काठमाडौं । सहकारीबाट बचत रकम फिर्ता नपाएको भन्दै आन्दोलित पीडित सर्वसाधारणप्रति भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले आक्रोश पोखेका छन् । नेपाल सहकारी पत्रकार समाजको १४औं स्थापना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बैंकबाट थोरै ब्याजमा लिने र सहकारीमा राखेर बढी ब्याज खानेहरू आन्दोलनमा लागेको आरोप लगाए ।
मन्त्री अधिकारीले आफ्नो पहिलो कार्यकालमा गत चैत ८ गते सहकारी पीडितसँग आठबुँदे सहमति गरेका थिए । सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरू आन्दोलनमा उत्रिएपछि मन्त्री अधिकारीले उनीहरू वास्तविक पीडित नभएको जिकीर गरेका हुन् । ‘मैले गरेको सहमतिका सातओटा बुँदा कार्यान्वयनका क्रममा छ, संसदीय छानबिन समितिले काम गरिरहेकाले अर्को गठन गर्न मिल्दैन,’ मन्त्री अधिकारीले भने, ‘तर, बढी ब्याज खान खोज्नेहरूले नै अगुवाइ गरेर आन्दोलन गरिरहेका छन् ।’
सोमवार मन्त्रालयले आन्दोलनरत बचतकर्तासँग वार्ता गरेको थियो । तर, उनीहरूले समस्याग्रस्त सहकारी छानबिन समितिमा प्रतिनिधित्वको माग गरेकाले त्यो पूरा गर्न नसकिने मन्त्री अधिकारीले बताए । समितिमा सहकारी महासंघको प्रतिनिधि रहेको भन्दै उनले त्यसबाट बचतकर्ताको प्रतिनिधित्व रहने दाबी गरे । मन्त्री अधिकारीले स्थानीय तह र प्रदेशको कार्यक्षेत्रमा रहेका सहकारीको समस्यामा पनि संघीय सरकारलाई आक्षेप लगाइएको गुनासो गरे । कसैले स्वार्थ पूरा गर्न सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजेको उनको भनाइ थियो ।
सहकारी नियमनका लागि प्राधिकरण गठन गर्ने कानून मन्त्रिपरिषद्मा लैजान लागिएको र ऋण असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्रका विषयमा मन्त्रालयले काम गरिरहेको मन्त्री अधिकारीले बताए । यस्तै कर्जा सूचना केन्द्रमा सहकारीलाई प्रवेश गराउन राष्ट्र बैंकसँग समन्वय भइरहेको उनको भनाइ छ ।
अधिकारीभन्दा अघिका सहकारीमन्त्री रञ्जिता श्रेष्ठले पनि २०८० साउन १८ गते सहकारी पीडितबीच सातबुँदे सहमति गरेकी थिइन् । दुईपटक सम्झौता भए पनि बचत फिर्ताका लागि सरकारले काम नगरेको भन्दै पीडित बचतकर्ताले सडक संघर्ष गरिरहेका छन् । चालू आर्थिक वर्षको बजेटमा समस्याग्रस्त सहकारीका सञ्चालकको सम्पत्ति धितोमा ५ लाख रुपैयाँसम्म बचत फिर्ता गर्ने घोषणा गरिएको छ । तर, त्यसका लागि अहिलेसम्म कार्यविधि समेत बन्न सकेको छैन ।
स्थापना दिवसको अवसरमा सहकारी पत्रकार समाजले ‘सीजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार’ अनलाइन खबरका पत्रकार विजय पराजुलीलाई प्रदान गरेको छ । पराजुलीले २५ हजार रुपैयाँ राशीको पुरस्कार पाएका छन् । यस्तै, समाजको संस्थापक सम्मानबाट पत्रकार मदन कोइराला सम्मानित भएका छन् ।