्ति छ । क्रान्तिको त कुरै छैन, हिंसा झन् परको कुरा । यो शान्तिक्षेत्रमा अहिले सबै कुरा सन्तोषजनक रूपमै चलिरहेका छन् । जनता खुशी छन्, सबैसँग रोजगारी छ, स्वदेशमा नभए विदेशमा ।
कारखानाहरूमा उत्पादन राम्रैसँग भइरहेको छ । केही नभए पनि चिया पसलमा बसेर गफ गर्ने व्यापार र चर्चा पकाउने उद्योग खुब चलिरहेको छ । बजारमा गजबको रौनक छ । मानिशहरू सुनलाई लसुनजस्तै किनिरहेका छन् । तरकारीको त के कुरा गर्नु, मूल्य सोध्नै नपर्ने । किसानहरूको आय बढिरहेको छ । कर त ऐच्छिक भनिए पनि राम्रै संकलन भैरहेको छ । असन्तुष्टि, विरोध कतै छैन । बजेट भाषण सुनौं, हरेक वर्ष करकै शासनमा केन्द्रित छ । करको दर स्वीडेनको सरह ४० प्रतिशत पुगेको छ, सेवाको गुणस्तर पनि सुडानको स्तरमा छ ।
महिलाहरू सुरक्षित छन् । बलात्कार भन्ने शब्द नै शब्दकोषबाट हटिसकेको छ । जनताकोे सरकारसँग कुनै गुनासो छैन । जसले गुनासो गर्न खोज्छ, त्यसले गुनासो भ्रुणमै मारिदिन्छ । जता गए पनि ‘हजुर–हजुर’का नाराले गजुर लगाएकै छ । शान्तिक्षेत्रबाट जनताले योभन्दा बढी अरू के आशा गर्ने हो र ?
शान्ति र स्वतन्त्रताको परिभाषा नयाँ बनेको छ । एउटा कुरा बुझ्नुहोला कि शान्ति अभ्यास गर्ने कुरा होइन, अनुभव गर्ने कुरा हो । यो विकासको एउटा नयाँ अवधारणा हो । भुटानीहरूले ल्याएको ‘हेप्पिनेश इण्डेक्स’ झैं । त्यसैले शान्ति बाहेक अरू केही अनुभव गर्न तपाईंलाई न त आवश्यकता छ, न अनुमति नै । के तपाईं स्वतन्त्र छन् ? छन् भने यसको अनुभव गर्नुहोस् । तर, अनुभव गर्न सबैभन्दा राम्रो उपाय मौन रहनु हो ।
विक्रम–बेतालको कथा त थाहा छ नि ? राजाले मुख खोलेपछि बेताल उडेकोे । त्यसैगरी, जसले बोल्छ, त्यसले अनुभव गर्न सक्दैन । जसले अनुभव गर्दैन, उसको स्वतन्त्रता समाप्त हुन्छ । त्यसैले मन शान्त राख्नुहोस् ।
जसले जत्ति नै महँगीको कुरा गरे पनि, खाद्यान्न, तरकारीका भाउ बताए पनि, अर्थतन्त्रका आँकडाहरू सुनाएर उक्साए पनि, तपाईं विचलित हुनुभएन । कुरा यत्ति हो । शान्त भएर बस्नुहोस् । बजार भाउमा न बहकिनुस् । गीताको सन्देश मनन गरिरहनुस् (लाभ होस् कि हानि, जय होस् कि पराजय, समान अनुभूति राख्न सक्नु नै सच्चा ज्ञान हो ।) यसरी स्वतन्त्रताको आनन्द लिने बेलामा कुनै पनि प्रकारको विचलन देशद्रोह मानिन्छ ।
सरकार त चौकीदार न हो । सरकारले त के गर्छ र ? आखिरमा सबै काम गर्ने त जनता नै हुन् । जनताले गरेका काममा सरकारलाई दोष किन ? ‘सरकार त जनताको सेवक’ हो, यो सुन्दैमा पनि कत्ति रमाइलो लाग्छ, हैन ? अझ यो अनुभव गर्नुहोस् त, झन् राम्रो लाग्छ । सेवक भएको सरकारले तपाईंलाई स्वर्गकै अनुभूति दिलाउँछ । तपाईं मालिक, सरकार सेवक । अनि त के चाहियो र ? चुपचाप बस्नुस्, आनन्द लिनुस् । सरकार जनताको सेवक भएपछि कस्तो सेवा लिने भन्ने विषय जनताकै क्षमतामा भर पर्ने विषय हो ।
