काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले पर्यटन व्यवसाय सहजरूपमा गर्न सक्ने अवस्था बनाउने बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले शुक्रवार (आज) ४५औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याइरहेको योगदानको प्रशंसा गरे । तर, उनले सन्तोषजनक अवस्था नरहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने पनि बताए ।
‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको छ । कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ? त्यसतर्फ लाग्नुपर्ने आवश्यकता छ,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउँछ । सहजरूपमा व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउनेछ ।’
उनले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको भन्दै यसमा के गर्दा राम्रो हुन्छ त्यसमा लाग्नुपर्ने बताए ।
सो अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । साथै पर्यटन क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मानसमेत गरिएको थियो ।