काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा सामान्य घटेको छ । गत आव तेस्रो त्रैमासको तुलनामा चालू आवमा कम्पनीको खुद नाफा ६ दशमलव २४ प्रतिशत घटेको हो ।
गत आवमा कम्पनीले रू. २ अर्ब ६१ करोड नाफा कमाएकोमा चालू आवमा घटेर रू. २ अर्ब ४४ करोडमा सिमित भएको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ६ दशमलव १२ प्रतिशत र खुद ब्याज आम्दानी ११ दशमलव ०६ प्रतिशत घटेको छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ८१ करोड भन्दा बढी रहेको छ । चुक्ता पूँजी रू.९ अर्ब ४२ करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ८ अर्ब ४४ करोड र रिटेन्ड अर्निङमा रू. १ अर्ब ८१ करोड सञ्चिती गरेको छ । कम्पनीको निष्क्रिय कर्जा पनि गत आवको तुलनामा चालू आवमा वृद्धि भएको छ ।
गत आवमा कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ९० प्रतिशत रहेकोमा चालू आवमा बढेर २ दशमलव १४ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ३४ रुपैयाँ ६० पैसा,मूल्य आम्दानी अनुपात १५ दशमलव १७ गुणा र प्रतिशेयर नेटवर्थ रू.२०८ दशमलव ८५ रहेको छ ।