सरकारले बीमालाई प्राथमिकतामा राखेको छ । तर सरकारी सम्पत्तिकै बीमा नहुँदा बीमाबारे सरकारको नीतिमा विरोधाभास देखिएको छ । साथै आफ्नो दायित्वमा पर्ने बीमा दाबी भुक्तानी नदिँदा बीमाप्रति आम बीमितको विश्वास गुम्न थालेको छ । निर्जीवन बीमा व्यवसाय बीमा अनिवार्य गरिएको क्षेत्रमै निर्भर रहेकाले स्वैच्छिक सहभागिता बढाउनुपर्ने आवश्यकता छ । यसै सन्दर्भमा आर्थिक अभियान दैनिक का प्रधान सम्पादक मदन लम्साल को सहजीकरणमा हालै निर्जीवन बीमा क्षेत्रको अवस्था, समस्या र समाधान विषयक अन्तरक्रिया गरिएको छ । प्रस्तुत छ, उक्त अन्तरक्रियामा सहभागी विभिन्न कम्पनीका व्यवस्थापकीय प्रमुखहरूको धारणा एवं सुझाव ।
इन्स्योरेन्स समाज सेवा गर्न खोलेको संस्था होइन
चंकी क्षेत्री
अध्यक्ष, नेपाल बीमक संघ
प्रमुख कार्यकारी अधिकृत
सगरमाथा लुम्बिनी इन्स्योरेन्स
बीमाको महत्त्व सरकारले नै नबुझेको महसूस गरेका छौं । बीमा के हो ? यसको महत्त्व र फाइदा के छन् भनेर सरकारमा बसेका व्यक्तिले बुझे भने हामीलाई जनतासम्म पुग्न सजिलो हुन्छ । भूकम्पको समयमा हामीले १५ अर्ब रुपैयाँ दाबी भुक्तानी गर्यौं । त्यतिखेर कुनै कार्यक्रममा नेताहरूले नै छिटो दाबी भुक्तानी दिएर बीमाले राम्रो काम गर्यो, सरकारको अनुदान बाँड्ने काम बल्ल शुरू हुँदैछ भनेर प्रशंसा गर्नुहुन्थ्यो । एकपटक भुइँचालो गएपछि फेरि आउँदैन भन्ने होइन । तर, भूकम्पपछि पुनर्निर्माणका लागि भएको लगानीलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा सरकारसँग कुनै योजना समेत छैन ।
हामी भूकम्प, बाढी–पहिलो, जलवायु परिवर्तनलगायतको उच्च जोखिममा छौं । यसले गर्दा पनि हामीलाई बीमाको झन् धेरै आवश्यकता छ । बीमा कुनै समाजसेवा गर्न बसेको संस्था होइन । यो पनि व्यवसाय गर्न खोलेका हौं । बीमाशुल्कको तुलनामा कयौं गुणा बढी भुक्तानीको दायित्व बोकेर बसेका हुन्छौं । एकपटक बीमा गरेर भाग्ने भन्ने हुँदैन । दाबी बढी परेर आज घाटा भए पनि भोलि परिपूर्ति हुन्छ भनेर काम गरिरहेका हुन्छौं । तर, सरकारले अनिवार्य गरेको क्षेत्रमा पनि बीमा राम्रोसँग भएको छैन । गाडीको संख्या र बीमालेख संख्या तुलना गरे त्यो थाहा हुन्छ । मोटरसाइकलको पहिलोपटक बीमा गर्ने, त्यसपछि नवीकरण नै नगर्ने प्रवृत्ति छ । सरकारले अनिवार्य गरेपछि हामी कृषि बीमामा गयौं । अहिले कृषि बीमामा तीन अर्बको बजार बनिसकेको छ । अब जुन जुन क्षेत्रमा बीमाको बानी परेको छ, त्यहाँ अनुदान कम गर्दै अन्य क्षेत्रमा बढाउनुपर्छ । यसले दायरा बढाउन सजिलो हुन्छ ।