तर केही मानिशहरू रोजगारी वा व्यवसायको बारेमा फजुल कुरा गरिरहन्छन् । यस्ता गफले जनतालाई आनन्दपूर्ण जीवन अनुभव गर्न दिँदैन । तपाईं भोट दिनुहुन्छ, सरकार बनाउनुहुन्छ । यो भनेको तपाईं आफै देशको मालिक छन् । मालिकलाई खानाको चिन्ता, औषधिको चिन्ता ? त्यो त सरकारको जिम्मा हो नि ।
तपाईंसँग घरमा टिभी त पक्कैछ, रेडियो पनि होला । सोफामा मज्जासँग बसेर खाँदै न्यूज च्यानलहरू हेर्नुहोस्, रेडियोमा मन पर्ने गीत सुन्नुहोस् । सोच्नुहोस्, अनुभव गर्नुहोस् । मजा आइरहेको छ नि ? कसैलाई किन दोष दिनु, किन कुँढिनु ? दोष दिएर, सरापेर बरु तपाईंकै प्रेसर, सुगर बढ्ला, तर सरकार, दलहरूलाई केही फरक पर्नेवाला छैन, उनीहरूको केही बिग्रनेवाला पनि छैन ।
हेर्नुस् हास्य नै जीवनको मूल मन्त्र हो । त्यसैले चिन्ता छाड्नुहोस् र सुखको अनुभव गर्नुहोस् । हास्य क्लबहरूका बारेमा त सुन्नुभएकै होला । फटाफट त्यसको सदस्यता लिइहाल्नुहोस् । त्यहाँ मानिशहरू विनाकारण पनि खुब हाँसिरहन्छन् । नेताहरूले पनि यही काम थालेका छन् । संसद् हेर्नुस्, प्रधानमन्त्रीको भाषण सुन्नुस्, कविता जस्तै लाग्छ । ठट्टा गर्दै नेता आकाशै गुञ्जाउँछन् । तपाईं पनि हाँस्ने गर्नुहोस् । समाचार पढेर हाँस्नुहोस्, पेट्रोल भर्दा हाँस्नुहोस्, दाल पातलो हुँदा हाँस्नुहोस् । यसरी डाक्टर र अक्सिजनविना मर्नुभयो भने पनि हाँस्न सक्नुपर्छ ।
दर्शन शास्त्रको मद्दत लिनुहोस् । सोच्नुहोस् त, हामीले के लिएर आएका थियौं, अनि के लिएर जान्छौं र ? यो संसार त एउटा धर्मशाला न हो । यहाँ एक न एक दिन सबैले जानैपर्छ । यहाँ कोही अमर छैनन् । जब सबै जानैपर्छ भने अनावश्यक होहल्ला
किन ? सोच्नुहोस् त, धनीको कति महँगो मृत्यु हुन्छ । तर गरीब मानिसले त कत्ति सस्तो र सजिलो मृत्यु वरण गर्न पाउँछन् । सरकार त गरीबहरूको शुभचिन्तक हो नि । सरकार शुभचिन्तक नभएको भए र उसले आफ्ना जिम्मेवारी पूरा नगरेको भए गरीबहरूका रक्षक भनेर लागेका राता झण्डावालाहरू कसरी दिनभरि त्यसै गफ गरेर वा तास खेलेर मात्र बसिरहन पाउँथे र ? गरीबका लागि त झन् यो देश पूर्ण रूपमा शान्तिक्षेत्र भएको छ ।
हो, यहाँ केही मानिसका गुनासा हुन सक्छन् कि समाजमा अपराध बढेको छ भनेर । तर अहिले त अपराधीहरूले आफ्ना पेशा बदलिसकेका छन् । उनीहरू राजनीतिमा पसेका छन्, लुट धन्दामा फसेका छन् । गुन्डाहरू समेत मन्त्री भनेर टिकटक बनाउँदै छन् । तस्करहरू दलतिर लस्कर लागिसकेका छन् । खराब भनिएकाहरू सबै नयाँ धन्दामा भागिसकेका छन् । त्यसैले त अचेल देशभर शान्ति नै शान्ति छ त ।
त्यसैले ससाना कुरामा कसैले चिन्ता लिनु आवश्यकै छैन । तपाईं आफ्नो घरमा सुरक्षित बस्न स्वतन्त्र छन् । तपाईंले सुन्नुभएकै होला नि ‘सन्तोषी सदा सुखी’ यही सन्देश हो । जनताले आफूलाई सधैं सन्तुष्ट राख्नुपर्छ । बरु अब यसका लागि कडा कानून नै बनाइनुपर्छ । जनताको सुख–सन्तोष नै सरकारको प्राथमिकता हो । त्यसैले आफू कठोरतापूर्वक भए पनि शान्त हुनुहोस् र सुखी रहनुहोस् है !