चैत ८, काठमाडौं (अस) । सरकारले यस वर्षको चैत पहिलो सातासम्म करीब ५४ ओटा असन्तुष्ट समूहसँग वार्ता गरेको छ । वार्तामा आएकामध्ये २३ ओटा सशस्त्र र ३१ ओटा निशस्त्र समूह रहेको मन्त्रालयको भनाइ छ । ‘वार्ताका क्रममा हतियारधारी समूहले सानाठूला गरी झण्डै १ सय ५१ थान हतियार सरकारलाई बुझाएका छन्,’ शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलले भने, ‘यस्ता हतियारमा एकनाले बन्दुक, दुईनाले पेस्तोल, अमेरिकी पेस्तोल, कटुवा पेस्तोल, १२ बोर पेस्तोलगायत छन् ।’
विभिन्न माग राख्दै पार्टीका नाममा समूह गठन गर्ने त्यस्ता समूह तराईमा बढी सङ्ख्यामा रहेको र पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखा पर्न थालेको सञ्जेलको भनाइ छ । अस्थिर राजनीति, गरीबी, आन्तरिक तथा बाहय चलखेललगायत कारण यस्ता समूह बढ्दै गएको मन्त्रालयको ठहर छ । करीब ३ वर्षअघि २३ ओटा रहेका यस्ता समूहको सङ्ख्या बढेर हाल ५४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सशस्त्र समूहमा मधेशी भाइरस किलर्स, संयुक्त जनतान्त्रिक, तराई मुक्तिमोर्चा कौटिल्य समूह, किराँत वर्कर्स पार्टी, खुम्बुवान मुक्तिमोर्चा, नेपाल डिफेन्स आर्मी, नेकपा ‘चे’वादीलगायत रहेका मन्त्रालयले बताएको छ । निशस्त्र समूहमा राष्ट्रिय हलिया समाज, क्रिश्चियनिष्ट समूह, ब्रा≈मण क्षत्री, दशनामी समूह, अखण्ड सुदूरपश्चिम समूहलगायत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
‘राजनीतिक, सामाजिक र आर्थिक रूपले वञ्चितीकरणमा परेकाहरू अधिकारका लागि आन्दोलित बनेको पाइएको भए पनि केही समूह विशुद्ध आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ,’ सञ्जेलले भने, ‘प्रत्येक असन्तुष्ट समूहलाई वार्तामा ल्याउने सरकारको प्रयासले शान्तिसुरक्षाको दृष्टिले गम्भीर मानिएको तराई क्षेत्रमा समेत पछिल्लो समय सुरक्षाको वातावरण निर्माण हुँदै आएको छ ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।