कोरोना बीमाको प्रावधान बजेटमा आएपछि लागू गर्नुपर्छ भनेर काम गर्यौं । तर सरकारले जति दाबी भुक्तानी दिन्छु भनेर बोलेको छ, लागू हुँदैन भने कसले विश्वास गर्ने ? कोरोना बीमा गर्न सकिँदैन भनेर हामीले रोक्दा रोक्दै पनि बजेट भाषणबाटै गर्नुपर्छ भनेर रातारात निर्देशन दिएको हो । त्यतिबेला मृत्यु भएमा मात्र दिनेगरी अलिकति नीतिमा परिवर्तन गर्न सकिन्थ्यो । कोरोना यति धेरै फैलियो, निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिँदा नक्कली दाबी भुक्तानी नियन्त्रण गर्न गाह्रो भयो । आज कोरोना बीमाको ११ अर्ब दाबी भुक्तानी बाँकी छ । सरकारले म दायित्व लिन्न भनेको पनि छैन । किनकि १ अर्ब तिरिसकेको छ । बाँकी पैसा नतिर्दा बीमाको बजार बिग्रिएको छ । त्यो दाबी भुक्तानी तिरेको भए आज हामीलाई स्वास्थ्य बीमा लैजाने अवसर हुन्थ्यो । स्वास्थ्य बीमा कार्यक्रम सरकारले सञ्चालन गरिरहेको छ । त्यहाँ राम्रोसँग भुक्तानी पाएनन् भने पनि बीमाले तिरेन भनेर हामीले अपजस बोक्नुपरेको छ । त्यसैले कोरोना बीमाको बाँकी भुक्तानी कसरी दिने भन्ने योजना बनाएर अघि बढ्न जरुरी छ । कृषि बीमामा पनि सरकारले हामीलाई २ अर्ब भुक्तानी दिन बाँकी नै छ ।
हामी करमा पनि मारमा परिरहेका छौं । निर्जीवन बीमा कम्पनीले २५ प्रतिशतमात्र कर तिर्दा हामीलाई ३० प्रतिशत छ । घरभाडामा पनि दोहोरो कर छ । मर्जर भएको कम्पनीको सम्पत्ति ‘ट्रान्सफर’ गर्दा पनि पूरै कर तिर्नुपरेको छ । आगामी बजेटले यी समस्या सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो माग छ ।
सरकार–प्राधिकरण समन्वय अभावले बीमा कम्पनीहरूलाई समस्या भएको छ
श्रवण रावल
प्रमुख कार्यकारी अधिकृत
युनाइटेड अजोड इन्स्योरेन्स
नियामक निकायले आवश्यकता अनुसार नीति परिवर्तन गर्दा बीमा क्षेत्रमा धेरै सुधार भएको छ । सवारीसाधनको तेस्रो पक्ष बीमादेखि विभिन्न बीमालाई सरकारले अनिवार्य गर्दा बीमाको क्षेत्र विस्तार भएको छ । दश वर्षअघिको तुलनामा अहिले बीमाक्षेत्र धेरै अघि बढिसकेको छ । तर केही कुराबाट बीमा कम्पनीलाई असहज भएको छ । उदाहरणका लागि कृषि बीमालाई कृषिको दायराभित्र ल्याउनु पनि धेरै राम्रो कुरा हो । कृषि बीमाका कारण हरेक निर्जीवन बीमा कम्पनीहरूले व्यवसाय बढाएका छन् र दाबी भुक्तानी पनि सहज रूपमै वितरण गरेका छौं । तर जुन हिसाबले सरकारी तवरबाट अनुदानको व्यवस्था गरेको थियो । त्यो छिटो छरितो रूपमा उपलब्ध गराएको भए बीमा कम्पनीहरू थप उत्साहित हुने थिए । बीमा प्राधिकरणले कृषि बीमाको दाबी भुक्तानी छिटो छरितो रूपमा नभएको गुनासो कम्पनीहरूसँग गरिरहेको छ । सरकारले समयमै अनुदान भुक्तानी नगर्दा कम्पनीहरूलाई समस्या भइरहेको हो । युनाइटेड अजोड इन्स्योरेन्सले मात्रै सरकारबाट १८ करोडभन्दा बढी लिन बाँकी छ । दाबी भुक्तानीको तथ्यांक हेर्ने हो भने बीमाशुल्कभन्दा बढी छ । सरकार र बीमा प्राधिकरणबीच समन्वय नभएर बीमा कम्पनीहरूमा समस्या देखिएको छ । अहिले हामीले कृषि बीमा नै बन्द गरेका छौं । यद्यपि दाबी भुक्तानी भने निरन्तर छ । यससँगै जलविद्युत् क्षेत्रमा भएको इन्जिनियरिङ बीमाले पनि हामीहरूलाई ठूलै समस्या बनाएको छ । यी समस्याका बारेमा बीमा प्राधिकरण पनि अवगत नै रहेकाले आगामी दिनमा निकासको पहल हुनुपर्छ । त्यो समस्या समाधान भएमा हामी राम्रोसँग अघि बढ्न सक्छौं ।
