आफूले बेचेको शेयरको पैसा ब्रोकर कम्पनीले लामो समयसम्म भुक्तानी नगरेको, शेयर खरीद गरेको धेरै दिन बितिसक्दा पनि आफ्नो खातामा नआएको जस्ता गुनासो व्यापक भइरहेको सन्दर्भमा पछिल्लो समय लगानीकर्ता र ब्रोकरबीच राफसाफको विवाद प्रहरीसमक्षसमेत पुगेको छ । यसले शेयरबजारमा अनेकौं विकृति रहेको कुरा देखाएको छ । यस्ता विकृतिमा सुधार नगरे शेयरबजारप्रति अविश्वास झनै बढेर जाने देखिन्छ । हालको प्रक्रियाअनुसार कारोबारपछिको पहिलो कार्यदिन (टी प्लस वन) मा धितोपत्र किन्ने ग्राहकले रकम र बेच्ने ग्राहकले धितोपत्र ब्रोकरलाई हस्तान्तरण गर्छ, दोस्रो कार्यदिन (टी प्लस टु) मा किन्ने र बेच्ने जिम्मा पाएका ब्रोकरहरूले उक्त रकम र धितोपत्र सीडीएससीलाई हस्तान्तरण गर्छन् अनि सोही दिन सीडीएससीले कारोबार रुजु गरी धितोपत्र र रकमको राफसाफ गर्दै सम्बद्ध ब्रोकरलाई धितोपत्र हस्तान्तरण र रकम दाखिला गर्छ । तेस्रो कार्यदिन (टी प्लस थ्री) मा ब्रोकरले किनेको धितोपत्र सम्बद्ध ग्राहकको डिम्याट खातामा हस्तान्तरण गरेर सोही दिन टीएमएसले बिल तयार गरेपछि ग्राहकलाई रकम भुक्तानी शुरू हुन्छ । तर, व्यावहारिक रूपमा पहिलो दिनदेखि नै ढिलाइ हुन शुरू भएपछि राफसाफमा समय धेरै लाग्ने गरेको छ । केही दिन बढी लाग्नु सामान्य भए पनि हप्तौंसम्म पनि राफसाफ नभएको लगानीकर्ताको गुनासो छ ।
धितोपत्रको कारोबारको राफसाफ भने सीडीएस एन्ड क्लियरिङबाट ‘धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली, २०६९’ अनुसार हुन्छ । यसअनुसार राफसाफ नगर्नेलाई नियामकले कारबाही गर्नुपर्ने हुन्छ तर कारबाही नगर्दा केही ब्रोकर र लगानीकर्ता दुवैले बदमासी गरेको पाइन्छ । बजार ओरालो लाग्दा कारोबार घटी लगानीकर्ताले भुक्तानी गर्न नसकेको देखिन्छ भने ब्रोकरले पनि उधारो कारोबार गर्न दिएको देखिन्छ जुन कानूनअनुसार गलत हो । यसरी अघोषित रूपमा दुवै पक्षल बदमासी गर्ने र विवाद बोर्ड र प्रहरीसमक्षसमेत पुग्ने गरेको छ । नियामकको कमजोरीले नै यस्तो समस्या आएको देखिन्छ । यस्तो विकृति एकातिर छ भने अर्कोतिर लगानीकर्ताले बजारमा आफूलाई शेयर विश्लेषक भनी चिनाउने र आफूअनुकूल व्याख्या गरेर बजारको भविष्यवाणी गरी सर्वसाधारणलाई फसाएको पनि पाइन्छ । बजारमा अहिले थरीथरी शेयर विश्लेषक पाइन्छन् । आफै लगानी गर्ने र विश्लेषणका विभिन्न औजारको नाम दिएर लगानीकर्तालाई फसाइरहेको र चलखेल गरिरहेको पाइन्छ । यस्ता विश्लेषकको आधार केही पनि हुँदैन । आफूले लगानी गरेको शेयरको बजार मूल्य उचाल्ने र त्यसपछि आफ्नो शेयर बेचेर आफू स्वाट्ट निस्कने गर्छन् । त्यसैले नेपाल स्टक एक्सचेन्जले आफूले कसैलाई पनि शेयर विश्लेषक नभनेको र त्यस्तो शेयर विश्लेषकको कुरा नसुन्न सूचना जारी गर्यो ।
अन्य देशको अभ्यास हेर्ने हो भने नियामकले ने शेयर विश्लेषकको सर्टिफिकेट दिन्छ र यस्ता विश्लेषकका लागि आचारसंहिता पनि बनाएको हुन्छ । नेपालमा पनि यस्तै व्यवस्था गर्न आवश्यक छ किनभने लगानीकर्तालाई विश्लेषकको आवश्यकता छ । लगानीकर्ताले विश्लेषकको कुरा सुन्ने भएकाले अहिले तथाकथित विश्लेषकको बाढी नै देखिन थालेको हो । आफूलाई विश्लेषक भन्नेहरू कोही मिडिया सञ्चालकसमेत छन् । कोही भित्री सूचनाको पहुँच भएका पनि छन् । आफै लगानी गर्ने र त्यसअनुसार सामाजिक सञ्जालमा विश्लेषक भनी चिनाउने परिपाटी छ । त्यसैले कस्तो व्यक्ति विश्लेषक हुन पाउने हो त्यस सम्बन्धमा स्पष्ट नियम ल्याउन ढिला भइसकेको छ । धितोपत्र बजार व्यापक रूपमा नियमन हुने क्षेत्र हो किनभने यसमा एउटा सानो सूचनाकै भरमा बजारमा उथलपुथल ल्याउन सकिन्छ । त्यसैले शेयरबजारमा सहभागीहरू सबै नियमनमा बस्नुपर्छ । शेयरबजारमा मिडिया पनि सहभागी हुन्छ । विश्लेषक पनि सहभागी हुन्छ । त्यसैले यिनलाई पनि नियमनको दायरामा ल्याउन आवश्यक छ । यी सबैलाई आचारसंहितामा नबाँधे बजारमा चलखेलको बाटो खुला भइरहन्छ ।