कच्चापदार्थको आयातमा वृद्धि, निर्यातमा वृद्धि, वैदेशिक मुद्राको विशाल सञ्चिति तथा फिच नामक रेटिङ कम्पनीका अनुसार नेपालको बीबी माइनसको सन्तोषजनक सूचक तथा संयुक्त राज्य अमेरिकाका धनी तथा सन्निकट अमेरिकी प्रशासनका प्रभावशाली सदस्य एलेन मस्कको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले नेपाली अर्थतन्त्र सकारात्मक दिशामा जाँदै छ भन्ने स्पष्ट संकेत प्राप्त हुन थालेको छ ।
सर्वप्रथम, नेपालको वैदेशिक व्यापारले सकारात्मक दिशा ग्रहण गर्न थालेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले देशको समग्र वस्तु आयात निर्यातको आर्थिक वर्ष (आव) २०८१/८२ का प्रथम ४ महीना (साउन–कात्तिक) को तुलनात्मक तथ्यांक प्रकाशित गरेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार आव २०८१/८२ को प्रथम ४ महीना (साउन–कात्तिक)को अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ५ प्रतिशतले वृद्धि भई रू. ५६६ दशमलव ०६ अर्ब पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमश: ९ दशमलव ३ प्रतिशत र ९० दशमलव ७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासीमा ४ दशमलव २ प्रतिशतले वृद्धि भई रू. ५२ दशमलव ६७ अर्ब तथा कुल पैठारीमा ० दशमलव २ प्रतिशतले वृद्धि भई रू. ५१३ दशमलव ३९ अर्ब पुगेको छ । आव २०८०/८१ को प्रथम ४ महीनाको अवधिमा निकासीपैठारी व्यापारको अनुपात १:१० दशमलव १ रहेकोमा आव २०८१/८२ को सोही अवधिमा निकासीपैठारी व्यापारको अनुपात १:९ दशमलव ७ रहन आएको छ । यसरी हेर्दा नेपालको निर्यात आयात अनुपातमा सुधार आउन थालेको छ । आयातको तुलनामा निर्यातको वृद्धिदर सकारात्मक हुनुले यस अनुपातमा सुधार आएको छ ।
विशेषत: धागो, सोयाबिन तेल, प्लाइवुड, चिया, ऊनी फेल्ट उत्पादनहरू, सूर्यमुखी तेल, कुकुर वा बिरालोको खाना, पिना, ऊनी र पश्मिना सल, कपडाहरू, कत्था, चाउचाउ, तामा र त्यसका सामान, जुत्ता, रोजिन र रेजिन एसिड, नेपाली कागज र कागज उत्पादनहरू डेन्टिफ्रिसेस (टुथपेस्ट), सारयुक्त वनस्पतीय तेलहरू र छालाजस्ता वस्तुहरूमा भएको निर्यात वृद्धिले यस्तो अवस्था सृजना भएको हो । यदि नेपालमा प्रमुख निर्यातजन्य उत्पादनहरू फलाम र इस्पात उत्पादनहरू ऊनी कार्पेट, तयारी पोशाक, जुट र जुट उत्पादनहरू, फलफूलका रस, अलैंची, पाम तेल, सिमेन्ट, अम्रिसो, औषधीय जडीबुटी, शिशा (परिष्कृत र एन्टिमोनी समावेशबाहेक), अदुवा, सिमेन्ट क्लिंकर, दाल, हस्तशिल्प (चित्रकला, मूर्तिकला र मूर्तिकला), कपासको बोरा र झोला, ढुटो, चाँदीका गहना, प्लास्टिकका सामग्री तथा सुनको गहनाको निर्यात वृद्धिमा विशेष पहल लिन सकेको भए उपर्युक्त निर्यात आयात अनुपातको तस्वीर अझ सकारात्मक रूपमा आउने निश्चित थियो ।
व्यष्टि आर्थिक सम्पादन तथा नीतिगत अवस्थामा विशेष गरी नीतिगत व्यवस्था, कुल गार्हस्थ्य उत्पादन वृद्धि, मुद्रास्फीति र वास्तविक प्रभावी विनिमय दरमा रहेका सकारात्मक तत्त्वका कारण नेपालको समग्र रेटिङको अवस्था सन्तोषजनक हुन आएको हो ।