सरकारले कोरोना बीमाको दायित्व नतिर्दा बीमा उद्योगलाई असर परेको छ
दीपप्रकाश पाण्डे
प्रमुख कार्यकारी अधिकृत
शिखर इन्स्योरेन्स
हामीकहाँ बीमा क्षेत्रको अनुभव लामो भएपछि यसको विस्तार कमजोर छ । यसको कारण बीमा शिक्षा पुगेन भन्छौं । तर यसको सीधा कारण मानिसको आर्थिक अवस्थासँग जोडिएको छ । मानिसको दैनिक आवश्यकता नै पूरा भएको छैन भने भोलिको लागि बीमा कसले गर्छ ? त्यसैले बीमाको विकासका लागि अर्थतन्त्रको विकास हुनुपर्छ ।
बुझेका कतिपय व्यक्तिले पनि बीमा गरेका छैनन् । बीमालाई सरकारले लामो समयदेखि प्राथमिकतामा राखेन । पछिल्लो २ वर्षदेखि अलि प्राथमिकता दिन थालेको हो । सवारी दुर्घटनापछि बाटो बन्द हुन थालेपछि तेस्रो पक्ष बीमा अनिवार्य गरेको हो । अहिलेसम्म बीमा ‘फोर्स मार्केट’ हो । कतिपय दाबी भुक्तानी तिरेपछि पनि व्यवसाय बढेको छ । अहिले कृषि बीमा व्यवसाय ३५० करोड पुगेको छ । तर सरकारले अनुदानबापतको रकम दिएको छैन । शिखर इस्योरेन्सले नै ७० करोड लिन बाँकी छ । सरकारसँग गुनासो गर्दा समस्या समाधान गर्न आऊ, बसौं भनेर आश्वासन दिने काम समेत भएन ।
१० वर्षअघि कृषि बीमा लादिएको भन्थ्यौं । हामीलाई जिल्ला तोकेर पठाइएको हो । कम्पनीहरूले बजार बढाए । अहिले फेरि कृषि बीमा बन्द हुने स्थितिमा पुगेको छ । कृषि बीमा लादिएको भए पनि कम्पनीहरूले सम्भावना पनि देखेका छन् । किसानको आर्थिक स्तरमा सुधार ल्याउन यसको ठूलो भूमिका छ । तर अहिलेसम्म सरकारले यसको असर के भयो भनेर कुनै अनुसन्धान समेत गरेको छैन ।
हिजो तेस्रो पक्ष बीमा अनिवार्य गर्दा बीमा कम्पनीहरूले काम गर्न सक्दैनन् भनेर आशंका भएको थियो । आज हामीले काम गरेका छौं । कसैलाई बीमा गर्न रोकेको छैन । तर, सरकारले नै बीमाको सट्टा पैसा लिएर बिलबुक नवीकरण गर्ने काम रोक्न सकेको छैन । हामी नेपाललाई पर्यटनको सुरक्षित गन्तव्य बनाउने भन्छौं । त्यसका लागि विश्वासको वातावरण बनाउन बीमालाई परिचालन गर्न सकिन्छ । ‘तिमी नेपाल घुम्न आऊ, तिमीलाई औषधिउपचारदेखि उद्धार समेत गर्छौं’ भनेर भिसाशुल्कमै जोडेर बीमा गराउने हो भने पर्यटन बजार विस्तारमा पनि सहयोग हुन्छ । हाम्रो पनि व्यवसाय बढ्छ ।
