चालू आर्थिक वर्ष (आव) २०८१/८२ मा सरकारले ५०० भन्दा बढी स्टार्टअप परियोजनालाई स्टार्टअप उद्यम कर्जा दिने लक्ष्य राखेको छ । नवीन सोचका युवालाई स्टार्टअप व्यवसायमा सहयोग गर्न सरकारले ३ प्रतिशत ब्याजमा कर्जा दिने कार्यक्रम ल्याएको हो । यसरी नवीन सोचका युवालाई व्यवसाय गर्न आर्थिक लगानी गर्नु सही हो तर यतिले मात्र स्टार्टअप जम्न सक्दैन । यसका लागि नीतिगत र अन्य सहयोग आवश्यक हुन्छ । स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि–२०८० साउन ३० गते सरकारले स्वीकृत गरेको थियो । चालू आवका लागि सरकारले रू. १ अर्ब विनियोजन गरे पनि ७२ करोड रुपैयाँ स्टार्टअप उद्यमीलाई कर्जा दिने तयारी छ । यो रकमले ५०० देखि ६०० जनालाई कर्जा दिने योजना सरकारको रहेको छ । गत आव २०८०/८१ मा प्रतिष्ठानले २२ करोड रुपैयाँ १६३ जनालाई कर्जा दिएको थियो । यो सहयोगले स्टार्टअपहरूलाई केही राहत भए पनि तिनलाई बलियो बनाउन भने सरकारले नीतिगत, कानूनी र अन्य व्यावहारिक पक्षमा ध्यान दिनु बढी आवश्यक छ ।
सूचनाप्रविधिको प्रयोग गरेर नवीन सोचका साथ सेवा प्रवाह गर्ने उद्यम नै स्टार्टअप हो । यस्ता नवीन सोचका युवाहरूले नवीन अवधारणा ल्याएर उद्यम गर्न खोज्दा सरकारले त्यस्ता उद्यमलाई सहयोग गर्न कानूनी सुधार नगर्दा स्टार्टअपहरू समस्यामा पर्ने गरेका छन् ।युवाको नवीन सोचलाई कसरी व्यावसायिक बनाउने, कसरी कम्पनी सञ्चालन गर्नेजस्ता कुरा सिकाउन र सहजीकरण गर्न आवश्यक छ । विश्वविद्यालयहरूमा पनि स्टार्टअपका लागि प्रतिस्पर्धा र सहजीकरणका कार्यक्रम हुन्छन् । नेपालमा पनि यस्तो काम नभएको होइन । तर, त्यसले स्टार्टअप उद्यमी भने खासै जन्माउन सकेको छैन । विश्वभरि नै स्टार्टअपको अवस्था हेर्ने हो भने ज्यादै कम स्टार्टअप सफल हुन्छन् र केही मात्र निकै सफल भएर युनिकर्न स्टार्टअप बन्छन् । नेपालमा अहिलेसम्म युनिकर्न स्टार्टअप देखापरेको छैन । कतिपय स्टार्टअप आवश्यकताले, कतिपय रहरले त कतिपय देखासिखीमा प्रारम्भ हुन्छन् । धेरै असफल हुन्छन् भने केही मात्र सफल हुन्छन् । विकसित मुलुकमा पनि स्टार्टअप सफलताको प्रतिशत १० देखि १५ प्रतिशत मात्र छन् । नेपालमा स्थापित भइसकेको टुटल स्टार्टअपसमेत असफल भएको पाइन्छ तर स्वामित्व परिवर्तनपछि यसलाई पुन: सञ्चालनमा ल्याइएको छ ।
स्टार्टअपका विचारहरू प्रचलित कानूनले नचिन्ने खालका हुन्छन् । तिनलाई पैसाभन्दा पनि सहजीकरणको आवश्यकता बढी हुन्छ । त्यसो नगर्ने हो भने स्टार्टअपहरू सफल हुन सक्दैनन् । स्टार्टअप उद्यमीहरूले बजारको राम्रो अध्ययन गर्न जान्दैनन् वा सक्दैनन् । त्यस्तै उनीहरू व्यावसायिक रूपमा क्षमतावान् पनि हुँदैनन् । उनीहरूको टीममा अपनत्व नहुँदा मनमुटाव भएर वा अन्य कारणले एकजुट भएर काम गर्न सक्दैनन् र त्यो स्टार्टअप असफल हुन्छ । त्यसैगरी प्रविधिमैत्री बजार वा उपभोक्ता नहुँदा पनि समस्या पर्छ । उत्पादित वस्तु वा सेवाको लागि बजार तयार नहुनु पनि स्टार्टअपको असफलताको कारण हो । धैर्य र निरन्तरताको कमीले पनि उनीहरूलाई असफलतातिर लैजान्छ । सरकारको असहयोगी भावना र अप्रत्यशित प्रशासनिक आदेशको कारण पनि स्टार्टअप असफल हुन्छन् । त्यसैले सरकारले गर्ने सहयोग मौद्रिकभन्दा पनि नीतिगत महत्त्वपूर्ण हुन्छ । निजीक्षेत्र र सरकार मिलेर नवप्रवर्तनमैत्री वातावरण निर्माण गर्नुपर्छ । अन्य देशमा हेर्दा ठूला टेक कम्पनीहरूले स्टार्टअपलाई सहयोग गरेको देखिन्छ । त्यस्तै स्टार्टअप र प्राज्ञिक क्षेत्रबीचको सहकार्य पनि उत्तिकै जरुरी हुन्छ । अत: स्टार्टअप इकोसिस्टम बनाउन सम्बद्ध पक्षको ध्यान जानुपर्छ ।