यस अवधिमा तथ्यांकगत आधारमा विश्लेषण गर्दा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा फलाम तथा फलामका उत्पादनहरू, यार्न, ऊनी गलैंचा, सोयाबिन तेल, तयारी पोशाक, प्लाइउड, जुस, चिया, ऊनी फेल्टका उत्पादन, जुट तथा जुटका सामानहरू, अलैंची, सूर्यमुखी तेल, चिया, जडीबुटी, कुकुर बिरालाका आहारा, पिना, पश्मिना शल, अदुवा, तामा तथा तामाका उत्पादन, कपडा, चाउचाउ प्रमुख रूपमा रहेका छन् ।
गत आवको प्रथम ४ महीनाको तुलनामा चालू आव २०८०/८१ को प्रथम ४ महीनामा तयारी पोशाकको निर्यातमा ९ दशमलव २ प्रतिशतले ह्रास आई रू. ३ अर्ब ३५ करोड पुगेको छ । फलाम तथा तिनका उत्पादनको निर्यातमा १९ दशमलव ८ प्रतिशतले ह्रास आई रू. ४ अर्ब ५७ करोडमा झरेको छ । समीक्षा अवधिमा यार्नको निर्यातमा ८ दशमलव ६ प्रतिशतले वृद्धि भई रू. ४ अर्ब २१ करोड पुगेको छ । ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा २ दशमलव ८ प्रतिशतले हास आई रू. ३ अर्ब ६० करोडमा सीमित भएको छ । भटमासको तेलको निर्यातमा ठूलो वृद्धि भई रू. ३ अर्ब ४१ करोड पुगेको छ । प्लाइऊडको निर्यातमा १६ दशमलव ६ प्रतिशतले वृद्धि भई रू. २ अर्ब ७१ करोड पुगेको छ । समीक्षा अवधिमा जुट तथा जुटका उत्पादनको निर्यातमा ४ दशमलव ८ प्रतिशतले ह्रास आई रू. २ अर्ब ३८ करोडमा सीमित भएको छ । समीक्षा अवधिमा जुसको निकासीमा १६ दशमलव ७ प्रतिशतले ह्रास आई रू. २ अर्ब ३७ करोडमा झरेको छ । । यसै गरी अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्टको निकासीमा समीक्षा अवधिमा ५ दशमलव १ प्रतिशतले वृद्धि भई रू १ अर्ब ९७ करोड पुगेको छ । भटमासको तेलको निर्यात पनि रू. १ अर्ब ५० करोड पुगेको छ ।
कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान प्राप्त गरिरहेको उत्पादन अलैंचीको निर्यातमा समीक्षा अवधिमा ११ दशमलव ८ प्रतिशतले ह्रास आई रू. १ अर्ब ९० करोडमा सीमित भएको छ । यसै गरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान प्राप्त गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि समीक्षा अवधिमा ५८ दशमलव ५ प्रतिशतले वृद्धि भई रू. २ अर्ब ३६ करोड पुगेको छ । यसैगरी समीक्षा अवधिमा अदुवाको निर्यातमा ५४ दशमलव शून्यले ह्रास आई रू. २६ करोडमा सीमित भएको छ । पिना (आयलकेक) को निर्यातमा २४ दशमलव १ प्रतिशतले वृद्धि भई रू १ अर्ब १५ करोड पुगेको छ ।
नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा ८ दशमलव ३८ प्रतिशतले वृद्धि भई रू. ३५ अर्ब ७७ करोड पुगेको छ । नेपालको कुल निकासीमा अघिल्लो आवको सोही अवधिमा भारततर्फको अंश ६५ दशमलव २७ प्रतिशत रहेकोमा चालू आवका उक्त अंश ६७ दशमलव ९१ प्रतिशत पुगेको छ । नेपालको निर्यात व्यापारमा महत्त्वपूर्ण रहेका अन्य मुलुकहरूमा संयुक्त राज्य अमेरिका, जर्मनी, यूके, फ्रान्स, जापान, अस्ट्रेलिया, चीन, युएई, इटाली, नेदरल्यान्ड्स, क्यानडा, अफगानिस्तान र टर्की प्रमुुख रूपमा रहेका छन् ।