२०७२ सालको भूकम्पपछि सरकारले अझै पुनर्निर्माणको काम सकेको छैन । फेरि कर्णालीमा भूकम्प गएको छ । भोलि अर्को भूकम्प आयो भने पैसा कहाँबाट ल्याउने ? यो बेला बीमा मात्र विकल्प हो । मानवीय सहयोग सरकारले गर्ला, तर सम्पत्तिको क्षति बेहोर्ने गरी बीमा गर्नुपर्छ । हामीकहाँ सरकारको सम्पत्तिको समेत बीमा भएको छैन । हिजो कोरोना बीमा गरेर हामीले गल्ती गर्यौं होला । तर हामी योभन्दा बढी दाबी तिर्न सक्दैनौं भनेकै हो । सरकारले जबरजस्ती गर्नुपर्छ भन्यो । अहिले आफ्नो दायित्व नतिर्दा बीमा उद्योगलाई नै असर परेको छ । सरकारसँग पैसा छैन भने एक वर्षको कर समायोजन गर्न दिने व्यवस्था आर्थिक ऐनमा आयो भने हामी तिर्छौं । यसले विश्वासको वातावरण बढाउँछ । त्यसपछि व्यवसाय बढ्छ र सरकारको कर पनि बढ्छ ।
कृषि बीमामा दिइँदै आएको अनुदानमा राजनीति हुनु हुँदैन । अब व्यवसाय सबल भएको छ, त्यसमा अनुदान शून्य बनाउनुपर्छ । जहाँ आवश्यक छ, त्यहाँ अनुदान बढाउन सकिन्छ । गरीबलाई बीमा झन् आवश्यक छ । उनीहरूको स–सानो घरको बीमा हुने गरी कार्यक्रम ल्याउनुपर्छ ।
दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्छ
शिवहरि श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय बीमा कम्पनी
अहिले निर्जीवन बीमा क्षेत्रको व्यावसायिक सम्भावना धेरै फराकिलो भए पनि अहिले हामीले २०–२२ प्रतिशत जनतासम्म मात्र यसको पहुँच पुर्याउन सकेका छौं । यो एकदमै कम हो । बीमाको पहुँच विकास र विस्तार गर्न सरकार, नियामक निकाय नेपाल बीमा प्राधिकरण, बीमा कम्पनीहरू र सरोकारवालाको भूमिका बढाउन जरुरी छ । अहिले बीमा क्षेत्रबाट जति पूँजी संकलन भएको छ, त्यसको समानुपातिक ढंगमा लगानी हुन सकेको छैन । धेरै रकम मुद्दती निक्षेपमा थुप्रिएको छ । बीमाको रकम देशको आर्थिक विकासका लागि लगानी हुनुपर्छ । त्यसका लागि विद्यमान कानूनी र नीतिगत अप्ठ्यारोलाई सम्बन्धित निकायले सहज बनाउनुपर्छ ।
बीमाको बजार विस्तारका लागि बीमाशुल्कमा संशोधन र परिमार्जन गर्नुपर्ने छ भने त्यसतर्फ पनि विचार पुर्याउनुपर्छ । अहिले संघीय, प्रदेश र स्थानीय सरकारहरूले बीमा गर्दा विभिन्न सहुलियत दिन खोजिरहेका पनि छन् । अर्कोतर्फ सरकारकै भौतिक पूर्वाधारको पनि बीमा भएको छैन । कर्णाली प्रदेशमा सर्वसाधारणको आवासको बीमाका लागि बजेटमा व्यवस्था भएको पनि सुनेका छौं । तर सर्वसाधारणको घर आवासमा वर्गीकरण भएको छैन । कति वर्ष पुरानो र कस्तो प्रकारको आवासलाई बीमाको दायरामा समेट्ने भन्ने विषयलाई स्पष्ट पार्न आवश्यक छ ।
बीमाप्रति विश्वास बढाउने आधार भनेको दाबी भुक्तानी नै हो । दाबी भुक्तानी जति छिटो दिन सक्यो, त्यति धेरै विश्वास बढ्छ । बीमाले ठूला दाबी भुक्तानी छिटोभन्दा छिटो फछ्र्योट गर्नुपर्नेछ । सरकारले प्रतिबद्धता गरेको अनुदान रकम नदिँदा कोरोना बीमा र कृषि बीमाको दाबी भुक्तानीमा समस्या भएको छ । दाबी भुक्तानी कहिले पाइन्छ भनेर हामीलाई दिनहुँ फोन आइरहेका छन् । कसैले बदमासी गरेको छ भने कारबाहीको दायरामा ल्याऔं । तर, छिटोभन्दा छिटो दाबी भुक्तानी हुनुपर्छ ।
