काठमाडौं । नागढुंगा सुरुङमार्गको काम अन्ततः सुरक्षाकर्मी परिचालन गरेर शुरू गरिएको छ । स्थानीय बासिन्दाले विभिन्न माग राखेर २८ दिनदेखि रोकिराखेको काम आइतवारदेखि शुरू भएको हो ।
नागढुंगा सुरुङमार्ग आयोजना र प्रभावित स्थानीयबीच सहमति नभए पनि सरकारले बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा आयोजना निर्माण अघि बढाएको छ । आयोजना प्रभावित धादिङ पोर्टलतर्फका स्थानीयले चैत ५ गतेदेखि काममा अवरोध गरेपछि निर्माणका सबै काम ठप्प थिए ।
आयोजना प्रमुख सञ्जय पन्थीले निर्माण स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का करीब ८० जना सुरक्षाकर्मीको उपस्थितिमा काम शुरू गरिएको जानकारी दिए । ‘नागढुंगाको काम आइतवारदेखि सुरक्षाकर्मी परिचालन गरेर काम शुरू गरिएको छ,’ पन्थीले भने, ‘स्थानीयसँग वार्ता तथा छलफल पनि जारी छ, अर्काेतर्फ सहमति नहुँदासम्म सुरक्षाकर्मीकै उपस्थितिमा आयोजनाका काम पनि निरन्तर अघि बढ्नेछन् भने आन्दोलनरत स्थानीयसँग वार्ता पनि हुँदै गर्छ र काम पनि हुँदै जान्छ ।’ करीब महीना दिनसम्म पनि काम शुरू नभएकाले सरकारले सुरक्षाकर्मी परिचालन गरेको उनको भनाइ छ ।
अहिले आयोजनामा पहिरो नियन्त्रणदेखि सुरुङभित्रका काम भइरहेका छन् । आयोजनाको काम हालसम्म ८८ प्रतिशत सम्पन्न भइसकेको उनको भनाइ छ । आयोजना निर्माण शुरू भएदेखि हालसम्म विभिन्न समयमा ८/१० पटकसम्म सुरुङमार्गको काम रोकिएको छ । कहिले २/३ दिन त कहिले १ महीनासम्म यस्तो अवरोध लम्बिएको देखिएको छ ।
यो आयोजनाको पश्चिम पोर्टल (धादिङ) तर्फका स्थानीयले विभिन्न माग राखेर २ साताभन्दा बढी काममा अवरोध गरेपछि सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत खानेपानी र गृह मन्त्रालयलाई पत्राचार गरिसकेको थियो । आयोजनाले खानेपानीको समस्या समाधानको समन्वय गरिदिन खानेपानी र काम शुरू गर्न गृहसँग सहयोग मागेको थियो । आयोजनाले सम्बद्ध स्थानीयसँग काम गर्न दिनु भनेर छलफल तथा वार्ता गरिरहेको थियो ।
सुरुङमार्गको पश्चिमतर्फका प्रभावित स्थानीयले खासगरी अहिले जीवनभर सित्तैमा खानेपानी पाउने व्यवस्था सुनिश्चित गर्न माग गरेर काम ठप्प पारेको आयोजनाले उल्लेख गरेको छ ।
आयोजनामा विनाअवरोध काम भएमा विभागले २०८२ असारसम्ममा सुरुङमार्गका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो । अहिले स्थानीयले अवरोध गरेपछि समय धकेलिने निश्चित भएको आयोजना प्रमुख पन्थी बताउँछन् । यो आयोजना २०८२ असोज (अक्टोबर–२०२५) सम्ममा सम्पन्न गर्ने गरी म्याद थप गरिए पनि आयोजनाले असारसम्ममा सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो । अहिलेको मुख्य माग खानेपानीको भए पनि यसअघि चर्किएका घरको मर्मतसम्भार गर्न माग गरिएको थियो ।
यो सुरुङमार्ग जापानी कम्पनी हाज्मा/आन्दो कर्पाेरेशनले बनाइरहेको छ । ४२ महीनामा सम्पन्न गर्ने गरी यो आयोजना २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । सुरुङमार्गको मुख्य सुरुङ २०८१ वैशाख ३ गते छिचोलिएको थियो । २ दशमलव ५ किलोमीटरको सुरुङ सन् २०२३ को अप्रिलमा सम्पन्न गर्ने गरी जापानी कम्पनीसँग सम्झौता भएको थियो । पछि म्याद थपिएर २०२५ अक्टोबरसम्म पुगेको हो ।