आव २०८१/८२ को प्रथम ४ महीनामा अघिल्लो आवको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ, इलेक्ट्रोनिक र विद्युतीय उपकरणहरू, तयारी पोशाक, रासायनिक मल, अन्न, कपास (यार्न र कपडा), सुन, हवाईजहाज र त्यसका पार्टपुर्जाहरू, ऊन, कच्चा पाम तेल र चाँदीको निर्यातमा ह्रास आएको तथा फलाम, इस्पात र त्यसका उत्पादनहरू, मेशिनरी र पार्टपुर्जाहरू, यातायातका सवारीसाधन र त्यसका पार्टपुर्जाहरू, दूरसञ्चार उपकरण, औषधि उत्पादनहरू, कच्चा सूर्यमुखी तेल, पोलिथिनका दाना, मानवनिर्मित स्टेपल फाइबर (सिन्थेटिक, पलिस्टर आदि), कच्चा सोयाबिन तेल, रसायन, रबर र त्यसका सामानहरू, आल्युमिनियम र त्यसका वस्तुहरू, तोरी, तामा र त्यसका सामान, जस्ता र त्यसका वस्तुको आयातमा वृद्धि भएको छ । उपर्युक्त तथ्यांकको विश्लेषण गर्दा यस अवधिमा औद्योगिक क्रियाकलापमा वृद्धि हुने प्रकृतिका आयातहरूमा वृद्धि भएको छ । यो वृद्धिले निकट भविष्यमा नेपालमा आर्थिक गतिविधिहरू बढ्न सक्ने स्पष्ट संकेत गरेको छ ।
तथ्यांकगत आधारमा हेर्दा नेपालमा प्रमुख आयातित वस्तुहरूमा पैठारीतर्फ आव २०८१/८२ को प्रथम ४ महीनामा अघिल्लो आवको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा ९ दशमलव ६७ प्रतिशतले ह्रास आई रू. ८० दशमलव ३७ अर्बमा झरेको छ । समीक्षा अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनहरूको आयातमा १ दशमलव ३ प्रतिशतले वृद्धि भई रू. ४९ दशमलव ०६ अर्ब पुगेको छ । मशिनरी तथा पार्ट्समा १३ दशमलव २९ प्रतिशतले वृद्धि भई रू. ३६ दशमलव ३५ अर्ब पुगेको छ । कच्चा भटमास तेलको आयातमा २५ दशमलव ०६ प्रतिशतले वृद्धि भई रू. ७ दशमलव २१ अर्ब पुगेको छ । समीक्षा अवधिमा औषधिको आयातमा ३ दशमलव ४१ प्रतिशतले वृद्धि भई रू. १३ दशमलव ३० अर्ब पुगेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूमा ४ दशमलव ८१ प्रतिशतले ह्रास आई रू. २० दशमलव ९२ अर्बमा झरेको छ । यातायातका साधन र तिनका पार्टपुर्जामा ३७ दशमलव ४६ प्रतिशतले वृद्धि भई रू. ३२ दशमलव ७३ अर्ब पुगेको छ । कच्चा पाम तेलको आयातमा ६४ दशमलव ८४ प्रतिशतले ह्रास आई रू. १ अर्ब ५९ करोडमा सीमित भएको छ । अन्नको आयातमा १६ दशमलव ८७ प्रतिशतले ह्रास आई रू १० दशमलव ९४ अर्बमा झरेको छ । समीक्षा अवधिमा तयारी पोशाकको आयातमा शून्य दशमलव १४ प्रतिशतले ह्रास आई रू. १५ दशमलव ४६ अर्बमा सीमित भएको छ । दूरसञ्चारका सामग्रीको आयातमा १२ दशमलव ५२ प्रतिशतले वृद्धि भई रू. १६ दशमलव ०२ अर्ब पुगेको छ । सुनको आयातमा ७२ दशमलव ०४ प्रतिशतले ह्रास आई रू. २ दशमलव ४९ अर्बमा झरेको छ ।
नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरूमा भारत, चीन, युक्रेन, अस्टे्रलिया, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, मलेशिया, कतार, थाइल्यान्ड, यूएई, फ्रान्स बहराइन र जर्मनी प्रमुुख रूपमा रहेका छन् । चालू आव २०८१/८२ प्रथम ४ महीनामा अघिल्लो आवको सोही अवधिको तुलनामा निकासी र पैठारीमा सामान्यमात्रको वृद्धि हुँदा व्यापार घाटामा शून्य दशमलव ३ प्रतिशतले ह्रास आई कुल व्यापारघाटा