नयाँ वर्षमा मैले संकल्प लिएको थिएँ कि अबदेखि म बिहान ढिलोसम्म सुत्नेछु । यसका दुईओटा कारण थिए । पहिलो त म एक गैर–राजनीतिक मानिस हुँ, त्यसैले आफूले गर्न सक्ने संकल्प मात्र लिन चाहन्छु । ‘देश बनाउने’ जस्ता गफहरू छाडेर ‘सुत्ने’ जस्तो व्यावहारिक कुरा रोजेको थिएँ ।
सुनेको छु, प्रधानमन्त्रीज्यू दिनमा केवल तीन–चार घण्टा मात्र सुत्छन् र बीसौं घण्टा काममै खटिन्छन् रे । श्रीमती प्रधानमन्त्रीले नै सार्वजनिक मञ्चमा भनेपछि नपत्याउने कुरै भएन । देशको चिन्ताले पूर्वप्रधानमन्त्री प्रचण्ड पनि रातभर नसुती देशको चिन्ता गर्छन् रे । अब भन्नुस् त, कुन चैं बुद्धिमान् मानिसले यस्ता मानिसहरूबाट प्रेरणा लिएर आफैलाई समस्यामा पार्छ ? सरकारी कार्यालयहरूमा छापा मारियो भने थाहा हुन्छ– चार घण्टाभन्दा बढी काम गर्नु भनेको संविधानको अपमान, लोकतन्त्रको हत्या र व्यक्तिगत स्वतन्त्रताको बलात्कार जस्तै हो भन्ने गहिरो दर्शन बोकेका कर्मचारी भेटिन्छन् । उनीहरूलाई ‘काम’ भन्दा ‘कर्मकाण्ड’ मन पर्छ ।
हामी त लोकतन्त्रमा छौं नि त । यसका लागि हामीले त चर्को मूल्यको भोट दिएका छौं र नोट पनि दिएका छौं । त्यस्तो महँगो मत दिएपछि मनपर्ने ढंगले सुत्ने अधिकार त स्वतः पाउनुपर्छ नि ।
शहरमा बजेट बहसहरूको बाढी आएको छ । सरकारले बजेट वक्तव्यमार्फत जब जनताका लागि यति धेरै अजब गजपका कार्यक्रमहरू ल्याइरहेका छन्, अनेकखाले रोगका लागि निःशुल्क उपचार गराउने घोषणा गरिरहेका छन्, बच्चाहरूको पढाइदेखि विदेश जान चाहनेहरूलाई एनओसी र डलर साट्नेलगायतका सुविधा दिइरहेको छ । यस्तो सुविधा दिन सरकारहरूबीच होडबाजी छ कसले बढी दिने भनेर । जब बैंकहरूले पनि खोजी खोजी मानिसलाई सित्तैमा दिएजसरी ऋण बाँडिरहेका छन् भने जिन्दगीमा अब केको गुनासो ? अनि फेरि, मान्छेहरू जाग्ने नै किन त, के का लागि ? जनता सुतिरहून् । यहाँ लोरी अर्थात् समृद्धिका कथा सुनाउनेहरूको के कमी छ र ?
अहिले त प्रतिस्पर्धा नै चलेको छ, एउटाले ‘कुम्भकर्ण योजना’ ल्याउँछ, अर्कोले ‘महाकुम्भकर्णले योजना’ पूरा गर्ने वाचा गर्छ । ‘तालुमा आलु कसरी फलाउने र आलुबाट सुन कसरी बनाउने र अनि ठालू बनेर गफ लडाउने ।’
अनि फेरि मानिसहरूले नसुती सपना कसरी देख्ने त ? सपना देख्न त सुत्नैपर्छ । सपनाको कुरा यस्तो छ कि देख्नेहरूले आफ्नो भविष्य बनाउन नपाउलान्, तर कमसेकम देखाउनेहरूले त बनाउँछन् नि । त्यही भएर भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले भनेका होलान्, सपना त्यो होइन जो निदाउँदा देखिन्छ । सपना त त्यो हो, जसले निदाउन दिँदैन । हामी चाहिँ निदाएरै सपना देख्छौं ।
म एक सच्चा नागरिक हुँ, हावा कताबाट चलिरहेको छ भनेर यसको गति बुझ्छु । त्यसैले के बिग्रन्छ त यदि मैले ढिलोसम्म सुत्ने संकल्प लिए भने ?
सन्त कबीरले कतै भनेका छन्, ‘जाग्नेहरू चैं रुन्छन् ।’ अब तपाईं नै भन्नुस् त, रुनुपर्ने शर्तमा जाग्न चाहने को होला र ? जाग्नु नै जोखिमपूर्ण छ, जाग्नुमा डर पनि धेरै हुन्छ । त्यसैले त प्रत्येक आमा आफ्ना बच्चालाई भन्छिन्, ‘सुत नत्र भूत आउँछ ।’ अनि समझदार बच्चा तुरुन्त सुत्छ । अनि आमा पनि सुत्छिन् । अनि दुवैलाई सुतिरहेको देखेर बाबुचाहिँ निश्चिन्त भएर कतै छिमेकतिर वा विदेशतिरै निस्कन्छन् । यसलाई नै त पूर्ण स्वतन्त्रता भनिन्छ । बाबुहरूको जिम्मेवारी ठूला हुन्छन्, यसमा सरकारले पनि केही गर्न सक्दैन । कर्मयोगी त केवल कर्म गर्छन्, फलको चिन्ता गर्दैनन् नि । तर दुनियाँको के गर्ने ? अरूको घरमा चियाएर हेर्ने चाहने चलन जो छ ।
त्यसले देशमा कसैले कुनै कुरामा चिन्ता लिनुपर्ने कुनै कारण देखिन्न । जहाँ तेत्तीस करोड देवीदेवता छन्, त्यस देशका जाबो पौने तीन करोड जनताले किन चिन्ता गर्नु ? प्रत्येकलाई बचाउन ११–११ करोड देवीदेवता हाजिर छँदै छन् त ।
फेरि देशमा गणतन्त्र आएपछि सँगसँगै समाजवाद पनि आइसकेकै छ । के धनी के गरीब, देशमा सबै एकसमानले डुबेका छन् । कोही हजारमा, कोही लाखमा, कोही करोडमा र कोही अर्बमा डुबेका छन् । अंकमा के छ र समाजवादी डुबाइ नै ठूलो कुराको चुरा हो नि, हैन ? शायद समाजवाद भनेको पक्कै यस्तै हुनुपर्छ । समाजवादको यस्तो व्यावहारिक रूप त शायद मार्क्सले पनि कल्पना गरेका थिएनन् होला ।
बरु म त भन्छु कि मानिसहरूले महँगीमा बढी खाने पिउने, थप किनमेल गर्ने बानी बसाल्न जरुरी छ । देश जति स्मार्ट बन्दै जान्छ, उति नै मूल्य पनि स्मार्ट बन्दै जानुपर्यो नि त । जस्तै, पेट्रोलियमको मूल्य अझै बढ्न दिनुपर्छ । अनि न मोटर, कारहरू पेट्रोलियमको मूल्य सुनेरै आफै कुद्न थाल्छन् ।
तर म भने अलमलमा छु– ‘म त सुति नै रहेको छु, तर देश सुतिरहेको छ कि जागिरहेको छ, कसरी थाहा पाउने हँ ?’