काठमाडौं। शुक्रवारदेखि डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ ।
एनसेल, युकेएड र एसिया फाउण्डेसनसहित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० भन्दा बढी विशिष्ट र विज्ञ वक्ता रहने बताइएको छ ।
काठमाडौं म्यारियट होटलमा आयोजना हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने बताइएको छ । कार्यक्रमको समापनको पावर संवादमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सहभागिता रहनेछ । यसैगरी सञ्चारमन्त्री र अर्थमन्त्रीको पनि विशेष सेसन रहेको आयोजक आइसिटीका अध्यक्ष राजन लम्सालले जानकारी दिए । कन्क्लेभमा डिजिटल नेपालको लागि नवीनतम प्रविधि तथा इनिसिएटिभ्सलाई प्रस्तुति र प्रोजेक्ट शोकेसको पनि अवसर प्रदान गरिएको बताइएको छ ।
लगभग २० ओटा डिजिटल इनिसिएटिभ्स शोकेसमा रहने आयोजकले जानकारी दिएको छ । ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ थिममा केन्द्रित हुने तेस्रो संस्करणको कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट एण्ड इन्क्लुजन, डिजिटल गभर्नेन्स र डेटा फर डेभलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रूपान्तरणमा अबको दिशा लगायतका विषयमा सेसन र प्रस्तुति रहनेछन् ।