नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत प्रायः सबै कम्पनीहरूको शेयरको अंकित मूल्य १०० रुपैयाँ नै छ । म्युचुअल फण्डको भने अंकित मूल्य १० रुपैयाँ छ अंकित मूल्यलाई फेस भ्यालू पनि भनिन्छ तर नेप्सेमा केही कम्पनीहरू यस्ता पनि छन् जसको अंकित मूल्य १०० बाहेक अरु नै छ । जस्तै सोल्टी होटलको १० रुपैयाँ प्रतिकित्ता, हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको ५० रुपैयाँ प्रतिकित्ता अंकित मूल्य छ । केही समय अगाडि नेपाल लाइफले २० औं वार्षिक साधारणसभा मार्फत अंकित मूल्य १०० रुपैयाँबाट ५० रुपैयाँ कायम गर्ने निर्णय पारित गरी सम्बन्धित निकायबाट स्वीकृति पश्चात् लागू गर्ने निर्णय पनि गरेको थियो । प्रतिशेयर मूल्य कम गर्नुपर्ने कारणमा कम्पनीले साना लगानीकर्ताहरूको पहुँच वृद्धि गर्न जनाएको थियो । तर सो प्रस्ताव बीमा समितिबाट स्वीकृत भएन ।
अंकित मूल्य भनेको के हो ?
अंकित मूल्य भनेको कुनै वित्तीय साधनको (जस्तै शेयर, ऋणपत्र वा चेक) सतहमा लेखिएको वा उल्लेख गरिएको मूल्य हो । यसलाई 'नाममात्रको मूल्य' पनि भनिन्छ । कुनै कम्पनीको एक शेयरको अंकित मूल्य भनेको कम्पनीले आफ्नो शेयर जारी गर्दा तोकेको आधारभूत मूल्य हो । उदाहरणका लागि यदि कुनै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको शेयर जारी गर्छ भने यसको अर्थ हो कि लगानीकर्ताले प्रारम्भमा प्रतिशेयर १०० रुपैयाँ तिरेका थिए । समयसंगै उक्त शेयरको बजार मूल्य घट्न वा बढ्न सक्छ, तर यसको अंकित मूल्य परिवर्तन हुँदैन, जबसम्म कम्पनीले शेयर विभाजन गर्दैन । यद्यपि, बजारमा शेयरको मूल्य यसको अंकित मूल्यभन्दा धेरै फरक हुन सक्छ। बजारको माग र आपूर्तिको आधारमा वास्तविक व्यापारिक मूल्य तोकिन्छ । अंकित मूल्य र बजार मूल्यबीच प्रत्यक्ष सम्बन्ध हुँदैन । १ रुपैयाँ अंकित मूल्य भएको शेयरको बजार मूल्य १ हजार रुपैयाँ हुन सक्छ भने १० रुपैयाँ अंकित मूल्य भएको शेयरको मूल्य १०० रुपैयाँ मात्र हुन सक्छ । तर पनि कुनै उद्योगभित्रका कम्पनीहरूको तुलना गर्दा शेयरहरूको फरक फरक अंकित मूल्यले लगानीकर्तामा केही भ्रम पैदा गर्न सक्छ । यद्यपि अंकित मूल्यले कम्पनीको आर्थिक स्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर गर्दैन, यो वित्तीय सूचकहरूको गणनामा र केही निर्णयमा महत्त्वपूर्ण हुन सक्छ ।
अंकित मूल्यले लगानीकर्तालाई किन भ्रमित गर्न सक्छ ?
अंकित मूल्यले लगानीकर्तालाई विशेष गरी त्यतिखेर भ्रमित गर्छ, जब उनीहरूले एउटै उद्योगभित्रका विभिन्न कम्पनीहरूको तुलना गर्न खोज्छन् एउटै उद्योगका कम्पनीहरूको शेयरहरूको अंकित मूल्य फरक हुन सक्छ । उदाहरणका लागि, एक कम्पनीको अंकित मूल्य १०० रुपैयाँ हुन सक्छ भने, अर्को कम्पनीको अंकित मूल्य १० रुपैयाँ हुन सक्छ । यस्तो स्थितिमा वित्तीय सूचकहरू, जस्तै प्रतिशेयर आम्दानी वा लाभांशको तुलना गर्दा अंकित मूल्यले प्रभाव पार्न सक्छ । नेपालको परिप्रेक्ष्यमा नेप्सेमा सूचीकृत होटल तथा पर्यटन व्यवसाय समूहमा रहेको सोल्टी होटलको प्रतिशेवर अंकित मूल्य १० रुपैयाँ छ भने सो समूहको बाँकी सबै कम्पनीहरूको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ छ । त्यस्तै नेप्सेमा सूचीकृत लगानी समूहमा रहेका हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको ५० रुपैयाँ प्रतिकित्ता अंकित मूल्य छ भने सो समूहको बाँकी सबै कम्पनीहरूको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ छ ।
लगानीकर्तालाई भ्रमित गर्ने अर्को उदाहरणको लागि एउटा कम्पनीको अंकित मूल्य १० रुपैयाँ छ भने उसले ५० प्रतिशत लाभांश घोषणा गर्न सक्छ, जबकि अर्को कम्पनीको अंकित मूल्य १०० रुपैयाँ छ भने उसले ५ प्रतिशत लाभांश घोषणा गर्न सक्छ । तर, दुवै कम्पनीले ५ रुपैयाँ प्रतिशेयरको हिसाबले लाभांश दिएका हुन्छन् । अंकित मूल्य फरक भएकाले प्रतिशतको हिसाबले लाभांश फरक देखिन्छ, जसले लगानीकर्ताहरूमा भ्रम पैदा गर्न सक्छ। बुक भ्यालू (प्रतिशेयर नेटवर्थ) प्रतिशेयर अंकित मूल्यको आधारमा फरक हुन सक्छ । अंकित मूल्य फरक हुँदा दुई कम्पनीको बुक भ्यालुको तुलना गर्दा असमान देखिन सक्छ । अंकित मूल्यले एउटै उद्योगका विभिन्न कम्पनीहरूको तुलना गर्दा केही भ्रम सृजना गरे पनि यो कम्पनीको आर्थिक स्वास्थ्यको प्रत्यक्ष संकेत होइन सही तुलना गर्नका लागि अंकित मूल्यका भिन्नतालाई समायोजन गर्ने सूचकहरू जस्तै मूल्य आम्दानी अनुपात (पीई रेशियो, बजार मूल्यमा डिभिडेन्ड इन्ड र बजार पूंजीकरण जस्ता सूचकहरूमा ध्यान दिनुपर्छ ।
अंकित मूल्य लगानीकर्तालाई कति महत्त्वपूर्ण छ त ?
