श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । आगामी दिनमा मेलालाई जिल्ला, स्थायी र वडासम्म पनि पुर्याउन सकिने मन्त्रालयको भनाइ छ । विश्वभरि नै श्रम मेला आयोजना गर्ने प्रचलन छ जहाँ रोजगारीको खोजीमा रहेका व्यक्ति र रोजगारदातालाई एकै ठाउँमा भेट गराइन्छ । यी दुई बीचको अन्तर कम गर्न यस्तो मेला प्रभावकारी हुने मानिन्छ ।
तर, सरकारले आयोजना गर्न लागेको यस मेलामा मुलुकभित्रका रोजगारदाता कम्पनीहरूको उपस्थिति हुने र त्यसमा सरकारले सहजीकरण गर्ने, दुवैको आवश्यकतालाई मिलाउन पुलको काम गर्ने खालको कार्यक्रम देखिँदैन । नेपालको निजीक्षेत्र पनि मेलामा सहभागी हुने बताएर यसलाई वास्तविक रोजगार मेलाजस्तो देखाउन खोजे पनि यो कुनै न कुनै रूपमा वैदेशिक रोजगार प्रवर्द्धन गर्ने मेला नै हो भन्ने देखिन्छ ।
सरकारले मुलुकभित्र रोजगारी सृजना गर्न खोजेको र यसमा भएका समस्याको निकास निकाल्न आँटेको हो भने यसमा वैदेशिक रोजगारी सम्बन्धमा जानकारी दिने र सहजीकरण गर्ने कार्यक्रम राखिने थिएन । वैदेशिक रोजगारी सम्बन्धमा जानकारी दिनु र सहजीकरण गर्नु गलत त होइन तर रोजगार मेलामा मुलुकभित्र रोजगारीसम्बन्धी कुरामात्रै राखिनुपर्छ ।
सरकारले श्रमाधान रोजगार मेला वडास्तरसम्म लैजाने भनेको छ । यसको अर्थ पनि वैदेशिक रोजगारीसम्बन्धी जानकारी वडासम्म लैजाने नियत हो कि भन्ने देखिन्छ किनभने वडा तहमा रोजगारी दिन सक्ने उद्योग छैनन् ।
विदेशतिर विश्वविद्यालयहरूमा रोजगार मेला लाग्छ । त्यहाँ उद्योगहरू र विद्यार्थीहरूबीच अन्तरक्रियामात्र होइन, रोजगारीका लागि करारसमेत हुन्छ । रोजगार मेलाको काम नै रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच भेट गराउनु हो । नेपालमा रोजगार मेला फाट्टफुट्ट लाग्ने गरे पनि सरकारी स्तरबाट यस्तो काम भएको पाइँदैन ।
नेपालमा एकातिर बेरोजगारीको समस्या ठूलो छ भने अर्कातिर उद्योगहरूले दक्ष जनशक्ति नपाएको अवस्था छ । उनीहरूले विदेशी कामदार राख्नुपरेको अवस्थासमेत छ । सरकारले शीप नभएको जनशक्तिलाई शीपको तालीम दिनु आवश्यक छ । त्यस्तै साँचिकै रोजगारीका अवसर बढाउने हो अप्रेन्टिससीपका कार्यक्रम ल्याउनुपर्छ । यस्तो मेलामा अप्रेन्टिससीपका लागि उद्योगहरूलाई समावेश गराउने, त्यसका लागि सरकारले निश्चित अवधिका लागि श्रमिकलाई ज्याला दिने काम गर्न सकिन्छ र गर्नुपर्छ । भारतमा अपे्रन्टिससीपका लागि विद्यार्थीहरूले नाम दर्ता गर्ने र उद्योगहरूले तिनलाई छान्ने व्यवस्था छ । त्यहाँ अप्रेन्टिससिप मेला हुन्छ । तर, अहिले सरकारले गर्ने भनेको श्रमाधान रोजगार मेला यस्तो प्रकृतिको देखिन्न ।
सरकारले श्रमाधान रोजगार मेला वडास्तरसम्म लैजाने भनेको छ । यसको अर्थ पनि वैदेशिक रोजगारीसम्बन्धी जानकारी वडासम्म लैजाने नियत हो कि भन्ने देखिन्छ किनभने वडा तहमा रोजगारी दिन सक्ने उद्योग छैनन् । त्यस्तै यस्तो मेलामा तालीम दिने कुरा पनि सरकारले बताएको छैन । वैदेशिक रोजगारीसम्बन्धी जानकारी दिने कुरा भने उल्लेख गरिएको छ ।
सरकार मुलुकमा रोजगारी सृजना गर्नुभन्दा सकेसम्म धेरैभन्दा धेरै युवालाई वैदेशिक रोजगारीमा पठाउने नीतिमा रहेको छ । वैदेशिक रोजगार विभागमार्फत सरकारले यससम्बन्धमा काम गरिरहेको छ । तर, मुलुकभित्र रोजगारी उपलब्ध गराउने, तालीम दिने सम्बन्धमा भने यति ठूलो संस्था बनाइएको छैन । त्यस्तै मुलुकभित्र लगानीको वातावरण बनाएर उद्योगधन्दा प्रशस्त खुल्ने हो भने रोजगारी सृजना हुन्छ । सरकारी क्षेत्रमा ज्यादै कमले मात्रै रोजगारी पाउँछन् । मुलुकमा प्रत्येक वर्ष ५ लाखभन्दा बढी युवा श्रमबजारमा प्रवेश गर्छन् । तीमध्ये एक तिहाइले पनि मुलुकमा रोजगारी पाउन सक्दैनन् । तिनलाई वैदेशिक रोजगारीमा पठाउनैपर्ने बाध्यता मुलुकसँग रहेको छ । अदक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा जान रोक्नुपर्छ र तालीम दिएर मात्रै पठाउने वातावरण बनाइनुपर्छ । श्रमाधान रोजगार मेलाले यी कुरामा ध्यान दिन्छ कि वैदेशिक रोजगार प्रवर्द्धनका लागि मात्रै काम गर्छ ? मेला आयोजनापछि मात्रै भन्न सकिन्छ ।