काठमाडौं । गैरआवासीय नेपालीहरूलाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संसोधन) निर्देशिका २०८१ जारी भएको छ ।
संसोधित निर्देशिकाले सरकार र गैरआवासीय नेपालीहरूको मात्र लगानी रहने र उनीहरूबीच मात्रै शेयर कारोबार हुने व्यवस्थासहित संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको अवधारणा अगाडि सारेको छ । यससँगै संयुक्त इन्भेष्टमेन्ट कम्पनीलाई आईपीओ निष्कासन गर्ने बाटो खुलेको हो ।
त्यस्ता कम्पनीहरूले शेयर निष्कासनका लागि अपनाउनुपर्ने प्रक्रियाहरूको विषयमा निर्देशिकाले प्रष्ट व्यवस्था गरेको छ । जसअनुसार त्यस्ता कम्पनीहरूले जारी पूँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्कासन गर्नुपर्नेछ ।
नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानी रहने गरी इन्भेष्टमेन्ट कम्पनी खोल्नुपर्ने र त्यस्ता कम्पनीले निष्कासन गर्ने शेयर गैरआवासीय नेपालीले मात्र खरीद गर्न सक्ने प्रावधान छ । निर्देशिकाअनुसार संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले प्रिमियम थप गरी शेयर निष्कासन गर्न सक्ने छैन ।
संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्कासन गर्नुपूर्व शेयर बोर्डमा दर्ता गर्नुपर्नेछ ।
जाँचबुझ गर्दा त्यस्तो निवेदक कम्पनीको शेयर दर्ता गर्न उपयुक्त देखिएमा बोर्डले सात कार्य दिनभित्र नियमावली बमोजिमको दर्ता दस्तुर बुझाउन निवेदक कम्पनीलाई सूचित गर्नेछ । त्यस्तो सूचना प्राप्त भएपछि निवेदक कम्पनीले दर्ता दस्तुर बोर्डको खातामा जम्मा गरेको बैंक भौचर बोर्डमा बुझाउनु पर्नेछ । निवेदक कम्पनीले दर्ता दस्तुर बुझाएको सात कार्य दिनभित्र बोर्डले शेयर दर्ता गरी सोको जानकारी निवेदक कम्पनीलाई दिनेछ ।
रित पुर्याइ आएको निवेदन साथ पेस भएको विवरणपत्र सम्बन्धमा जाँचबुझ गर्दा विवरणपत्र उपयुक्त देखिएमा सात कार्य दिनभित्र बोर्डले त्यस्तो विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गर्नसक्ने व्यवस्था समेत गरिएको छ ।
स्वीकृत विवरणपत्र प्रचलित कानूनबमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरी लगानीकर्ताको जानकारीको लागि निष्कासनकर्ता कम्पनी तथा निष्कासन तथा विक्री प्रबन्धकको वेबसाइटमा राख्नुपर्नेछ ।
संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने शेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन तोकिएको छ ।
यस बमोजिमको अवधिभित्र निष्कासन गरिएको सबै शेयर विक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा पन्ध्र दिनका लागि शेयरको दरखास्त खुला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।
संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने शेयरको विक्री खुला गरिने दिनभन्दा कम्तीमा सात कार्य दिन अगाडि विवरण खुलाई सम्बन्धित सबैको जानकारीको लागि आह्वानपत्र राष्ट्रिय दैनिक पत्रिका र निष्कासनकर्ता कम्पनीको वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ र सोको जानकारी बोर्डलाई गराउनु पर्नेछ । यस बमोजिम प्रकाशन गरिने आह्वानपत्र वा निष्कासनसम्बन्धी कुनै सूचनाको बारेमा सो सूचना प्रकाशन गरिने मितिभन्दा कम्तीमा एक कार्य दिन अगाडि बोर्डलाई जानकारी गराउनु पर्नेछ ।
शेयर बाँडफाँट भएको सात कार्य दिनभित्र संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले आवश्यक कागजात संलग्न गरी आफ्नो शेयरको अभौतिकीकरणका लागि अनुमतिपत्र प्राप्त केन्द्रीय निक्षेप कम्पनीमा निवेदन दिनु पर्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।
संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने शेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी व्यवस्था गरिएको छ । यस्तो कम्पनीको शेयर खरीदको लागि दरखास्त आह्वान गर्दा प्रतिशेयर अङ्कित मूल्यको शतप्रतिशत बराबरको रकम दरखास्त साथ माग गर्नु पर्नेछ ।
यस्तो शेयरमा आवेदन दिनका लागि आवेदकको धितोपत्र खरीद दरखास्त संकलनसम्बन्धी कार्य गर्न आस्वा अनुमति प्राप्त कुनै बैंक तथा वित्तीय संस्थामा विदेशी लगानीसम्बन्धी प्रचलित कानूनी व्यवस्था पूरा गरी आफ्नो नाममा गैरआवासीय नेपालीको नेपाली रुपैयाँको बैंक खाता हुनुपर्नेछ ।
निष्कासित शेयरका लागि पचास प्रतिशतभन्दा बढी र शत प्रतिशतभन्दा कमका लागि आवेदन परी शेयर बाँडफाँट भएकोमा आवेदन नपरी बाँकी रहन गएको शेयर तत्काल कायम रहेका शेयरधनीले खरीद गर्न चाहेमा खरीद गर्न सक्नेछन् । त्यसरी शेयरधनीले खरीद नगरेमा प्रचलित कम्पनी ऐनबमोजिम पूँजी संरचनामा हेरफेर गरी शेयर पूँजी समायोजन गर्नुपर्नेछ ।
यस्ता कम्पनीको शेयर कारोबार गर्दा कारोबार इकाई न्यूनतम एक हजार कित्ता हुनेछ । यस्तो कम्पनीको शेयरको कारोबार गैरआवासीय नेपालीबीच मात्र हुनेछ ।
यसैगरी, संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्कासन गरेको शेयर बाडँफाँट भएको मितिले एक वर्षको अवधि पूरा नभई खरीद विक्री गर्न पाइने छैन । तर, संस्थापक शेयरको हकमा भने नियमावलीको नियम ३८ को उपनियम (१) बमोजिम हुने उल्लेख छ ।
संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयरधनीको हकप्रद शेयरको हक हस्तान्तरण गर्नुपर्ने भएमा गैरआवासीय नेपालीबिच मात्र हुनेछ भने हक हस्तान्तरण गर्दा शेयरको खरीद विक्री बन्देज अवधि (लकइन पिरियड) नसकिएको भएमा हस्तान्तरण भई जाने शेयर समेत लकइनमा नै रहने व्यवस्था छ ।