बीमामा स्वैच्छिक सहभागिता बढाउनुपर्छ
वीरेन्द्रबहादुर बैदवार क्षेत्री
प्रमुख कार्यकारी अधिकृत
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
बीमा क्षेत्र नेपालको वित्तीय क्षेत्रमा आशा गर्ने क्षेत्रको रूपमा देखिएको छ । बीमा क्षेत्रबाट संकलन भएको ठूलो धनराशी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सरकारी योजनामा रहेका विकासका पूर्वाधार निर्माणका लागि प्रयोगमा आएको छ । तर, अहिले बीमा कम्पनीहरूको पूँजी र बजार कति हो भनेर हेर्दा अथवा जति बीमा कम्पनीको बजार छ, त्यति पूँजी आवश्यक थियो कि थिएन ? नियामक निकायबाट के कस्ता नीतिगत निर्णय गर्दा बीमा क्षेत्रको व्यवसायमा सकारात्मक प्रभाव पर्ने थियो भन्ने विषयले महत्त्व राख्छ । अहिले निर्जीवन बीमा कम्पनीको व्यवसाय वार्षिक करीब ४० अर्ब छ भने त्यति बराबरकै पूँजी निर्जीवन बीमा कम्पनीहरूले लगानी गरिरहेका छन् । १ बराबर १ को नीति कत्तिको जायज हो ? यस विषयमा पनि नियामकले विचार गर्नुपर्छ । बीमा कम्पनीहरूले आफ्नो विश्वास सृजना गरेर स्वेच्छाले बीमा गर्ने वातावरण बनाइदिनुपर्छ । संसारभर हेर्ने हो भने स्वेच्छाले बीमा गर्नेको संख्या शतप्रतिशत रहेको छैन । बढीमा २० देखि २५ प्रतिशत स्वेच्छाले बीमा गरिएको होला । बाँकी भने सरकारी नीतिनियमबाट बाँधिएर बीमा गरिएको देखिन्छ । हामीले नेपालमा अहिले जति पनि व्यवसाय गरिरहेका छौं, लगभग ९५ प्रतिशत व्यवसाय अनिवार्य बीमामै निर्भर छ । सरकारले अझै कतिपय क्षेत्रमा अनिवार्य गर्न नसकेर बीमाको विस्तार हुन सकेको छैन । जस्तै– नेपालमा कानूनी दायित्वको बीमाका लागि कतै पनि अनिवार्य व्यवस्था छैन । अहिले सवारीसाधनको तेस्रा पक्षबाहेक सरकारले अन्य बीमालाई अनिवार्य गरेको छैन । सरकारले घरजग्गाको नामसारी गर्दा विद्युत्को बिल भुक्तानी अनिवार्य गरेजस्तै भवन निर्माण गर्दा होस् या सवारीसाधन किन्दा वा उद्योग कलकारखाना शुरुआत गर्दा बीमा गरेर आउनुपर्ने व्यवस्था नीतिगत रूपमै गरिदिनुपर्छ । सरकारले विभिन्न कार्यक्षेत्र तोकेर बीमालाई अनिवार्य गर्नुपर्छ । बीमा कम्पनीहरूले आफ्नो लगानीकर्तालाई न्यायोचित रूपमा प्रतिफल दिन सकेका छन् त ? पछिल्ला वर्ष कम्पनीहरूले ५ देखि १० प्रतिशतसम्म पनि प्रतिफल दिन सकेका छैनन् । तथापि मन्दीको बेला भएकाले पनि यसलाई समुचित प्रतिफलको रूपमा लिइएको छ । बीमा कम्पनीहरूले ठूलै रकम संकलन गरेका हुन्छन् । ती रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा जम्मा गर्नुभन्दा नेपाल सरकारको ठूला परियोजना बनाउन बीमा बण्डमार्फत लगानी गर्ने वातावरण बनाइनुपर्छ ।
सरकारले पनि आफ्नो सम्पत्तिको बीमा गर्नुपर्छ
विजयबहादुर शाह
प्रमुख कार्यकारी अधिकृत
हिमालयन एभरेष्ट इन्स्योरेन्स