रू. ४६० दशमलव ७२ अर्ब पुगेको छ । सारमा भन्नुपर्दा आव २०८०/८१को प्रथम ४ महीना अवधिको नेपालको वस्तुतर्फको वैदेशिक व्यापार मुलुकको समग्र आर्थिक विकासमा सकारात्मक दिशातर्फ जाने निश्चित छ । यसैगरी चालू आव २०८०/८१ को प्रथम ३ महीना अवधिमा नेपालको कुल विदेशी मुद्रा सञ्चिति समीक्षा अवधिमा ९ प्रतिशतको वृद्धिसहित रू. २२ खर्ब ३२ अर्ब पुगेको छ जुन रकम १७ महीना १५ दिनको वस्तु आयात र १४ महीना १५ दिनको वस्तु र सेवा आयातका लागि पर्याप्त रहेको छ (स्रोत : नेपाल राष्ट्र बैंक)।
बाह्य वित्तमा भुक्तानी सन्तुलन, आन्तरिक र बाह्य ऋण, बाह्य क्षेत्र तरलता, विदेशी मुद्रा सञ्चितिजस्ता विषय क्रेडिट रेटिङमा समेटिएका छन् । यी क्षेत्रहरूमा राम्रा संकेत हुँदा नै समग्र रेटिङमा सुधार आएको हो ।
नेपालको इतिहासमा पहिल्लोपल्ट नेपालका सार्वभौम रेटिङको सूचकांक प्रकाशमा आएको छ । चारओटा आधारहरूलाई मानी तयार गरिएको उक्त सूचकमा बाह्य वित्तलाई पनि प्रमुख आधारमा रूपमा लिइएको छ । विशेष गरी बाह्य वित्तमा भुक्तानी सन्तुलन, आन्तरिक र बाह्य ऋण, बाह्य क्षेत्र तरलता, विदेशी मुद्रा सञ्चितिजस्ता विषय यसमा समेटिएको छ । यी क्षेत्रमा राम्रा संकेत हुँदा नै समग्र रेटिङमा सुधार आएको हो । यस्तै सार्वजनिक वित्तका क्षेत्र विशेष गरी सरकारको ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको सम्बन्ध, ब्याजदर, मुद्रासम्मिश्रित वित्त, बजार पहुँच, वित्त सन्तुलन तथा वित्त क्षेत्र पारदर्शिता जस्ता क्षेत्रमा नेपालको अवस्था राम्रो देखिएको हुँदा नै समग्र रेटिङमा राम्रो चित्रण हुन सकेको हो ।
यसै गरी व्यष्टि आर्थिक सम्पादन तथा नीतिगत अवस्थामा विशेष गरी नीतिगत व्यवस्था, कुल गार्हस्थ्य उत्पादन वृद्धि, मुद्रास्फीति र वास्तविक प्रभावी विनिमय दरमा रहेका सकारात्मक तत्त्वका कारण नेपालको समग्र रेटिङको अवस्था सन्तोषजनक हुन आएको हो । यस्तै संरचनागत क्षेत्रहरू विशेष गरी शासकीय स्तर (प्रभावकारिता, कानूनको शासन, भ्रष्टाचार नियन्त्रण, व्यावसायिक वातावरण), धन तथा आर्थिक क्षेत्रमा सहनशीलता, राजनीतिक स्थायित्व र क्षमता, वित्त क्षेत्रमा रहेका जोखिमहरूमा रहेका सकारात्मक पक्षहरूका कारण नेपालको समग्र रेटिङमा सन्तोषजनक अवस्था सृजना हुन गएको हो ।
यही पृष्ठभूमिमा अमेरिकी अर्बपति एलन मस्कको हाम्रा प्रधानमन्त्रीसँग जुन संवाद स्थापना भयो त्यसका पछि पनि नेपालमा केही सकारात्मक आर्थिक परिवर्तनहरू आउन सक्छन् भन्ने संकेतका पृष्ठभूमिमा यो संवादको शुरुआत भएको हो । वर्तमान अमेरिकी प्रशासनका प्रभावशाली व्यक्तित्व मस्कको यो संवादमा लुकेका सम्भावनाहरूलाई उजागर गरेको छ । उपर्युक्त सकारात्मक संकेतहरूलाई व्यवहारमा उतारी अझ राम्रो सम्पादनका लागि प्रशासनिक जटिलतामा सुधार, अन्तर निकाय द्वन्द्वको समाधान तथा पूँजी र पूँजीपति अमैत्री राजनीतिक वातावरणमा सुधार तथा जनसंख्या सन्तुलनमा विशेष जोड दिन आवश्यक देखिन्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।