काठमाडौं । राजधानीको बूढानिलकण्ठमा २ अर्ब ७० करोड रुपैयाँ लगानीमा तयार पारिएको 'लेमन ट्रि प्रिमियर' होटल पूर्ण सञ्चालनमा आएको छ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडले 'लेमन ट्रि प्रिमियर'को चेन नेपाल भित्र्याएको हो । उक्त होटलको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार औपचारिक उद्घाटन गर्नुभएको छ ।
विशेष डिजाइन र सजावटले भरिपूर्ण होटलले पाहुनाहरूलाई एक उत्कृष्ट सुविधाका साथै अनुपम सेवाहरू प्रदान गर्ने जनाइएको छ । उपत्यकाको सुन्दर दृश्यका साथै शिवपुरी राष्ट्रिय निकुञ्जको हरियाली दृष्य, स्मार्ट डिजाइनहरू आकर्षक ढङ्गले तयार पारिएको खाटसहितको फराकिलो लबी होटलमा समावेश छ । होटल शिवपुरी राष्ट्रिय निकुञ्ज नजिक भएकाले हाइकिङ जानेका लागि पनि सहज हुने छ । यस्तै बूढानिलकण्ठको मन्दिर पनि नजिकै भएकाले धार्मिक पर्यटकको लागि समेत लक्षित गरि होटल सञ्चालनमा ल्याइएको बुढानीलकण्ठ हेरिटेजले जनाएको छ ।
पाँचतारे स्तरको होटल लेमन टि प्रिमियरको सफ्ट ओपनिङ गत माघको पहिलो साता भएको थियो । हाल होटल पूर्ण क्षमतामा सञ्चालन भइसकेको छ । युवा उद्यमीहरुले सञ्चालनमा ल्याएको होटलको अध्यक्ष डा. राजेन्द्र केसी, प्रबन्ध सञ्चालकमा बाबुकाजी कार्की र होटलका सञ्चालकमा अम्बिका पौडेल, हरिप्रसाद पाठक, दीपक पाण्डे, नवराज बुर्लाकोटी, दीपेन्द्र श्रेष्ठ, जनक भट्ट र जलेश्वर पाण्डे रहेका छन् ।
नेपालको आर्थिक वृद्धिमा योगदान पुर्याउनुकासाथै ठूलो संख्यामा युवाहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्न एकताबद्ध भई होटल निर्माण भएको हो । आतिथ्य सत्कार क्षेत्रमा राज्यले लिएको लक्ष्यहरू प्राप्त गर्न, दिगो विकास र मुलुकमै रोजगारी सिर्जना गर्नका लागि लगानीकर्ताहरूको व्यापक प्रयासको एक उद्यमशीलताको प्रमाण लेमन ट्री प्रिमियर होटल रहेको छ ।
के छन् होटलका विशेषता
भारतको दोस्रो ठूलो र अत्यन्तै रुचाइएको लेमन ट्रिले होटल व्यवस्थापनको जिम्मा लिएको हो । लेमन ट्रिले व्यवस्थापन लिएको यो नेपालकै पहिलो होटल भएको छ होटल सञ्चालकको दावी छ । १ सय २ कोठा क्षमताको होटलमा डिलक्स, एजुकेटिभ स्वीट, प्रेसिडेन्सियल स्वीट, एक्ज्युकेटिभ रूम, प्रिमियर रुम, क्लब रुम रहेका छन् । होटलमा स्पा, साउना, ज्याकुजी, स्टिम साउना, इन्फिनिटी पुल लगायतको सुविधा रहेको छ ।
यस्तै होटलमा बैठकका लागि पाँच वैठक कक्ष रहेका छन् । जसमा २५ देखि ३० जनाको क्षमता छ । होटमा ट्यान्जरियन ग्रान्ड र ट्यान्जेरिङ गरी दुई बैंक्वेट रहेका छन् । ट्यान्जरियन ग्रान्ड ४ हजार ५ सय स्क्वायर फिटको रहेको छ । त्यस्तै ट्यान्जेरियनको २ हजार ९ सय फिट छ । त्यान्जरिन ग्रान्डमा ३ सय को कन्फरेन्स र ५ सय जनासम्मको कार्यक्रम अट्ने क्षमता रहेको छ । ट्यान्जरिङमा ६० जना अट्ने क्षमता भएको कन्फरेन्स हल र १ सय २० क्षमताको हल रहेको छ ।
यहाँ सञ्चालित सिट्रस क्याफेले भारतीय, युरोपेली, पश्चिमी र एसियाली स्वादिष्ट परिकारसहित दिनभरको विभिन्न स्वादिलो परिकार पस्किने छ । होटलको रूफटपमा रहेको रिक्रिएसन स्लाउन्ज मेनु बारमा ककटेल, मकटेललगायत अन्य पेय पदार्थहरू समेत उपलब्ध रहेको छ ।
लेमन ट्री होटल्स लिमिटेड भारतको सबैभन्दा ठूलो होटेल चेनहरू मध्ये एक हो । यसले अपर स्केल, अपर मिड स्केल र इकोनोमी खण्डहरूमा होटलहरूको स्वामित्व, लिज, सञ्चालन र फ्रेन्चाइजीहरू सम्बन्धित काम गर्छ । यस समूहले सबै तहमा पाहुनाको आवश्यकता पूरा गर्न सात ब्रान्डहरू प्रदान गर्दछ । जस्तै औरिका होटल्स एण्ड रिसोट, लेमन ट्रि प्रिमियर, लेमन ट्रि होटल्स, लेमन ट्रि होटल्सद्वारा रेड फक्स होटल्स, लेमन ट्री होटलसद्वारा किज प्राइमा, लेमन ट्रि होटल्सद्वारा किज सेलेक्ट र लेमन ट्रि होटल्सद्वारा किज लाइट छन् ।
यस ब्राण्डले अतिथिको आवश्यकता, विलासी र आर्थिक आकर्षणलाई समेत मध्यनजर गरेर ब्राण्डको डिजाइन गरेको छ । १ सय भन्दा बढी होटल र १० हजार कोठा भएको लेमन ट्रि होटल्स एण्ड रिसोर्टले विविधतालाई प्रवर्द्धन गर्दै स्वास्थ्यकर, आनन्द र अविस्मरणीय अनुभवहरू प्रदान गर्दै आएको छ । लेमन ट्री प्रिमियर उद्घाटन कार्यक्रम एक अविस्मरणीय घटना भएको विश्वास होटलले लिएको छ ।