सिंगापुर । सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले राजीनामा दिएका छन् । पछिल्लो दुई दशक सत्तामा रहेका उनले बुधवार (आज) राति औपचारिकरूपमा उपप्रधान तथा अर्थमन्त्री लरेन्स वोङलाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । ली सिएनको राजीनामासँगै सिंगापुरमा ली युगको अन्त्य भएको छ ।
सन् १९६५ मा स्वतन्त्र राष्ट्र बनेपछि सिंगापुरमा पहिलो प्रधानमन्त्रीका रूपमा उनका बुबा ली कुआन यूले कार्यभार सम्हाले । त्यसपछि २५ वर्षसम्म देशको नेतृत्व गरेका उनी आधुनिक सिंगापुरका संस्थापक मानिन्छन् ।
ली कुआनपछि सिंगापुरको नेतृत्व गोह चोक टोङले गरे । टोङको कार्यकालपछि सन् २००४ मा सिंगापुरको तेस्रो प्रधानमन्त्री बने ली सिएन । उनले आफ्नो कार्यकालमा देशको अर्थतन्त्र उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
उनको कार्यकालमा देशको अर्थतन्त्र बढ्यो । देश शीर्ष पर्यटक गन्तव्यमा परिणत भयो । पछिल्लो २० वर्षमा देशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन दोब्बरभन्दा बढी भएको छ ।
उनले विश्वव्यापी वित्तीय संकट, आर्थिक मन्दी र कोभिड महामारीको समयमा देशलाई कुशलतापूर्वक सञ्चालन गरे ।
लीको राजीनामाले सिंगापुरको राजनीतिक नेतृत्वमा विकासको संकेत गरेको विश्लेषक बताउँछन् । बीबीसी