दीर्घकालीन लगानीकर्ताहरूका लागि अंकित मूल्य त्यति महत्त्वपूर्ण हुँदैन जति बजार मूल्य, मुनाफा वा आय वृद्धिका सूचकहरू हुन्छन् । तर, लाभांश, शेयर विभाजन वा कम्पनीको शेयर पूंजी संरचना बुझ्न चाहनेहरूका लागि अंकित मूल्य महत्त्वपूर्ण छ । जब कम्पनीहरूले लाभांशको घोषणा अंकित मूल्यको आधारमा गर्छन्, अंकित मूल्यको ज्ञानले लगानीकर्ताांसाई वास्तविक लाभांशको रकम बुझ्न मद्दत गर्छ । त्यस्तै, जब कम्पनीले स्टक विभाजन गर्छ वा बोनस शेयर जारी गर्छ अंकित मूल्यले लगानीकर्ताहरूलाई उनीहरूको होल्डिङ्समा भएको परिवर्तन बुझ्न सहयोग पुर्याउँछ ।
अंकित मूल्यले शेयर बजारमा लगानीकर्ताको प्रत्यक्ष फाइदामा असर नगरे पनि यसले वित्तीय विवरण, लाभांश नीति र शेयर विभाजन जस्ता महत्त्वपूर्ण विषयहरूमा जानकारी प्रदान गर्छ । तर, तर, लगानीकर्ताले आफ्नो लगानीको सम्भावित प्रतिफल मूल्याइन गर्न बजार मूल्य, मुनाफा र वृद्धिका सूचकहरूमा ध्यान दिनुपर्छ किनकि यी सूचकहरू नै वास्तविक रूपमा कम्पनीको प्रदर्शनलाई प्रतिबिम्बित गर्छन् ।
निष्कर्ष
आधुनिक शेयर बजारमा अंकित मूल्य धेरै हदसम्म अप्रासंगिक बनेको छ । आपूर्ति र माग कम्पनीको आम्दानी सम्भावना र लगानीकर्ताको धारणा अनुसार निर्धारण हुने शेयरको बजार मूल्य नै सबैभन्दा महत्त्वपूर्ण आजको दिनमा छ। बजार मूल्य दैनिक रूपमा उतारचढाव हुन्छ, जसले कम्पनीको वास्तविक आर्थिक स्थिति र प्रदर्शनलाई झल्काउँछ । आधुनिक लगानीकर्ताहरू प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात, डिभिडेन्ड इन्ड र बजार पूँजीकरण जस्ता सूचकहरूको आधारमा निर्णय गर्छन् । यी सूचकहरू बजार मूल्यसंग सम्बन्धित हुन्छन् र कम्पनीको मुनाफा वृद्धि र आर्थिक स्वास्थ्यको स्पष्ट तस्वीर दिन्छन् ।
सुझाव
धेरै अन्तरराष्ट्रिय बजारहरू, जस्तै- अमेरिका र युरोपमा कम्पनीहरूले शून्य वा नाममात्रको अंकित मूल्य तोक्छन्। सिंगापुरले सन् २००५ मै कम्पनी ऐनमा शेयरहरूको लागि अंकित मूल्यको अवधारणा खारेज गरेको थियो । यस्तो अभ्यासले शेयरको मूल्य निर्धारणमा बजार मूल्यलाई प्राथमिकता दिन्छ, जसले अंकित मूल्यलाई कम महत्त्वपूर्ण बनाएको छ । नेपालमा हालसम्म पनि लाभांश अंकित मूल्यको प्रतिशतका आधारमा घोषणा गरिन्छ । तर अब कम्पनीहरूले प्रतिशेयर लाभांश घोषणा गर्नुपर्ने बेला आइसकेको छ, त्यसको अंकित मूल्य जे भए पनि । यो परिवर्तनले लाभांश गणनामा अंकित मूल्यलाई अप्रासंगिक बनाउने छ ।
( आचार्य पूर्वबैंकर हुन्)