सुर्खेतमा शहरी नापी कार्य शुरू

Share News

अब डिजिटल प्रणालीबाट लालपुर्जा

  सुर्खेत । नापी कार्यालय, सुर्खेतले वीरेन्द्रनगर नगरपालिका (वीनपा) क्षेत्रमा शहरी नापी कार्य शुरू गरेको छ । लामो समयदेखि अवरुद्ध शहरी नापी कार्य यसै सातादेखि शुरू गरिएको कार्यालयले बताएको छ । नापी कार्य वीनपा वडा नं ९  बाट शुरू गरिएको हो । यसअघि वीरेन्द्रनगरमा २०६४ सालमा २ नं गोश्वाराले नापी नक्सा गरेको विभाग विघटन भएपछि सबै नक्साङ्कन कार्य थन्किएको थियो । तर, नापी विभागले वीरेन्द्रनगरमा शहरी नापी कार्य सुचारु गर्न निर्देशन गरेपछि पुनः सो कार्य थालिएको कार्यालयका प्रमुख धर्मराज ओझाले जानकारी दिए । उनले आधुनिक डिजिटल प्रणालीबाट नापी तथा नयाँ नक्साङ्कन कार्य थालिएको बताए । पुरानो ग्राफिकल मेथडको नापीमा विभिन्न किसिमका त्रुटि रहेकाले अब सर्वसाधारणले आफ्नो जग्गाको ‘कम्प्युटराइज्ड’ लालपुर्जा पाउने ओझाले दाबी गरे ।

  शहरी क्षेत्रमा नापी कार्य नहुँदा नगरपालिकाका क्षेत्रमा बसोवास गर्ने धेरैले सास्ती खेपिरहेका थिए । यसअघि जग्गाको लगत कट्टाको अभावमा उनीहरूले सडकको समेत कर बुझाउँदै आएका थिए । नगरपालिकाका विभिन्न वडाहरूमा रहेका सडक तथा घरघडेरीको लगत कट्टा नछुट्ट्याउँदा कैøयौं नगरवासी बढ्दो एकीकृत सम्पत्ति करको चपेटामा पर्दै आएका छन् ।

  कार्यालय प्रमुख ओझाले पहिलो चरणअन्तर्गत अहिले वीनपाको वडा नं. ९ बाट शहरी नापी कार्य शुरू गरिएको बताए । उनले अहिले वडा नं ९ मा जग्गा दर्ता कार्य चलिरहेको भन्दै हालसम्म करीब १० प्रतिशत दर्ता भइसकेको बताए । ‘नापी भइसकेका जग्गाधनीको विवरणसहित सातदिने दाबी विरोधको सूचना प्रकाशित गरी अहिले त्रुटि भएकाहरूको भूलसुधार गर्र्छांै,’ उनले भने, ‘दर्ता गरी पुरानो विवरणलाई अद्यावधिक गरी पुर्जा वितरण गर्छाैं ।’

  नपाका विभिन्न वडामा पहिले नापी भइसकेका जग्गाधनीहरूले अब अनिवार्य रूपमा नयाँ लालपुर्जा बनाउनुपर्नेछ । तर, त्यसमा पनि कुनै त्रुटि, भूलसुधार भएमा पुनः ६० दिनभित्र जग्गाधनीले निवेदन दिई सच्याउन सकिने व्यवस्था रहेको ओझाले जानकारी दिए । मालपोतलाई विवरण हस्तान्तरण भइसकेपछि जग्गाधनीलाई पुनः त्रुटि, भूलसुधार सच्याउन गाह्रो हुने उनको भनाइ छ । अहिले जग्गाको नापी नगराउनेहरूलाई पछि कठिन हुने भएकाले यो सुनौलो मौकाको सदुपयोग गर्न उनले नगरवासीलाई अनुरोधसमेत गरेका छन् । कार्यालयले वीनपा–९, इत्राममा नापी कार्यालयको नापी नक्सा शाखा खोलेको छ ।

  नापी कार्यालयमा नक्सा र फिल्ड बूक राखेर सबै प्रक्रिया पूरा भइसकेपछि त्यसको विस्तृत विवरण मालपोत कार्यालयमा पठाइनेछ । सबै प्रक्रिया पूरा भएको १ सय ३० दिनमा नगरभित्र नापी भइसकेका सबै जग्गाधनीलाई लगत कट्टा गरी डिजिटल प्रणालीको लालपुर्जा मालपोतले दिने उनको भनाइ छ । ‘चालू आर्थिक वर्षमा नपाका पहिले शहरी नापी भइसकेका र काम बाँकी रहेका वडाबाट काम शुरू भएको छ,’ उनले भने, ‘यो वर्षमा नसकेको काम अर्को वर्षमा पूरा गर्छौं ।’ शहरी नापी कार्यका लागि वीरेन्द्रनगर नगरपालिकाले अघिल्लो आर्थिक वर्षमै ३ लाख रुपैयाँ छुट्ट्याइसकेको थियो । त्यस्तै, नगरविकास समितिले पनि उक्त कार्यका लागि केही रकम छुट्ट्याउने सैद्धान्तिक सहमति गरेको छ ।

