काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले फागुन १५ गते ३१औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सेन, भगवती बहाल, नक्साल, काठमाडौंमा बिहान १०:३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै प्रस्तावित ३० प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँका आधारमा ८४ करोड १९ लाख ६४ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष अघिल्लो आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कम्पनीले कर समेत ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
उल्लेखित प्रस्तावसँगै स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन, नियमावलीको नियम ४७ (६) मा रहेको सञ्चालकको बैठक भत्ता सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।