बीमा भनेकै विश्वासको व्यवसाय हो । बीमाको विश्वास कायम राख्न सरकार, नियामक र बीमा कम्पनीसँगै यो क्षेत्रसँग जोडिएका सबैको महत्त्वपूर्ण भूमिका हुन्छ । कसैले पनि बीमाको विश्वास खलबलिने काम गर्नुभएन । अहिले सरकारबाट ठूलो रकम भुक्तानीका लागि सबै निर्जीवन बीमा कम्पनी कुर्नुपरेको छ, जसले गर्दा बीमाप्रति ठूलै संख्याका बीमितको विश्वास डगमगाएको छ । सबैभन्दा पहिला सरकारले यो समस्या समाधान गर्नुपर्छ । सरकारले कृषि बीमालाई प्राथमिकतामा राखे पनि यसको सफल कार्यान्वयन भने हुन सकेको छैन । बीमितलाई स्पष्ट जवाफ दिन नसक्दा बीमाप्रतिको विश्वास संकटमा छ । हालको समस्याका बारेमा बीमितलाई सरकारी तवरबाटै स्पष्टसँग भनेर आगामी दिनमा भुक्तानी पाउने विश्वास दिलाउन सके पनि बीमा बजार, बीमित र कम्पनीहरू सबैलाई राम्रो हुन्छ । यसबाहेक व्यवसाय गर्ने क्रममा हामी नियामकबाट नीतिगत स्थिरताको समेत आशा गर्दछौं । नीतिगत स्थिरता कुन सन्दर्भमा भने सरकारको कुनै नीति हुन्छ, जसको कार्यान्वयनमा हामी बीमा कम्पनीहरू आ–आफ्नो तर्फबाट मेहनत गरिरहेका हुन्छौं, लगानी गरिरहेका हुन्छौं, पूर्वाधार बनाइरहेका हुन्छौं, त्यो
परिस्थितिमा सरकारको नीति छिट्टै परिवर्तन हुने समस्या छ । निश्चित समयसम्म नीतिगत परिवर्तन नहुने हो भने काम गर्न सजिलो हुन्छ । यसले सबैलाई फाइदा हुन्छ । जस्तै, कृषि पशु बीमाकै कुरा गर्दा आर्थिक हैसियत कमजोर भएका कृषि व्यवसायीको व्यवसाय उकास्न अनुदान दिने व्यवस्था सरकारले गर्यो । भोलिको दिनमा यो बीमाले निरन्तरता पायो भने सरकारको उद्देश्य अनुसार कृषि तथा पशु व्यवसायमा लागेका नागरिकले राहत पाउने थिए । यसले निरन्तरता नपाएमा बीमाप्रतिको विश्वास गुम्न सक्छ । कतिपय अन्तरराष्ट्रिय कारणले पनि हाम्रो व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर परिरहेको हुन्छ । आइएफआरएस सेभेन्टिन (१७)लाई नेपालले स्वीकारिसकेको अवस्थामा बीमा कम्पनीहरूले पनि कामको शुरुआत गरिरहेका छन् । आइएफआरएस सेभेन्टिन वित्तीय स्रोत परिचालन हुने स्ट्याण्डर्ड हो । यसले प्रविधिमा ठूलो लगानी खोज्छ । त्यसैले हाम्रो देशको तयारी कस्तो छ, बीमा क्षेत्रको तयारी कस्तो छ र हामीले यसलाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्छौं भन्नेतर्फ पनि विचार गर्नुपर्छ ।
बीमाको कुरा गर्दा सरकारले नै आफ्नो सम्पत्तिको बीमा गरेको छैन । सरकारले पनि आफ्नो सम्पत्तिको बीमा गर्नुपर्छ भन्ने मान्यताका आधारमा एकैपटक सबै सम्पत्तिको बीमा गर्न गर्न नसके त्यसलाई वर्गीकृत गरी कुनै एउटाबाट शुरू गर्न सकिन्छ । त्यसो गर्यो भने बीमा क्षेत्रमा विशेष किसिमको सकारात्मक प्रभाव देखिन्छ । बीमा कम्पनी पनि राष्ट्र निर्माणमा लाग्नुपर्छ । बीमा क्षेत्रको व्यवसाय बढाउन लगानीको दायरा फराकिलो बनाउनुपर्छ ।