  विभागले नापी हुन बाँकी वीनपाका वडा नं १, २, ३ र ४ का साथै पहिले नापी पूरा नभएका अन्य वडाका करीब ७५ हेक्टर जमीनको ‘नाप नक्सा कार्यक्रम’ यस वर्ष पठाएको हो । आधुनिक प्रविधिको ‘टोटल स्टेशन’ मेशिनबाट नापी कार्य शुरू गर्नुपूर्व कार्यालयका केही कर्मचारीहरूलाई थप प्रशिक्षणको व्यवस्था मिलाइएको समेत ओझा बताउँछन् । उनले यो आधुनिक डिजिटल प्रविधिको मेशिनबाट नापी गर्दा अपवादमा मात्रै त्रुटि हुन सक्ने दाबी गरे । शहरी नापी कार्यका लागि सबैको समन्वय र सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।

जग्गाधनी लाभान्वित

  नापी कार्य सुचारु नहुँदा यसअघि सडक तथा घरघडेरीको लगत कट्टाको अभावमा शहरवासी अनाहकमै राज्यलाई कर तिर्न बाध्य थिए । लामो समयदेखि अवरुद्ध शहरी नापी कार्य सञ्चालनमा आएपछि अब पुराना हातले लेखेका लालपुर्जाको अस्तित्व समेत समाप्त भई त्यो ‘कम्प्यटराइज’मा परिणत हुनेछ । यसबाट वीरेन्द्रनगरका करीब ५० हजार बढी जग्गाधनी प्रत्यक्ष लाभान्वित हुनेछन् ।


अनधिकृत ट्रेस नक्सा बनाउन रोक

  नापी कार्यालय सुर्खेतले अनधिकृत तवरले ट्रेस नक्सा बनाउन रोक लगाएको छ । विभिन्न वित्तीय संस्थाहरूमा आवश्यक पर्ने ट्रेस नक्सा जिल्लामा जथाभावी बनाएर विक्रीवितरण गरेको जनगुनासो आएपछि कार्यालयले त्यस्तो नक्सा बनाउन रोक लगाएको हो । जिल्लाका केही व्यक्तिहरूले अनधिकृत रूपमा पसल खोलेर नापी कार्यालयबाट जारी ब्लूप्रिण्टको आधारमा ट्रेस नक्सा बनाई विक्रीवितरण गर्दा जानकारी अभावमा सेवाग्राही ठगिँदै आएका थिए । अहिले अनधिकृत रूपमा ट्रेस नक्सा विक्रीवितरण गर्नेले एउटा कित्ताको १ सयदेखि २ सय रुपैयाँसम्म लिने गरेको उपभोक्ता बताउँछन् । जब कि, नापी कार्यालयले भने अहिले सबैलाई मान्य हुने न्यून शुल्कमा ब्लूप्रिण्ट र कम्प्युटरबाट निकालिएको नक्सा सबैलाई उपलब्ध गराउँदै आएको बताएको छ ।

  नापी कार्यालयका प्रमुख नापी अधिकृत धर्मराज ओझाले वीरेन्द्रनगरको प्लानिङ नक्सा नभएकाले नगरपालिकाले ट्रेस नक्सा दिनु स्वाभाविक भए पनि निजीरूपमा ट्रेस नक्साको विक्रीवितरण गर्न नपाइने स्पष्ट पारे । राष्ट्र बैङ्कले विभिन्न वित्तीय संस्थाहरूलाई धितोलगायत कार्यका लागि जग्गाको ट्रेस नक्सा अनिवार्य गर्न परिपत्र गरेपछि बैङ्कहरूले सेवाग्राहीबाट त्यस्तो नक्सा माग गर्ने गरेको उनले जानकारी दिए । बैङ्कबाहेक अन्य संस्थाहरूलाई ट्रेस नक्साका खासै आवश्यक नपर्ने कार्यालय प्रमुख ओझा बताउँछन् ।

  बैङ्कलाई मात्र आवश्यक पर्ने ट्रेस नक्सा अहिले नापी कार्यालयले नै सहज रूपमा उपलब्ध गराए पनि जानकारीको अभावमा जग्गाका मोहीहरू निजीरूपमा नक्सा बनाउनेकोमा जाने गरेका छन् । यसबाट एकातर्फ जग्गाका मोहीहरू ठगिएका छन् भने अर्कोतर्फ नापीमा आउने राजस्वमा समेत प्रभाव परेको छ ।

  नापी कार्यालयले ट्रेस नक्साको निजी रूप बनाएर विक्रीवितरण गर्न नपाइने बताएको छ । यस्तो कार्यमा संलग्न व्यक्तिलाई आम सेवाग्राहीलाई ठगी गरेको आरोपमा कारबाहीका लागि समेत सिफारिश गरिने कार्यालयको भनाइ छ । यस्ता निजीरूपमा किनेको ट्रेस नक्सा कुनै पनि कार्यका लागि मान्य नहुने पनि उसले स्पष्ट पारेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।