काठमाडौं । शेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को आरोप लागेका व्यवसायी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता सीताराम अर्यालले प्रधानविरुद्ध २६ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भन्दै मुद्दा दायर गरिएको जानकारी दिए ।
नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष प्रधानलाई धितोपत्र बोर्डले ७५ हजार रुपैयाँ जरीवाना गर्दै १० वर्षसम्म कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक बन्न रोक लगाइसकेको छ । साथै उनीमाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई भनेको थियो । सोहीअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सकेर मुद्दाका लागि फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको थियो । प्रधानले नेपाल हाइड्रो डेभलपर्स कम्पनीको अध्यक्ष रहँदा र पदबाट हटेको १ वर्ष नहुँदै आफ्नो तथा पारिवारिक सदस्यको नामको उक्त कम्पनीको शेयर विक्री गरेका थिए ।
अनुसन्धानमा नेपाल हाइड्रो डेभलपर्सका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र उनका परिवारका सदस्यहरूले कम्पनीको ५ लाख ११ हजार ५६२ कित्ता शेयर विक्री गरी २६ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी अवैध लाभ आर्जन गरेको दाबी गरिएको छ । उक्त शेयर विक्रीबाट प्राप्त रकम प्रधानले आफ्ना विभिन्न कम्पनीहरूमा लगानी गरेको जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधीवक्ता अर्याल बताउँछन् ।
उक्त कम्पनीको शेयर विक्री २०७८ साल आसपासमा भएको छ, जुन समयमा कम्पनीको शेयर मूल्य असामान्य रूपमा बढेको थियो । त्यसपछि क्रमशः घट्दै गएको पाइएको अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।